सुदीप अधिकारी
बर्दिया, साउन १९
जनता एकजुट भएर लागे ठूलाठूला उपलब्धिहरु हासिल गर्न सकिन्छ भन्ने पछिल्लो उदाहारण बर्दियाबासीले पनि देखाएका छन् । बबई कटानले आफनो बस्ती र पश्चिम सिँचाई प्रणालीनै जोखिममा परेपछि संभावित क्षति रोक्न ५९ मौजा(गाउँ)का बासीन्दा एक जुट भए । बच्चाबच्ची, युवा बुढापाका, महिला सबै अस्थायी तटबन्ध बाध्न श्रमदान गर्न जुटे । अन्ततः ४ दिनको अटुट प्रयास पछि अस्थायी तटबन्ध बन्यो । कटान रोकियो । स्थानियले केही हदसम्म भएपनि ढुक्कको सास फेरे ।
५९ गाउँका करिव १ हजार ५ सय बढी जनता विगत ४ दिनदेखि श्रमदानमा जुटेका थिए । बिहानैदेखि अवेर साँझसम्म उनीहरु कोही बोरा बोक्ने, कोही बोरामा माटो भर्ने, कोही जालीमा बोरा बिछाउन जस्ता काममा व्यस्त हुने गर्थे । घामपानी नभनी गाउँलेहरु श्रमदानमा लागे । श्रमदानबाटै करिव ५ सय मिटर अस्थायी तटबन्ध पुरा भएको छ । बबईको भेलको कुनै प्रवाह नगरी गाउँले काममा जुटेका थिए । ‘खाना खाजा बोकेर बिहानै आउँछौ । दिनभर घामपानी नभनी काम गर्छौ । जे होस् सबैको प्रयासले काम सफल भएको छ,’ शनिबार श्रमदान स्थलमा भेटिएका तारातालका मोहन थापाले भने । तटबन्ध बनेपछि आइतबारदेखि श्रमदान गर्ने कार्य सकिएको छ । अघिल्लो मंगलबार बबई नदीमा आएको बाढीले बनकट्टी घाट नजिकै व्यापक कटान गरेको छ । कटानका कारण बबई नदी ढाढरी नहर मिसिन ५ मिटर मात्र बाँकी छ ।
यस्तो अवस्थामा स्थानियबासी तत्काल एकजुट नभएको भए ठूलो जनधनको क्षती हुने स्वयम स्थानियहरु बताउँछन् । तत्काल श्रमदान गरेर कटान नरोकेको भए बग्नाहा, शाहिपुर, बनकट्टी, तकिया, बढरभरिया, सर्यपटुवा, बेलवा, खैरेनीलगाएत दर्जन बढी बस्ती बगरमा परिणत हुने स्थानियहरु बताउँछन् । संभावित दुर्घटना रोक्न स्थानियले बोरामा माटो भरेर अस्थायी तटबन्ध गेर । स्थानियको प्रयासले तत्कालका लागि कटान रोकिएको छ । तर फेरी बाढी आउना साथ भत्कने खतरा भने टरेको छैन । ‘दिनरातको चैन खोसिएको थियो । कतीखेर के अनिस्ट हुने हो थाहा थिएन,’ कटान क्षेत्र बनकट्टीका स्थानिय पुष्पराज बजगाईले बबईको कहर सुनाउँदै भने, ‘उर्लदै आएको बबई जमिन कटान गर्दै सिधै बस्ती तर्फ सोजिएको थियो । तत्काल गाउँले एकजुट नभएको भए सबै स्वाहा हुन्थ्यो ।’ अस्थायी तटबन्धका लागि स्थानिय प्रशासनले पनि सहयोग गरेको छ । पहिलो दिन सेना प्रहरी पनि तटबन्धमा जुटेका थिए । तटबन्धका क्रममा कुनै दुर्घटना नहोस भनेर प्रशासनले लाइफ ज्याकेट सहित प्रहरी खटाएको छ । तटबन्धका लागि आवश्यक बोरा, जाली बबई सिचाई आयोजनाले उपलब्ध गराएको छ ।
तटबन्धमा सहयोग पुर्याउन ढोढरी नहर निर्माण कम्पनी कालिका रसुवा जेभीले एक्साभेटर, ट्याक्टर लगायतका उपकरण उपलब्ध गराएको कम्पनिका प्रवन्ध निर्देशक शिव रिजालले बताए । नहर निर्माणको क्रममा उक्त क्षेत्रलाई कटानको जोखिममा राखिएको थियो । ढोढरी नहर र बस्तीको सुरक्षाका लागि उक्त क्षेत्रमा बर्खा अगावै ड्याम बनाउन सरकारी योजना पनि थियो । ड्याम बनाउँदा जग्गा नोक्सान हुने भन्दै केही जग्गाधनीले अवरोध गरेका ड्याम बन्न नसकेको स्थानियहरु बताउँछन् । सो क्षेत्रमा विरोध भएपछि बबई सिँचाई आयोजनाले त्यहाँ बनाउने ड्याम ५ सय मिटर तल बनाउनु परेको थियो । ड्याम बनाउनका लागि धेरै पटक प्रयास गरिएको । विवाद आएपछि त्यहा गर्ने काम तल सारियो, ड्याम बनाउने ठेक्का पाएका एक निर्माण कम्पनीका एक कर्मचारीले भने । ड्याम बनाउन अवरोध सिर्जना नगरेको भए यती ठूलो कटान नहुने स्थानिय बताउँछन् । कटान र तटबन्धस्थाल अवलोकन गरेर फर्केका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले ‘जनताको एकता र कामको प्रशासा गरे । उनले भने, ‘जनताले नमुना योग्य काम भएको छ । जनताको प्रयासले ठूलो दुर्घटना रोकियो ।’ कटान तथा अस्थायी तटबन्ध गरिएको क्षेत्रमा स्परसहितको ड्याम निर्माणका लागि केन्द्रमा कुरो भएको र बर्खा लगत्तै प्रक्रिया सुरु हुने प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताए ।