केशव राना
रामबहादुर रावत
कोहलपुर, बैशाख २०
मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वले आइतबार श्रमिक दिवस मनाइरहेका बेला दाङ्ग देउखुरीका ऋषीराज चौधरी (३२) कोहलपुरस्थित एक ग्रिल उद्योगमा फलाम काटिरहेका
थिए । ८÷९ वर्षदेखि ग्रिल उद्योगमा काम गरिरहेका उनी सदाझैं श्रमिक दिवसमा पनि काम गर्दैगर्दा भेटिए । ‘श्रमिक दिवस छोरीले सम्झाई, श्रमिक दिवसमा के गर्छन् थाहा छैन ।’ छोरीले श्रमिक दिवस भएकाले विद्यालय बन्द भएको भनेपछि थाहा पाएको उनले सुनाए ।
देशमा मजदुरहरुका लागि मजदुर संघ संगठनहरु धेरै खुलेका छन् । तर, ऋषिराज भने अहिले सम्म कुनैपनि संघ संगठनमा आवद्ध छैनन् । ‘श्रमिक दिवसमा सबैको बिदा हुन्छ भन्छन्’ उनले भने ‘खै, हाम्रो त काम गरेपछि मात्रै पैसा आउँछ, नत्र आउँदैन ।’
बिदा त सरकारी कर्मचारीलाई छ तर, यसरी मरुञ्जेल शारीरिक श्रम गर्ने मजदुरलाई भने छैन । ‘कुनै दिन काम नगरेर पनि ज्याला पाउने दिन कहिले आउला र ?’ उनले भने ‘एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।’ उनले राज्यले मजदुरहरुलाई पनि हप्तामा एक दिन बिदा दिएर बिदाको दिन पनि ज्याला पाउने व्यवस्था गरिदिनुपर्ने माग राखे ।
२०५१ सालबाट जुत्ता सिलाउँदै आएका कोहलपुर २ का नन्दे सार्की (६७) ले पनि श्रमिक दिवस भनेको थाहा नै नभएको बताए । विगत २२ वर्ष देखि यही पेशा गर्दै आएका उनले कहिल्यै पनि श्रमिक दिवस मनाएनन् । सदा झैं उनी आइतबार पनि कोहलपुरको चौराहामा ग्राहकको पखाईमा बसिरहेका थिए । ‘पढ्न लेख्न पाइएन्, कसैले भने पछि थाहा हुने हो’ उनले भने ‘खै के हो श्रमिक दिवस ?”
दिनभरि श्रम नगरी खान नपाउने श्रमिकहरूलाई मे दिवस भनेको कुन चरीको नाम हो भन्ने नै थाहा छैन । सडकहरूमा यातायात मजदुरहरू सवारी हुँइक्याइँरहेकै थिए ।
डोकामा÷टाउकामा इटा बोकेर होस् वा सिमेन्ट, बालुवा र गीटी मुसेर होस् निर्माण मजदुरहरू निरन्तर श्रम गरिरहेकै थिए ।
कोहलपुरमा तीन तले भवन बनाउँदै गरेका नौवस्ताका श्यामलाल चौधरीले काम गरेरै श्रमिक दिवस मनाएको बताए । ठेकेदारले श्रमिक दिवस मनाउनका लागि छुट्टी नदिए पछि काम गर्न आएको उनी बताउँछन् । ‘श्रमिक दिवसको दिनमा हामी मजदुरहरुलाई छुट्टी दिनु पर्ने हो’ उनले भने ‘तर के गर्ने काम नगरे, ज्याला
आउँदैन ।’ २० वर्षदेखि अरुका महल बनाइरहेका उनी आफू भने कच्ची माटोले बनेको घरमा बस्छन् । राज्यले श्रमिकहरुका समस्याका लागि कुनैपनि पहल नगरेको उनको गुनासो छ ।
त्यस्तै कोहलपुर ११ की मुन्नि चौधरी (३०) नाला निर्माणका लागि इट्टा फुटाइरहेको भेटिइन् । उनी छ वर्ष देखि मजदुरी गर्दै आइरहेकी छिन् । तर, अहिले सम्म श्रमिक दिवस भनेको के हो थाहा नभएको उनले बताइन् । ‘मजदुर दिवस भनेको काम गर्ने दिवस त होला नि’ उनले भनिन् ।
बाँकेमा विभिन्न राजनैतिक आस्थामा खुलेका मजदुर संघसंगठनहरुले छुट्टाछुट्टै कायक्रम गरे । मजदुरका हक अधिकारका विषयमा चर्का भाषण भए । तर, यिनी जस्ता मजदुरहरुका लागि भने न कहिल्यै मजदुर संघसंगठनहरुले सोचे न त राज्यले नै ।
एमाले निकट मजदुर संगठन जिफन्टका भेरी कर्णाली अध्यक्ष पूर्ण केसीले आफूहरु निर्माण मजदुरहरु समक्ष पुग्न नसकेको स्विकार गरेका छन् । ‘हामी त्यस्ता मजदुरहरु समक्ष पनि जाने प्रयास गरिरहेको छौं’ उनले भने ।
सुकिला मुकिला मात्रै देखिने मजदुरहरुले श्रमिक दिवसमा चर्का नाराबाजी, भाषण गरेपनि वास्तविक मजदुरको पीडा भने जस्ताको तस्तै छ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको
हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखका दिन श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलन भएसँगै यो दिवस मनाइन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्