– रकम फिर्ता हुन्न, मुद्दा लड्न तयार छु ः वन अध्यक्ष
– रकम जसरी पनि फिर्ता ल्याउँछौं ः कार्यकारी अधिकृत
केशव राना
कोहलपुर, भदौ ४
कोहलपुर नगरपालिकाका लेखा अधिकृतले छुट्याइएको बजेट भन्दा बढी रकम भुक्तानी गरेको समाचार बाहिर आएपछि खैलाबैला मच्चिएको छ । कोहलपुर १२ रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूह र कोहलपुर नगरपालिकाबीच यस विषयलाई लिएर दोहोरी नै चलेको छ ।
सिर्जना सामुदायिक वनले बढी भुक्तानी भएको रकम फिर्ता हुन्न भनेर अडान लिइरहेको छ भने कोहलपुर नगरपालिका जसरी पनि रकम फिर्ता ल्याउने बताइरहेको छ । गत आ.व. २०७२÷०७३ मा सिर्जना सामुदायिक वनको उद्यानका लागि ६ लाख र १ लाख तारबारका लागि रकमको सम्झौता गरेको थियो । तर, रकम भुक्तानी दिने बेलामा कोहलपुर नगरपालिकाका लेखा अधिकृत शरद कुमार बरालले सम्झौता भन्दा ६ लाख रुपैंया बढी भुक्तानी दिएका थिए । सिर्जना सामुदायिक वनमा हरित उद्यानका लागि कुल बजेट १३ लाख थियो । जसमध्ये कोहलपुर नगरपालिकाले ७ लाख र ६ लाख रुपैंया वन उपभोक्ता समूह आफैले व्यवस्थापन गर्ने सम्झौता भएको थियो । नगरपालिकाले करकट्टी गरी १२ लाख ८९ हजार ६ सय ८९ रकम भुक्तानी दिएको सिर्जना सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दशरथ पराजुली बताए । शुक्रबार भएको समूहको २१ औं साधारणसभाबाट १२ लाख ८९ हजार ६ सय ८९ रुपैंया बराबर कोहलपुर नगरपालिकाबाट अनुदान प्राप्त भनेर उल्लेख गरिएको छ । बन्दसत्रले बढी भुक्तानी आएको रकम समेत फिर्ता नगर्ने निर्णय गरेको अध्यक्ष पराजुलीले बताए । ‘हाम्रो सर्वोच्च निकाय भनेको उपभोक्ता हुन्, उपभोक्ताले जे निर्णय गर्छन् त्यो नै हुन्छ’ उनले भने ‘उपभोक्ताले फिर्ता नगर्ने भन्ने निर्णय गरेका छन्, रकम फिर्ता हुँदैन, मुद्दा लड्न तयार छु ।’ बढी रकम भुक्तानी भएको थाहा पाएपछि नगरपालिकाले उपभोक्ता समूहलाई ३ दिनभित्र रकम फिर्ता गर्नुभनि पत्र लेखेको थियो । आफूले पत्र बुझ्न नमानेपछि वनका सचिवको हातमा पत्र थमाएको अध्यक्ष पराजुलीले बताए । सो पत्र पुनः नगरपालिकाले दुई घण्टाभित्रै ‘मिस्टेक’ भएर आएछ भन्दै फिर्ता लगेको उनले बताए । ‘पैसा सबै खर्च भैसकेपछि चिठ्ठी काटेर पैसा फिर्ता गर भनेपछि चिठ्ठी बुझ्दिन भनेर हिँडे’ उनले भने ।
सार्वजनिक सुनुवाइमा गएनन् कार्यकारी अधिकृत साधारणसभा तथा सार्वजनिक सुनुवाईमा उपस्थितिका लागि उपभोक्ता समूहले नगरपालिकालाई चिठ्ठी लेखेपनि नगरपालिकाका कार्यकारी अधिकृत भने कार्यक्रममा उपस्थित भएनन् । कार्यक्रममा नगरपालिकाको तर्फबाट कुनैपनि प्रतिनिधि सहभागी थिएनन् । ‘खातामा जम्मा भएको पैसा कसरी त्यसै दिनु, हाम्रो सर्वोच्च निकाय भनेको उपभोक्ता हुन्’ उनले भने ‘उपभोक्ताले जे भन्छन् त्यही हुने हो, साधारणसभा बोलाउँछु, जनतासमक्ष त्यहीँ माफि माग्नुस् भनेर भनेको थिएँ उहाँहरु आउनुभएन ।’ समाजसँग आफ्नो गल्तीलाई स्वीकार्दै माफी मागेमा पैसा फिर्ता हुन सक्ने अध्यक्ष पराजुलीले बताए । तर, बन्दसत्रले पारित गरिसकेपछि पैसा फिर्ता नहुने उनको भनाई छ । ‘जसले त्रुटी गरेको छ, त्यो कार्यक्रममा किन आएन’ उनले भने । यता कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्माले आफूले बिर्सेकाले कार्यक्रममा जान नपाएको बताएका छन् । अन्य विभिन्न कार्यक्रमहरु भएका कारण त्यहाँको कार्यक्रम बिर्सेको उनले मिसन टुडेसँग भने । उनले रकम फिर्ता नगरे कानुनी प्रक्रियामा जाने बताएका छन् । ‘उहाँहरुले रकम फिर्ता गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु’ उनले भने ‘रकम फिर्ता नगरे प्रक्रियामा गइन्छ ।’
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३