20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

चालकको स्वास्थ्य जाँच

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १, २०७३  

कोहलपुर, भदौ १
मध्यपश्चिम जनसेवा यातायात सेवा प्रा.लि. ले मंगलबार एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । कोहलपुर चौराहामा आयोजित शिविरमा करिब ४ सय जनाले स्वास्थ्य जाँच गराएका छन् । चालक, व्यवसायी २८३ र अन्य १०३ जनाले स्वास्थ्य जाँच गराएको प्रा.लि. अध्यक्ष विश्वराज खनालले जानकारी दिए । इ–रिक्सा, अटो रिक्सा चालक व्यवसायी तथा यात्रुहरुको स्वास्थ्य जाँच गर्ने उद्देश्यले शिविर संचालन गरिएको उनले बताए । शिविरमा प्रेसर, सुगर, व्लड ग्रुप, टिटि भ्याक्सीन, कोलेस्टोर र औषधी वितरण गरीएको थियो । शिविरमा डाक्टर विनोद कर्ण, निशान्त भट्टराइ,सागर गिरी, जि आर खत्री लगायतको टिमले स्वास्थ्य जाँच गरेको थियो । कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुर प्रमुख एसपी कमल प्रसाद खरेलले चालक अनिवार्य रुपमा स्वस्थ हुनुपर्ने बताए ।

IMG_0672

स्वास्थ्य अवस्था खराबीका कारण पनि दुर्घटना हुने गरेको बताउँदै उनले स्वास्थ्य अनुकुल भए दुर्घटनाको जोखिम घट्ने बताए । उनले मध्यपश्चिम जनसेवाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि नियमित रुपमा यस्ता खालका स्वास्थ्य शिविर आयोजना गर्नुपर्ने बताए । यता चालक तथा व्यवसायीहरुले निःशुल्क स्वास्थ्य जाँच गरेकोमा खुशी व्यक्त गरेका छन् । आफूहरुलाई स्वास्थ्य जाँच गर्नमा ध्यान नभएको बताउँदै चालकहरुले नियमित रुपमा स्वास्थ्य जाँच गराउने बताएका छन् । शिविरमा पानस अटो मोटर प्रालि र हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालि काठमाडौंले प्रयोजन गरेको थियो । कार्यक्रममा क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका डिएसपी राजेन्द्रसिंह खड्का, हुलासका कन्ट्री म्यानेजर शैलेन्द्र अधिकारी, पानसका प्रोपाईटर ज्ञानेन्द्र खनाल, बागेश्वरी यातायात व्यवसायी समितिका सहसचिव हेमविक्रम जिसी लगायतको उपस्थिति रहेको थियो ।

IMG_0675

यसैबीच स्वास्थ्य शिविरसँगै मारुती सुजुकी ट्याक्सीको आधिकारिक विक्रेता रत्नलक्ष्मी इन्टरनेशनल मनिकापुरले मारुती सुजुकी ‘शो’ गरेको छ । यस क्षेत्रको पर्यटन र यातायातलाई सहजता दिलाउन ट्याक्सी भित्र्याइएको सेल्स म्यानेजर अजय रसाइलीले बताए । मंगलबार नै मध्यपश्चिम जनसेवाले ५ वटा मारुती सुजुकी बुकिङ्ग गरेको छ ।

प्रकाशित मितिः बुधबार, भदौ १, २०७३     11:09:45 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *