0
मुम्बई, फागुन १३ । पाँच वर्षको जेल सजाय पुरा गरेर बलिउड अभिनेता संजय दत्त बिहाबार बिहान रिहा भएका छन् ।
जेलबाट बाहिर निस्कने क्रममा उनले धर्तीलाई ढोगेका थिए भने जेलतर्फ फर्किएर सलाम गरेका थिए । एउटा ब्याग र केही कागजात लिएर उनी जेल परिसरबाट बाहिर निस्कदा उनको स्वागतमा परिवारजन, मित्र र शुभचिन्तकको भीड लागेको थियो।
उनी चार्टर्ड विमानबाट मुम्बईतर्फ प्रस्थान गरेका छन् । मुम्बईस्थित उनको निवासमा समेत मित्रजन, शुभचिन्तक र बलिउडकर्मीको भीड लागिसकेको छ ।
संजय दत्तलाई लिन उनको परिवार जेल गएका थिए । संजयको रिहाइमा पत्नी मान्यता निकै खुशी देखिएकी छन् । उनले जेल बाहिर भव्य स्वागत कार्यक्रम आयोजना गर्न चाहे पनि जेल प्रशासनले त्यसको अनुमति दिएन ।
संजय दत्तकी छोरी त्रिशाला अमेरिकामै छिन् । तर उनले पिता रिहा भएको खुशीमा सोशल मिडियामा केही भिडियो शेयर गर्दै लेखेकी छन्, ‘उहाँ मेरो शेर हुनुहुन्छ, अब मेरो शेर पिँजडामुक्त भएर जंगलमा आएको छ, म निकै उत्साहित छु ।’
संजय रिहा हुनुपूर्व यरवदा जेल बाहिर केही प्रदर्शनकारीले उनको रिहाईको विरोध गरेका थिए ।
५६ वर्षीय संजय मे २०१३ देखि जेलमा थिए । पछिल्लो समय उनी ४२ महिना जेलमा रहे । सन् २००७/००८ मा उनी १८ महिना जेलमा बसेका थिए ।
सन् २०१३ मा भारतको सर्वोच्च अदालतले उनको जेल सजाय पाँच वर्ष कायम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्