12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

भाइ पढाउन बालिका देहव्यापारमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ११, २०७३  

केशव राना
कोहलपुर, असार ११े
प्युठानकी एक १५ वर्षिया बालिका पढाईमा अब्बल थिइन् । कक्षा १ देखि नै उनी उत्कृष्ट स्थानका साथ कक्षा उत्तीर्ण गर्थिन् । सानैदेखि उनलाई डाक्टर बनेर जनताको सेवा गर्ने धोको थियो । तर, विडम्बना कक्षा ८ मा आइपुग्दा उनले पढाई छाड्नुप¥यो । उनको सपनामाथि तुषारापात भयो । कारण थियो, घरको आर्थिक अवस्था कमजोर ।
उनले थाहा नपाउँदै उनका बुवाको मृत्यु भयो । ‘मलाई थाहा छैन, बुवा कस्तो हुनुहुन्थ्यो’ इलाका प्रहरी कार्यालय कोहलपुरमा भेटिएकी उनले भनिन् । बुवाको मृत्यु भएको केही वर्षपछि उनकी आमा अर्कैसँग बिहे गरेर गइन् । उनको दाइको पनि हत्या भयो । बुवाको मृत्यु, दाजुको हत्या र आमा पनि अर्कैसँग बिहे गरेर गएपछि उनी र उनका भाइ टुहुरा भए । उनी र भाइ ४ वर्षदेखि मामाघरको हजुरआमासँगै बस्दै आएका छन् । उनले आफू नपढेपनि भाइलाई पढाउने सोच्न थालिन् । उनका ६ वर्षिय भाइ कक्षा २ मा पढ्छन् । ‘काम गरेर भएपनि भाइलाई पढाउँछु भन्ने सोचले म यहाँ आइपुगेँ’ उनले भनिन् ।
त्यही सोच बनाएर बसिरहेकी उनलाई एक जना गाउँकै महिलाले घुम्न र काममा लगाइदिने भन्दै कोहलपुर लैजाने प्रस्ताव राखिन् । काम गरेर भाइ पढाउने सोच राखेकी उनले ती महिलाको प्रस्ताव सहजै स्वीकार गरिन् । गाउँमा हुर्केकी उनी कोहलपुर आउँदा रमाइलो मानिन्, साथै भाइलाई पढाउने सपना पूरा हुने भन्दै खुशी थिइन् । तर, उनको खुशी छिनभरमै खोसियो । डाक्टर बन्ने सपना बोकेकी उनले देहव्यापार जस्तो घृणित काम गर्न बाध्य भइन् । काममा लगाइदिने बहानामा कोहलपुर ल्याएकी ती महिलाले आफ्नै होटलमा देहव्यापार गर्न लगाइन् । पहिले नमानेकी उनलाई ललाईफकाई, पैसाको लोभ देखाएर तीन महिनादेखि देहव्यापारमा लगाएको कोहलपुर प्रहरी बताउँछ । उनका ग्राहकहरु प्रायः भारतीयहरु थिए । यौनप्यास मेटाउन ती बालिकाका लागि हजारौं पैसा खर्च गर्र्न तयार हुन्थे । ती ग्राहकहरुले ढकेरी, नेपालगञ्ज लगायत विभिन्न ठाउँमा लगेर जाने गरेको प्रहरीको भनाई छ । ती ग्राहकहरुबाट हजारौं असुल्ने गरेपनि बालिकालाई भने ५ सय रुपैंया दिने गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेश काफ्लेले बताए ।
‘शुरुशुरुमा ढाडहरु दुख्ने लगायत विभिन्न समस्या हुन्थ्यो’ ती बालिकाले भनिन् ‘सहेरै भएपनि त्यस्तो काम गर्न बाध्य भएँ ।’ कोहलपुर प्रहरीका अनुसार ती बालिकाका लागि दिनमा ३ देखि ४ जनासम्म ग्राहकहरु आउने गर्दथे । उनले देहव्यापारबाटै भएपनि भाइलाई पढाउनका लागि खर्चहरु पठाउने गरिन् । उनले सहकारीमा पनि पैसा जम्मा गर्न थालिन् । बिहीबार प्रहरीले ती बालिकाको उद्धारसँगै दुईजना होटल संचालिकाहरुलाई पनि पक्राउ गरेको छ । उद्धारपछि उनले आफूलाई सुरक्षित महसुस गर्न थालेकी छन् । कुनै संस्थाले पढाईदिए पढ्ने कि नपढ्ने भन्ने मिसनकर्मीको जिज्ञासामा उनले भनिन् ‘पढ्न मन कसलाई पो नलाग्ला र ?’

प्रकाशित मितिः शनिबार, असार ११, २०७३     8:06:50 AM  |