राम बहादुर रावत
कोहलपुर, भदौ १६
लामखुट्टेलाई प्रायः सबैले बेवास्ता गरेको पाइन्छ । एकदुई लामखुट्टेले टोक्दैमा के होला र भन्नेहरू धेरै छन् । तर यो निकै घातक हुने र धेरैको ज्यान लिने खतरा बढेको भन्दै कोहलपुर स्वास्थ्य चौकीले समयमै लामखुट्टेबाट टाढा रहनु पर्ने जनाएको छ ।
बाँकेको कोहलपुर स्वास्थ्य चौकिमा पछिल्लो समयमा लामखुट्टेले टोकेर बिरामी भई चेक जाँच गर्न आउनेको संख्या बढ्दो रहेको कोहलपुर स्वास्थ्य चौकिले जनाएको छ । आर्थिक वर्ष २०७२÷७३मा चेक जाँच गर्न आएका मध्ये चार जनालाई औंलो नामक रोग लागेको छ भने अन्य ३४ जना विभिन्न रोगहरुमा संक्रमित भएको कार्यालयले जनाएको छ । विशेष गरी कोहलपुर क्षेत्रमा गर्मी महिनाहरु अर्थात् असार, श्रावण र भाद्रमा वर्षातपछि वरिपरि भएभरका खाल्डा–खुल्डीमा पानी जमेको हुन्छ । यही हो लामखुट्टेले फुल पार्ने ठाउँहरु । फुल पारेको ७–१० दिनसम्ममा यी खाल्डा–खुल्डीको पानी जमेको ठाउँबाट हजारौं–हजार लामखुट्टेहरु मान्छेलाई दुःख दिन आकाशमा उड्छ । यी किराहरु रगत पिउने स्वभावको कारण जनावरहरु र मान्छे बसेको ठाउँभित्र पस्ने गरेको कार्यालयले जनाएको छ ।
कोहलपुर क्षेत्रमा लामखुट्टेको टोक्दा बिरामी भई आउने मध्ये पुरुषको संख्या बढ्दै गएको कोहलपुर स्वास्थ्य चौकीले जनाएको छ । लामखुट्टेले मानिसलाई टोकेर कडा ज्वरो, एलर्जी, वाक्वाकी गराउने तथा रोगप्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने गरेको छ । यस्तो समस्या यस क्षेत्रका बासिन्दामा देखिएको कोहलपुर स्वास्थ्य चौकीको तथ्याङ्कले बताउँछ । बाँके लगायत नेपालका विभिन्न जिल्लाहरुमा डेंगु, मलेरिया, जापानिज इन्सेफलाइटिस, चिकनगुनिया जस्ता घातक रोग लामखुट्टेको टोकाइबाट फैलिएको र यसबाट प्रभावित हुनेहरू बढ्दै गएको कोहलपुर स्वास्थ्य चौकिकी सिनियर अहेव अधिकृृत मिठु शाहीले बताइन् । बढ्दो फोहोर, पानीको जथाभाबी प्रयोग र खाल्टाखुल्टीमा रहने पानी, झाडी, झुल प्रयोगमा कमीलगायत कारणले यस क्षेत्रमा लामखुट्टेको प्रजननदर अत्यधिक बढेको उनी बताउँछिन् । ‘प्रायः जसो भारतबाट आउने अधिकांश पुरुषहरुमा लामखुट्टेको टोकाईबाट लागेका बिरामी आउने गरेको पाइन्छ’, उनले बताइन् । कोहलपुर स्वास्थ्य चौकिले लामखुट्टेको टोकाइबाट बच्न र त्यससँग सम्बन्धित विभिन्न रोगहरु लाग्नबाट बच्नका लागि आर्थिक वर्ष २०७२÷०७३ मा कोहलपुर नगरपालिकाकी ८५४ जना गर्भवती महिलाहरुलाई झुल वितरण गरेको कार्यालयले जनाएको छ ।
लामखुट्टेबाट बच्नका लागि घरवरपर पानी जम्न नदिने, फोहोरमैला नगर्ने, लामखुट्टे हुर्कने ठाउँमा यसको लार्भा नष्ट गर्ने, लामो बाउला भएका कपडा लगाउने, झुल टाँगेर सुत्ने, झ्यालढोका लगाउने, झाडी पन्छाउने लगायत उपाय अपनाउन आग्रह जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेले गरेको छ । लामखुट्टेको सानो टोकाइले ठूलो क्षति हुने भएकोले समयमा सतर्कता अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट उत्पन्न हुने कडाखाले रोगहरू एकपछि अर्को गर्दै नयाँ रूपबाट नेपालमा फैलिन थालेको भन्दै राज्यले यसको नियन्त्रणमा चासो देखाएको छ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३