29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

मेडिकल कलेजका लागि वनले ४५ विगाहा जग्गा दिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३  

राजेन्द्र ताम्राकार
छिन्चु, भदौ २९
सुर्खेतमा स्थापना हुन लागेको प्रदेशस्तरीय मेडिकल कलेजका लागि आज छिन्चुका तीनवटा सामुदायिक वनले संयुक्तरुपमा ४५ विगाहा जग्गा उपलब्ध गराउने सार्वजनिक रुपमा लिखित प्रतिवद्धता जनाएका छन् ।
सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि जग्गा खोजी सुरु भएको एक महिनापछि आज छिन्चुस्थित रामजानकी वनको हलमा भएको सर्वदलीय सर्वपक्षीय भेलामा रामजानकी सामुदायिक वनले १५ विगाहा, जनजागृति सामुदायिक
वनले १५ विगाहा र कृष्ण सामुदायिक वनले १५ विगाहा जग्गा दिने सामुहिक प्रतिवद्धता जनाएका हुन् ।
सर्वदलीय, सर्वपक्षीय भेलामा भेरीगंगा नगरपालिका, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, उद्योग वाणिज्य संघ भेरी, भेरीगंगा सञ्चार केन्द्र, नागरिक समाज, सञ्चारकर्मी, स्थानीय संघसंस्था लगायतका सरोकारवाला निकायको रोहबरमा बैठक बसेको हो । सर्वदलीय, सर्वपक्षीय बैठकबाट तीनवटा सामुदायिक वनले संयुक्तरुपमा सुर्खेतमा स्थापना हुन लागेको प्रदेशस्तरीय मेडिकल कलेजका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको कृष्ण सामुदायिक वनका अध्यक्ष ध्वजबहादुर पुनले बताए ।
सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि उपयुक्त जग्गा फेला पार्न नसकिरहेका बेला आफूहरु मेडिकल कलेजका लागि जग्गा दिन सामूहिकरुपमा तयार भएको रामजानकी सामुदायिक वनका अध्यक्ष हेमन्त बोहोराले बताए । यसअघि आवश्यक पूर्वाधारको खोजी गरी उपयुक्त जग्गा सिफारिस गर्न शिक्षा मन्त्रालयले परिपत्र गरिसकेको भएपनि आजसम्म उपयुक्त जग्गा सिफारिस गर्न सकिएको थिएन । माओवादी केन्द्र सुर्खेतका नेता जीतबहादुर रानाको संयोजकत्वमा जग्गा उपलब्ध गराउनका लागि प्रारम्भिक समिति गठन गरिएको थियो । उक्त समितिले जिल्ला तथा स्थानीयस्तरमा सरोकारवाला पक्षसंग सर्वपक्षीय छलफल गरी जग्गाको खोजी अभियान थालेको थियो ।
दुई महिनाभित्र जग्गाको पहिचान गरी सिफारिस गर्ने समितिले जनाएपनि जग्गा खोजी कार्यमा ढिलाई भइरहेको थियो । कलेजका लागि कम्तिमा पनि १० विगाहा जग्गा आवश्यक पर्ने समितिले सिफारिस गरेको
थियो । १० विगाहासम्म जग्गा आवश्यक भइरहेका बेला सामुदायिक वनहरुले ४५ विगाहा जग्गा उपलब्ध गराउने लिखित प्रतिवद्धतासहित प्रस्ताव गरेका हुन् । सर्वपक्षीय भेलाको निर्णयलाई आजै आवश्यक पक्रिया अगाडि बढाउनका लागि जिल्लास्थित जग्गा सिफारिस समितिसमक्ष पठाइसकिएको जनजागृति सामुदायिक वनका अध्यक्ष हिक्मत रानाले जानकारी दिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३     11:19:40 AM  |