27 September 2021  |   सोमवार, अशोज ११, २०७८

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३  

पहिलो दिन एक लाख ७० हजार बढीले औषधि सेवन गरे ः जनस्वास्थ्य

कोहलपुर, ६ चैत्र / शनिबारदेखि बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन शुरु गरिएको छ । पहिलो दिन शनिबार बाँकेमा एक लाख ७० हजार बढीले औषधि सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
अभियानको पहिलो दिन बाँकेमा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले हात्तीपाइले रोग बिरुद्धको औषधी खाएर अभियानको उद्घाटन गरे । नेपालगन्जको महेन्द्रपार्कमा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ, हिन्दु धर्मगुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना जब्वारले एकै साथ हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गरेका थिए ।
पहिलो दिन बाँकेका विभिन्न ठाउँमा ९२७ वटा बुथ राखिएको थियो । आज (आइतबार) दोश्रो र भोली (सोमबार) तेश्रो दिन घरघरमा पुगेर औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँके प्रमुख खिमबहादुर खड्काले जानकारी दिए । अभियानका लागि लागि ३४६ स्वास्थ्यकर्मी, २३०३ स्वयंसेवक र ३ जनाको संख्यामा आरआरटी खटिएको छ ।
यसवर्ष स्वास्थ्यकर्मीकै अगाडि औषधी सेवन गर्नुपर्ने नियमलाई कडाईका साथ लागू गर्ने कार्यालयको भनाई छ । कार्यालयले ५ लाख २३ हजार ९८ जनालाई औषधि खुवाउने लक्ष्य राखेको छ ।
बा“केमा अझै पनि १६ प्रतिशतमा हात्तीपाइले (फाइलेरिया) को संक्रमण भएको देखिएको छ । छ वर्षसम्म लगातार हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गराइदै आएपनि बाँकेमा भने संक्रमितको संख्या कम हुन नसकेपछि सातौं चरण अन्तरगत औषधि खुवाउन थालिएको हो ।

प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३     12:25:45 PM  |