केशव राना
कोहलपुर, २० साउन
कोहलपुर १२ चप्परगौडीकी सारदा शर्मा (३०) ले ११ वर्षको उमेरमा नै दुध दुहुन सिकिन् । भारतमा बस्दा नै उनका बुवाले गाईपालन गर्थे । सानै उमेरमा बुवाले नै उनलाई दुध दुहुन सिकाए ।
‘११ वर्षको उमेरमा नै मैले दुध दहुन सिकेँ’ उत्कृष्ट गाइपालन कृषक सारदा भन्छिन्् ‘नेपालमा आएर व्यवसायीक गाईपालन गर्न थाल्यौं ।’ बिहानै ५ बजे उठ्ने गोबर सोहोर्ने, दुध दुहुने र गाईलाई दाना खुवाउने गर्छिन् उनी । उनको यो दैनिकी विगत १३ वर्षदेखिको हो । जब उनी १५ वर्षकी भइन् व्यवसायीक रुपमा गाईपालन शुरु गरिन् । आमाबुवाको साथमा उनले सारदा श्रृजनशिल गाई फर्म स्थापना गरिन् । शुरुका दिनमा १५ हजारको एउटा गाईबाट गाईपालन शुरु गरेकी उनले अहिले उन्नत जातका हलस्टेन र जर्सी प्रजातीका १४ वटा गाईगोरु पालिरहेकी छन् । अहिले ४ वटा दुहुनो गाई छन् भने २ वटा ब्याउने अवस्थामा छन् । दुध बेचेर उनले खर्च कटाई वार्षिक साढे ५ लाख रुपैंया आम्दानी गर्ने गरेको बताउँछिन् । दुध र साथै गोरुहरु बेचेरै उनले जग्गा, घर जोडन् सफल भएकी छन् । साथै आफू र आफ्नो भाइको पढाई खर्च पनि यसैबाट चल्ने गरेको उनले बताइन् । उनी आफैमा स्नातक उत्तीर्ण हुन् । उनले मानवीकी संकाय अन्तरगत सामाजिक विषयमा प्रथम श्रेणीमा स्नातक उत्तिर्ण गरेकी हुन् ।
साथै समाजसेवा पनि गर्ने गरेकी छन् । उनी नेपाल चिल्ड्रेन एजुकेशन प्रोग्राम बाँकेको अध्यक्ष समेत हुन् । ‘कृषिमा राम्रो सम्भावना देखेरै कृषि पेशा रोजेको हुँ’ उनले भनिन् ‘समाजले पनि राम्रै नजरले हेरेको छ ।’ उनलाई बाबुआमा, भाइ, बुहारीले सघाउने गरेका छन् । यस क्षेत्रकै उत्कृष्ट कृषकको रुपमा चिनिने उनले विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाबाट पनि सहयोग पाउने गरेकी छन् । गोठ सुधार, घाँसका बिउ लगायतका सहयोग पाउने गरेको उनले बताइन् । साथै उत्कृष्ट कृषक भएकाले डेरीबाट पनि सम्मानित भएको उनी सम्झिन्छिन् । गाईपालनमा स्याहार, थुनाईलो रोग, किर्ना पर्ने लगायतमा समस्या भएपनि आफूले सामान्य किसिमका रोगहरुको घरमै उपचार गर्ने विधि सिकेकाले खासै समस्या नभएको बताइन् । स्वदेशमै कृषि गरेर आयआर्जन गर्न सकिने बताउँदै उनले विदेश जानुभन्दा स्वदेशमै कृषि गरी आयआर्जनलाई बढाउन युवाहरुलाई सुझाव दिएकी छन् ।