केशव राना
राम बहादुर रावत
कोहलपुर, असार ८
फत्तेपुर १ का रामविलास हरिजन वर्षायाम शुरु भएपछि राम्र्रोसँग निदाउन सकेका छैनन् । कतिबेला बाढी आएर घरबास बगाउने हो, ठेगान छैन । वर्षा भएपछि टर्च लिएर राप्तीको पानी बढ्यो कि बढेन हेर्दैमा रात कट्छ उनको । राप्ती नदीको छेउमै छ उनको घर । राप्ती नदी छचल्किएको उनको घरमै सुनिन्छ । ‘घरभन्दा ८० मिटरमात्रै टाढा छ राप्ती नदी’ उनले भने ‘हामी राप्तीपारीका वासिन्दा वर्षायाम लागेपछि निदाउन पाएका छैनौं ।’ हरिजन मात्रै होइन राप्तीपारीका बासिन्दा आजभोली चिन्तामा दिनरात कटाउने गरेका छन् । २०७१ सालमा आएको बाढीले फत्तेपुरका मात्रै सात साय सात घर परिवारहरु विस्थापित भएका थिए । राप्ती नदी सुस्साउने वित्तिकै त्यहाँका वासिन्दालाई २०७१ सालमा आएको कहालिलाग्दो बाढीको सम्झनाले झस्काउने गर्छ । सम्बन्धित निकायले विशेष ध्यान पु¥याउन नसक्दा फत्तेपुरका अधिकांश बस्तीहरु जोखिममा छन् । अहिले सम्म पनि राज्यले उनीहरुको व्यवस्थापनका लागि कुनै ध्यान पु¥याउन नसकेको बाढीपीडितको गुनासो छ । वर्षातको समयमा राप्ती नदीको बहाव बढ्ने भएकाले गाउँ नै डुबानको जोखिममा छ । ‘२०७१ सालको बाढीले सबैका घरहरु बगायो’ हरिजनले भने ‘यस वर्ष पनि राप्ती नदी घरमै पस्ने बेला आइसक्यो, राज्यले हाम्रा लागि केही गर्न सकेको छैन ।’ घर बनाउनका लागि गाविसमा दुइ सय जना बाढीपीडितको फारम भरेको तर, अहिले सम्म बाढीपीडितका लागि सरोकारावाला निकायले केही गर्न नसकेको फत्तेपुर ३ का तिलकराम धोबी बताउँछन् । ‘घर बनाउनका लागि राज्यले एकलाख २५ हजार दिनेको भनेको थियो’ उनले भने ‘अहिले सम्म पाएका छैनौं ।’
![SofK;g M s6fg lgoGq0fsf nflu xfn} lgdf{0f ul/Psf] kSsL t6aGw z'qmaf/ eTsfP/ ufp k:g yfn]sf] /fKtL gbLsf] wf/ . h;sf sf/0f Ps ;o 3/kl/jf/ lj:yflktsf] pRr hf]lvddf k/]sf 5g . tl:a/ M 7fs'/l;+x ÷sflGtk'/](http://missiontodaynews.com/wp-content/uploads/2016/06/Rapti-nadi-ko-dhar-gaau-paseyo-BANKE-300x225.jpg)
tl:a/ M 7fs’/l;+x ÷sflGtk’/
बाढीपीडितले राप्ती नदी आसपासका वस्तीहरुलाई सुरक्षित स्थानान्तरणको माग गरेका छन् । बाढी प्रभावित क्षेत्रमा बसोबास गर्नेहरुको जीवन रक्षाका लागि भएपनि स्थानान्तरण गर्नुपर्ने त्यहाँका स्थानीय बताउँछन् । फत्तेपुर गाविस सचिव दिनलाल रानाले राप्ती नदीको तटबन्धका लागि अत्यधिक खर्च लाग्ने बताएका छन् । ‘कम बजेटले यहाँको समस्या समाधान हुन्न, यहाँको वस्ती व्यवस्थापनका लागि राज्यले गुरुयोजना बनाउनु पर्छ’ उनले भने ‘गाविस स्तरबाट हुने सहयोग हामीले गरेकै छौं, वस्ती व्यवस्थापनका लागि सरकारले निर्णय गर्नु पर्छ ।’ यता दैविक प्रकोप उद्धार समिति बाँके अध्यक्ष तिलक घर्तीले २०७१ सालमा आएका बाढीबाट फत्तेपुर गाविसमा क्षति भएको तथ्याङ्क नै पुरा हुन नसकेको बताएका छन् । फत्तेपुर गाविसको तथ्यांक सही आउन नसकेको बताउँदै उनले आंशिक र पूर्ण क्षतिको विवरण उपलब्ध गराउनका लागि स्थानीयले समिति गठन गर्नुपर्ने धारणा राखे । त्यो समिति हालसम्म पनि गठन नभएकाले समस्या भएको उनले बताए । शहरीविकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बाँकेले बाढी पीडितलाई घर बनाउने जिम्मा लिएको थियो । तर, तथ्याङ्क सहि नहँुदा त्यो प्रक्रिया अहिले मन्त्रालयमा रोकिएको कार्यालयले जनाएको छ । बाँकेका राप्ती पारीका पुरै गाविसहरु बाढीबाट प्रभावित हुने गर्दछन् । फत्तेपुरका विशेष गरी वडा नं. १, ३, ४, ५, ७ र ९ बाढीबाट प्रभावित बनेका छन् । आंशिक रुपमा बाढीबाट प्रभावित बनेकाहरुले केही राहत पाएपनि पूर्ण रुपमा बाढीबाट प्रभावित भएकाहरुले भने राज्यले राहत स्वरुप दिने भनेको घर र जग्गा अहिले सम्म पनि उपलब्ध गराउन सकेको छैन । सरकारले घर बनाउनका लागि २३ करोड बजेट दिने घोषणा गरे पनि अहिले सम्म उक्त रकम उपलब्ध हुन सकेको छैन ।