नक्सा पास बिना भवन निर्माण



सुर्खेत, १० फागुन
सुर्खेत उपत्यका नगरविकास समितिले नक्सा पास नगराएरै भवन निर्माण गर्न इजाजत दिएको छ । फुटपाथमा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने उद्देश्यले उपत्यका नगरविकास समितिले जग्गा भाडाको लागि ठेक्का आह्वान गरेको थियो । उक्त ठेक्काबाट छनौट भएका व्यवसायीहरुले हाल भवन निर्माण गरिसकेका छन् ।
कुनैपनि घर निर्माण गर्दा नक्सा पास गरेर मात्र निर्माण गर्नपाइने नियम भएपनि समितिले नक्सा पासको प्रक्रिया नै नपु¥याएर भवन निर्माण गर्न लगाएको छ । व्यवसाय सञ्चालनको लागि भाडामा दिने योजना अनुरुप उपत्यका नगरविकास समितिले २१ जनाको ठेक्का स्वीकृत गरी उनीहरुले भवन समेत निर्माण गरिसकेका
छन् । ठेक्का स्वीकृत भएका व्यवसायीहरुले नगरविकासस“ग व्यवसाय सञ्चालनको लागि सम्झौता पनि गरिसकेका छन् ।
वीरेन्द्रनगर–६ को हटियालाइन् पछाडीको नगरविकासको जग्गामा अहिले तीनकोठा भएका सातवटा ब्लकहरु निर्माण सम्पन्न भइसकेका छन् । केही दिनमै उक्त भवनमा व्यवसाय सञ्चालन हुने व्यवसायीहरुले बताएका
छन् ।
उपत्यका नगरविकास समितिले योजानको निर्माण गरी प्रक्रिया अनुरुप निर्माणका लागि अन्य निकायलाई जिम्मेवारी दिनुपर्ने प्रावधान रहेपनि प्रक्रिया विनानै व्यवसायीहरुलाई भवन निर्माण गर्न दिएको वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश पौडेलले
बताए । उपत्यका भित्र घरजग्गा निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्ने प्रक्रियाको थालनी नगरविकास समितिले नै गरेपनि हाल मनपरी तरिकाले भवन निर्माणको स्वीकृति दिएको पौडेलको भनाई छ ।
वीरेन्द्रनगरपालिकाले भवन निर्माण गर्दा बाटो च्यापीएको शंकाले सोको बारेमा जानकारी दिन आग्रह गरी पत्र पठाएको पौडलले बताए । पौडेलका अनुसार उपत्यका नगरविकास समितिले भने, बाटो २० मिटरको भएको र सोही अनुसार बाटोको नक्सा प्रक्रिया अगाडि बढाइदिनको लागि मात्र जवाफ पठाएको छ ।
कानुनको कार्यान्वयन गराउने त्यस्ता कार्यालयले प्रक्रिया पुरा नगरेकोमा स्पष्टिकरण दिनको लागि अर्को कार्यालयले पत्र पठाउन लाजमर्दो कुरा भएको नगरपालिकाका एकजना कर्मचारीले बताए ।
भवन निर्माण सकिएर व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालनको लागि तयारी गरिसकेपनि हालसम्म नगरविकास समितिले बनिसकेका ब्लकहरुको नक्सा पासको लागि नगरपालिकामा कुनै आधिकारिक जानकारी नआएको कर्मचारीको भनाई छ ।
यता समितिका अध्यक्ष ध्रुवकुमार चपाईले पनि नक्सापास नगरी भवन निर्माण गर्न लगाएको स्वीकारेका छन् । जिल्ला प्रशासनसंग समन्वय गर्नुका साथै नगरपालीकालाई नक्सा पास गर्नका लागि पत्राचार गरेपनि नगरपालिकाले नै ढिलाई गरेको बताए ।
सुर्खेतमा भवन निर्माण गर्दा नक्सापास गर्ने कार्यको थालनी सुरुवात गरेको उपत्यका नगरविकास समितिले नै प्रक्रियाको उल्लङ्घन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १० गते सोमबार