लन्डन, वैशाख ८ । बेलायतकी महारानी एलिजावेथ द्वितीय ९० वर्षकी भइन् । सन् १९५२ देखि बेलायतको सत्ता सम्हालेकी उनले यसबीचमा ११६ मुलुकको भ्रमण गरिसकेकी छन् । तर उनीसँग राहदानी (पासपोर्ट) छैन ।
सुन्दा अचम्म लाग्न सक्छ, तर वास्तविकता यही हो । उनले राहदानी विना नै ११६ मुलुकको भ्रमण गरिसकेकी छन् । यतिमात्र होइन, उनीसँग चालक अनुमति प्रमाणपत्र (सवारी लाइसेन्स) पनि छैन तर उनी कार पनि चलाउँछिन् ।
महारानी एलिजावेथको आफ्नै राहदानी छैन तर बेलायती नागरिकको राहदानीमा उनको नाम उल्लेख गरिन्छ । बेलायती राजपरिवारकी उनी यस्ती एक्लो सदस्य हुन् जसलाई विदेश भ्रमणका लागि राहदानी आवश्यक पर्दैन । राजपरिवारका बाँकी सदस्यले भने राहदानी लिएका छन् र उनीहरु विदेश यात्राका क्रममा राहदानी प्रयोग गर्दछन् ।
महारानी एलिजावेथको जन्मदिन पनि अलग अलग मितिमा मनाइन्छ । उनको आधिकारिक जन्म मिति २१ अप्रिलमा हो । तर बेलायतमा प्रत्येक वर्ष जुन महिनाको पहिलो, दोस्रो वा तेस्रो शनिबार उनको औपचारिक जन्म दिन मनाउने गरिन्छ । जन्मदिनको घोषणा सरकारले गर्दछ ।
पूर्वी अस्ट्रेलियामा जुनको दोस्रो सोमबार महारानीको जन्मदिन मनाइन्छ, उक्त दिन त्यहाँ सार्वजनिक बिदा दिइन्छ । त्यसैगरी पश्चिमी अस्ट्रेलियामा सेप्टेम्बरको अन्तिम साता वा अक्टोबरको पहिलो साता महारानीको जन्मदिन मनाइन्छ ।
न्यूजिल्याण्डमा महारानीको जन्मदिन जुन महिनाको पहिलो सोमबार मनाइन्छ भने क्यानाडामा मई महिनाको पहिलो सोमबार उनको जन्मदिन मनाइन्छ ।
महारानी एलिजावेथ विश्वमै यस्तो एकमात्र राष्ट्राध्यक्ष हुन् जसले दोस्रो विश्वयुद्धमा सैन्य ट्रक चलाएकी थिइन् । त्यतिबेला उनको उमेर १८ वर्षको थियो ।
एलिजावेथको विवाह २० नोभेम्बर १९४७ मा भएको थियो । उनले आफ्नो विवाहको ड्रेस राशन कुपनबाट खरिद गरेकी थिइन् । दोस्रो विश्वयुद्ध सकिएलगत्तै उनको विवाह भएको थियो । त्यसैले विवाहमा कम खर्च गर्ने उद्देश्यले राशन कुपनबाट उनले आफ्नो लागि कपडा खरिद गरेकी थिइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्