गर्भधारणको सही समय कहिले ?




Pregnant womanढिलो बिहे गर्नेहरुमा बाँझोपनाको खतरा हुने विज्ञहरुले बताएका छन् । आजकाल अधिकांश महिलाहरु आफ्नै खुट्टामा उभिएपछि, आर्थिक रुपमा सबल भएपछि मात्र बिहे गर्ने भन्ने चलन छ  । यसका साथै कामकाजी महिलाले पनि विविध समस्याका कारण तत्काल बिहे गर्न चाहँदैनन् । त्यसैले महिलाहरु ३० वर्षपछि मात्र बिहे गर्छन् । तर, यसबाट महिलाहरुमा विभिन्न खाले समस्या उत्पन्न हुन सक्छन् । यदि महिला ३५ वर्षभन्दा माथिका छन् भने तत्काल बच्चाको योजना बनाउनुपर्छ । योजना बनाएको ६ महिनासम्म बच्चा भएन भने तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ ।
गर्भधारणको सही समय कहिले त ?
गर्भधारणको सही समय २५ देखि ३० वर्षको बीचमा हो । तर, ढिलो बिहेपछि हुने गर्भधारणमा महिला र बच्चा दुवैमा समस्या आउन सक्छ । बिहेको उमेर ३० भन्दा बढी भयो भने बच्चा हुने सम्भावना ६० प्रतिशत कम हुन्छ । त्यसैले पहिलो बच्चा २५ देखि ३० वर्षको बीचमा जन्माउनुपर्छ ।
ढिलो बिहले पुरुषको प्रजनन शक्ति अर्थात् शुक्राणुमा कमजोरी आउछ र यस्ता शुक्राणुमा गति पनि हुँदैंन । यतिमात्र नभई बढी उमेरमा पुरुषमा शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ  । यसबाट गर्भ रहन समस्या हुनुका साथै कमजोर बच्चा जन्मने सम्भावना हुन्छ । यस्तै, बढ्दो उमेरसंगै महिलाको अण्डाको गुणस्तरीयतामा पनि कमी आउँछ ।
बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदुषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ । उमेर वृद्धिसंगै उच्च रक्तचाप, मधुमेह वा थाइराइडजस्ता रोग पनि बढेका छन् । यी रोग प्रजनन शक्तिका लागि बाधक हुन् । यस्तै, महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ । ३५ वर्षपछि असामान्य गर्भधारणको सम्भावना पनि बढ्छ । बढी उमेरमा गर्भधारणका क्रममा महिलामा उच्च रक्तचाप तथा मधुमेह हुने खतरा हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ ६ गते बिहीबार