काँक्रो खेतीले चिनाउँदै गाउँ



खगेन्द्र दाहाल
कोहलपुर, चैत्र २०
बागेश्वरी ५ मनकामनापुरकी पवित्रा कँडेलले व्यवसायीक कांक्रा खेती गरिरहेकी छन् । श्रीमानको कमाईले घर खर्च चलाउन मुस्किल पर्न थालेपछि व्यवसायिक काँक्रो खेती शुरु गरेको उनले बताइन् । उनले भनिन् ‘काँक्रा बेचेर वार्षिक डेढ लाख बढी आम्दानी हुन्छ ।’
मनकामनापुरकै मोतीलाल कँडेल गाई व्यवसायिक रुपमा पाल्ने कृषक हुन् केहि वर्ष भयो मोतीलालले काँक्रो खेतीलाई पनि व्यवसायिक रुपमा गर्दै आएको । अहिले चार कठ्ठा क्षेत्रफलमा काँक्रो खेती गर्ने मोतीलालले यो मौसममा सवा लाख बढी आम्दानी गर्ने अड्डी बसेका छन् ।
अर्की कृषक देवि सापकोटाले ५ कट्ठा क्षेत्रफलमा व्यवसायिक रुपमा काँक्रो खेती गर्दै आएकी छन् । काँक्रोको उत्पादनले बढी नाफा हुने भएकोले काँक्रो लगाउन तर्फ लागेको कृषक सापकोटाले बताइन् । ‘खाद्यान्न बाली भन्दा चौगुणा नाफा व्यवसायीक काँक्रो खेती गर्दा भयो’ कृषक देवि सापकोटाले भनिन् ।
बाँके बागेश्वरी ५ मनकामनापुरलाई काँक्रो गाउँका नामले परिचित गराउन कृषकहरु व्यवसायिक काँक्रो खेती गरिरहेका छन् । मनकामना कृषक समुह दर्ता गरेरै त्यहाँका कृषकहरु व्यवसायिक रुपमै काँक्रोको उत्पादन बढाउन तर्फ अग्रसर भएका हुन् । समुहमा ६ जना पुरुष र १६ जना महिला कृषकहरु आवद्घ रहेका छन् ।
मनकामनापुर गाउँमा व्यवसायीक रुपमै करिब ५ विगाह क्षेत्रफल बढीमा काँक्रो खेती हुँदै आएको छ । समुहमा मिलेर तरकारी खेती शुरु गरिसकेपछि जिल्लामा कृषिको क्षेत्रमा काम गर्ने किसान परियोजना कार्यक्रमले सिचाईका लागि ४० हजार बराबरको ट्युबेल सहयोग गरेको, विभिन्न बिउ उपलव्धता गराएको कृषक कृष्ण सापकोटाले बताए ।
गत वर्ष एकै कृषकले १ सय ५० क्विन्टल काँक्रो फलाइसकेका छन् । यो वर्ष पनि काँक्रोको उत्पादन नघट्ने झन् बढ्ने अनुमान छ कृषकहरुको । काँक्रोबाट उत्पादन लिइसकेपछि उक्त स्थापनमा बेसिजन तरकारी खेति समेत गर्ने योजना छ ।
बेमौसमी तरकारी उत्पादन गर्नका लागि केही सहयोग पुगोस् भनेर साना तथा मझौला कृषक आयस्तर परियोजना (रिजम)मा प्रस्तावना समेत पेस गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २० गते शनिबार