25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

आफूलाई सुधार्दै भेरी अञ्चल अस्पताल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३  

तिलक गाउँले
कोहलपुर, बैशाख ६
१२५ बर्षको लामो इतिहास बोकेको नेपालगन्जको भेरी अञ्चल अस्पतालमा राजनीतिक भागबण्डाका आधारमा आउने मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल ब्यबस्थापन समिति बिच दिनहुँको कलह र दिनहुँ जसोको अख्तियारको छापाले थिला थिला परेको भेरी अञ्चल अस्पताल पछिल्ला दिनहरुमा फेरी उठ्ने प्रयासमा छ ।
तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर सुबेदी र लेखा अधिकृत पदम जिसी बीचको आर्थिक विवादले पनि भेरी अञ्चल अस्पताल उठन सकेको थिएन ।
आर्थिक विवादमा तत्कालीन मेसु र लेखा अधिकृत मुछीएपछी दिनहुँ जसो अख्तियारको छापा पर्दै आइरहेको थियो । तर, पछिल्लो समयमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा डाक्टर श्यामसुन्दर यादब आएपछी भेरी अञ्चल अस्पालमा थुप्रै सुधार देखिएको छ । अस्पतालको बिबादका कारण बिरामी समेत आउन छाडेका अस्पतालमा अहिले दिनहुँ खचाखच बिरामीले भरिने गरेका छन् । डाक्टर यादब मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछी निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएको आकस्मिक कक्ष सञ्चालनमा आएको छ ।
१२५ बर्षको इतिहासमा पहिलोपटक मुटु रोगको उपचार भेरी अञ्चल अस्पतालबाट शुरु भएको छ । स्वास्थ्य मन्त्रालयसंग बारम्बार पहल गरेपछी मुटुरोग बिशेषज्ञ डिएम डाक्टर कृष्ण प्रसाद अधिकारीले मुटुरोग सम्बन्धि सेवा दिन शुरु गर्नुभएको छ । नेपाल सरकारसंग भएका २ जना मात्र डिएम कार्डियोलोजिस्ट मध्य अधिकारी भेरी अञ्चल अस्पतालमा आएपछी अब मुटु रोगीहरु उपचारका लागि बाहीर जानु नपर्ने भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्यामसुन्दर यादबले बताए ।
मुटुरोग बिशेषज्ञ आएर सेवा दिन शुरु भएपनी मुटु रोग उपचारका लागि चाहीने आवश्यक उपकरणको भने अभाव छ अस्पतालमा । मुटुरोगको उपचार गर्ने उपकरण क्याथल्याब भेरी अञ्चल अस्पतामा ल्याउन सके मुटु रोगका हरेक उपचार भेरी अञ्चल अस्पतालबाटै हुन सक्ने डाक्टर यादब बताउँछन् । क्याथ ल्याबको ब्यबस्थाका लागी नेपाल सरकार र स्वास्थ्य मन्त्रालयसँग बारम्बार पहल भैरहेको डाक्टर यादबले जानकारी दिए ।
उपकरणको अभाव भएपनि तत्काल ओपीडि सेवा सञ्चालन गरेर बिरामीहरुको सेवा दिइने मुटुरोग बिशेषज्ञ डाक्टर कृष्ण प्रसाद अधिकारीले बताए । तत्काल उपकरणको अभाव भएपनि इको काड्रियोग्राफी, आइसियु सेवा र रि भास्कुराइएसन सेवा तत्काल दिन सकिने डाक्टर अधिकारीको भनाइ छ ।
अस्पतालमा सञ्चालनमा आएर पनि बिगत सात बर्ष देखि बन्द अवस्थामा रहेको आइसियु र एनआइसियु सेवा पनि सञ्चालनमा आएको छ । बिपन्न नागरिक सेवा कोष अन्र्तगतको सिकलसेल एनिमियाका ८५ जना बिरामीलाई अस्पतालले सेवा दिइसकेको छ । अस्पतालले आकस्मिक कक्षमा ल्याबको समेत सञ्चालन गरेको छ भने २ वटा भिडियो एक्सरे ल्याब सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा ७ बर्ष देखी बन्द रहेको इन्डोस्कोपी सेवा पनि सुचारु भएको छ । बिद्युत भोल्डेजका कारण बन्द अबस्थामा रहेको सिटी स्क्यान सेवालाई प्रभावकारी बनाउनका लागि २५० केभीएको जेनेरेटर र ५ सय केभीएको जेनेरेटरको ब्यवस्था गरिएको छ । जसका कारण बिद्युत नभएका कारण बिरामीहरुलाइ सिटी स्कयानबाट बञ्चित हुनु पर्ने बाध्यता टरेको छ ।
कुनैबेला आफै बिरामी अवस्थामा रहेको भेरी अञ्चल अस्पतालमा पछिल्लो समयमा थुप्रै परिवर्तनहरु देखा परेका
छन् ।

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३     9:03:14 AM  |