डढेलोले वन्यजन्तु  र पंक्षी संकटमा



केशव राना
कोहलपुर, बैशाख २१
बाँके राष्ट्रिय निकुञ्जमा डढेलो लाग्दा वन्यजन्तुसँगै पंक्षीहरु संकटमा परेका छन् । निकुञ्ज भित्र डढेलो लाग्दा झाडीमा गुँड बनाउने चराहरुलाई प्रत्यक्ष असर परेको छ । साथै साना प्रजाती जनावरहरु यसको प्रत्यक्ष मारमा परेका छन् ।
अहिले चराहरु चिसो र अग्लो ठाउँतिर बसाई सरेका
छन् । फिस्टा जातका चरा लगायत अन्य चराहरु पनि तीन हजार मिटर माथि बसाइ सर्ने गरेको निकुञ्जले जनाएको छ । अहिले चराहरु पानी छेउछाउमा मात्रै भेटिन थालेका छन् । डढेलोले चराका गुँडहरु नष्ट भएका छन् । माटो नै देखिने गरी डढेलो लागेकाले किराहरु मरेका छन् । जसका कारण किरा खाने पंक्षीहरुलाई किराहरुको अभाव भएको छ । निकुञ्जमा पानीको स्रोत प्राय ठाउँमा सुकेका छन् । यसले गर्दा वन्यजन्तु र पंक्षीलाई पानी पिउन समस्या भएको छ ।
निकुञ्जको ३० देखि ४० प्रतिशत भु–भागमा डढेलो लागेको छ । चुरे क्षेत्रमा आगलागी शुरु भई सुकेका खर र बाबीयो, वन क्षेत्रमा सुकेका पातपतिंकर रुखहरुका कारण आगलागी निकुञ्जले जनाएको छ । डढेलो लागेपनि वन्यजन्तुमा कुनै उल्लेखनिय असर नपरेको निकुञ्जको भनाई छ । साथै निकुञ्जका पोष्ट, मचान, काठेपुल जस्ता भौतिक पूर्वाधार पूर्ण रुपमा सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी रबिन चौधरीले जानकारी दिए ।
कर्मचारी तथा स्रोत साधनको कमी झेल्दै आएको निकुञ्जले धेरै भु–भाग आगलागी हुनबाट जोगाएको उनले बताए । आगलागी नियन्त्रणमा नेपाली सेना खटिएको छ ।
आगलागी र खडेरीका कारण गर्मीयाममा विशेषगरी झाडीमा गुँड बनाउने र गर्मी नसहने चराहरु संकटमा परेका छन् । त्यस्ता चराहरु बसाई सरेर जाने हुँदा जाडोयाममा धेरै प्रजातीका चराहरु भेटिने तर, गर्मीयाममा भने केही संख्यामा मात्रै भेटिने गरेका छन् । अहिले पंक्षीहरु ३००० मिटर भन्दा माथि जंगलमा प्रजनन्का लागि जाने गरेका छन् ।
गर्मीयाममा पंक्षीको प्रजाती पत्ता लगाउने उद्देश्यले बैशाख १४ गतेबाट बाँके निकुञ्जमा पंक्षी सर्वेक्षण शुरु भएको छ । वनमा डढेलो लाग्दा पंक्षी सर्वेक्षणमा समस्या आएको पंक्षी विशषज्ञ हटन चौधरीले बताए । पंक्षी सर्वेक्षणमा चौधरी सहित ३ सदस्यीय विशषज्ञको सर्वेक्षण टोली खटिएको छ ।
जाडोयाममा पंक्षीको प्रजातीहरु धेरै देखिने गरेको भएपनि गर्मीयाममा डढेलो र गर्मीका कारण चराहरु माथिल्लो तथा चिसो स्थानमा बसाई सर्ने गर्दछन् ।
यसअघि सन् २०१२ मा बाँके निकुञ्जले सर्वेक्षण गर्दा १८० प्रजातीका पंक्षीहरु फेला परेका थिए । सर्वेक्षणको सातौं दिनसम्ममा १५५ प्रजातीका चराहरु भेटिएको बाँके निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिए । उनले भने ‘यो मौसममा यति पंक्षीका प्रजातीहरु देखिनु पनि राम्रै हो ।’ डढेलो र गर्मीका कारण पंक्षीहरुको विविधता कम भएको उनको भनाई छ ।
पंक्षीहरु हुने पकेट क्षेत्रहरु छनौट गरेर सर्वेक्षण गरिएको छ । पकेट क्षेत्रहरु खैरी खोला, मुगुवा खोला, गोठेरी, कुसुमस्थित राप्ती नदिको बगर, दाङ्गको मलाई जलजला, बबई भ्याली, गिद्धेनी चौर, ढकेरी सिमसार, खड्कवार, च्यामा, चिसापानी, घुइयाबारी, देउराली लगायतका क्षेत्र रहेका छन् ।
नेपाल पंक्षी संरक्षण संघ र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा भएको सर्वेक्षण बैशाख २४ गते सम्पन्न हुने निकुञ्जले जनाएको छ । दुरबिन, क्यामेरा, जिपिएसजस्ता उपकरणहरु प्रयोग गरी ‘म्याकिनन्’ विधिबाट सर्वेक्षण भइरहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख २१ गते मंगलबार