घना जंगलमा बाघको फन्दाबाट उम्किएर ज्यान जोगाएको क्षण



भावुक योगी

बर्दिया, फागुन ५ – बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि नेदरल्याण्डबाट आएका विदेशी पर्यटकलाई निकुञ्ज भित्र घुमाउन गएका ठाकुरद्धाराका टुरिष्ट गाइड कृष्ण शाह निकुञ्जभित्रै पाटे बाघको आक्रमणबाट घाईते हुनुभयो । उहाँसँगै गएका नेदरल्याण्डका विदेशी पाहुना गेरार्ड भान लारले सुरुमै बाघको फन्दामा परेको बेला रुखमा चढेर ज्यान जोगाउनुभयो ।

अरु दुई जना बर्दिया टाईगर रिसोर्टका सञ्चालक रामजी बाबु थापा र बर्दिया जंगल कटेजका गाइड उमंग खड्का पनि बाघको फन्दाबाट बल्लबल्ल उम्किए । लठ्ठीको सहायताले केहीबेर बाघसँग लडेर घाइते शाह सहित सबैले झण्डै तीनघण्टा रुखमै चढेर पाटे बाघबाट आफ्नो ज्यान जोगाएका हुन् ।

यसरी भयो बाघसँग घम्साघम्सी

फागुन १ गते दिउँसोको कुरा हो । नेदरल्याडबाट पहिलो पटक नेपाल घुम्न आउनुभएका ३३ वर्षका गेरार्ड भान लार निकुञ्ज नजिकको बर्दिया होमस्टेमा बस्नुभएको थियो । गाईड शाहले उहाँलाई निकुञ्ज भित्र बाघ, हात्ती, गैँडा लगायतका वन्यजन्तु अवलोकनका लागि लिएर जानुभएको थियो । अवलोकनका लागि गएका बेला निकुञ्ज भित्रको तिनकुने जहाँ दिनहुँ बाघ देख्न सकिन्छ, त्यसको झण्डै २ किलोमिटर दक्षिण तर्फ बाघ देख्न सकिने अर्को स्थल बघौराफाँटामा पुग्दा एक्कासी बाघले आक्रमण गर्यो । विदेशी पाहुना एकातिर र गाईड शाह अर्कोतिर भाग्नुभयो । सँगै गएका दुईजना छुट्टिएपछि खोजी भयो । आफ्नो पाहुनालाई शाहले केहीबेर निकैबेर खोज्नुभयो । कतै फेला नपरेपछि सहयोगका लागि शाह तिनकुनेतर्फ फर्किनुभयो ।

त्यसपछि के भयो ?

बर्दिया टाईगर रिसोर्टका संचालक रामजीबाबु थापा :

बर्दिया निकुञ्ज भित्रको तिनकुने जहाँ दिनहुँ बाघ देख्न पाईन्छ । त्यहाँ दुई तीन दिनदेखि लगातार ५ वटा बाघ देखिएको भन्ने सुनेपछि बर्दिया टाईगर रिसोर्टका म्यानेजर, रिसोर्टका संचालक एवं राष्ट्रिय प्रकृती संरक्षण कोषका कर्मचारी रामजी बाबु थापा र बर्दिया जंगल कटेजका गाइड उमंग खड्का बाघ हेर्न तिनकुने गएका थियौँ ।

केही नेपाली र विदेशी पाहुनाहरु बाघ हेर्न बसिरहेका थिए । हामी तीनजना पनि निकुञ्जको तिनकुनेमा बाघ हेर्न रुखमुनी शाान्त भएर बसिरहेका थियौँ । टुरिष्ट गाईड कृष्ण शाह आउनुभयो र भन्नुभयो – खै कुन जनावरले आक्रमण गर्न खोज्यो ।

अनि मैले ल्याएको विदेशी पाहुना र म बिछोड भयौँ । पाहुना र मेरो भेट हुन सकेन । एकपटक खोज्न जाउँ भनेपछि रिसोर्टका म्यानेजरलाई त्यहीँ तिनकुनेमा छोडेर म र अर्का गाइड उमंग खडका सहित हामी ३ जना भएर शाहको साथमा आएका विदेशी पाहुनालाई खोज्न तिनकुनेदेखि दक्षिणतर्फ निकुञ्ज भित्रको बघौराफाँटातर्फ लाग्यौँ ।

हामीले गाईडबाट बिछोडिएका विदशी पाहुनालाई निकैबेर खोज्यौँ । कतै फेला परेन । निकैबेर खोज्यौँ । कतै जनावरको आक्रमणमा त पर्नु भएन भन्ने सोच्दै थियौ । गाईड उमंग र कृष्णको हातमा लट्ठी थियो । तर मसँग थिएन । मैले पनि लट्ठी खोज्नु पर्यो । कतै बाघ भेटियो भने त लड्न सकिन्छ नि भनेर एउटा लट्ठी खोजेँ ।

एकजना साथीले भनेको सुनेको थिएँ, बाघ भेटियो भने लट्ठी भुईँमा बजार्नु पर्छ । त्यसैगरी चेक गर्न आफ्नो लट्ठी भुईँमा बजारेँ । त्यो त भाँचियो, फेरि अर्को अलि बलियो लट्ठी भेटाएँ । अगाडि म थिएँ, बिचमा उमंग भाइ र त्यसपछि कृष्ण भाइ हुनुहुन्थ्यो ।

हामी तीनैजनाले हातमा लट्ठी लिएर पाहुनालाई निकुञ्जभित्र खोजीरहेका थियौँ । झण्डै १ बजेको थियो । अलि टाढाबाट आवाज आयो । आईम सेभ, आईम सेभ भन्ने आवाज सुन्यौँ । त्यसपछि हामीसंगै रहेका उमंगले उहाँसँग अँग्रेजीमा कुराकानी गर्नुभयो ।

उमंग खड्का :

रुख चढ्नु भएका विदेशी पाहुनालाई सुरुमा मैले अँग्रेजीमा सोधेँ । के छ अवस्था ? कस्तो छ ? कहाँ हो ? भनेर प्रश्न गरेँ । उहाँले म सुरक्षित छु । केही भएको छैन । रुखमा चढेको छु भन्ने जवाफ दिनुभयो । सायद यस्तै सय मिटर टाढा रुखमा चढेर उहाँ बोलीरहनुभएको थियो । मैले फेरि उहाँलाई ईङ्गलिसमा प्रश्न गरेँ । तपाई चढेको रुखको आसपासमा कुनै जनावर छ, की छैन ? उहाँले भन्नुभयो । केही छैन, आउनुस भनेर भन्नुभयो ।

पाहुना भएको रुख नजिक पुग्न झण्डै ३० मिटरको दुरी थियो होला । विदेशी पाहुना जो रुखमा चढ्नुभएको थियो एक्कासी चिच्याउन थाल्नुभयो । सायद उहाँले बाघ देख्नुभएको रहेछ । उहाँले हामीलाई स्टप, स्टप, स्टप भन्नुभयो । म चढेको रुखको वरीपरी बाघ घुमीरहेको छ भन्दै हुनुहुन्थ्यो ।

त्यत्तिकैमा घ्ँवार.. ठुलो आवाज आयो । झाडीबाट घ्वाँर.. गर्दै बाघ अघिल्तर रामजी दाईको ज्यानमा हाम फाल्यो । उहाँले हातमा रहेको लट्ठी देखाउनुभयो । बाघले झम्टिँदा उहाँ भुईमा बजारिनुभयो । भुईंमा लठ्ठी बर्जान थाल्नुभयो । म रुखको पछाडि लुकेँ । मैले पनि लट्ठी बजारेँ ।

रामजी

म भुईंबाट उठेको मात्र के थिएँ । तुरुन्तै बाघले फेरि आक्रमण गर्यो । अब जिन्दगी यति नै रहेछ भन्ने लाग्यो । आँखा बन्द गरी लट्ठीले हानेको त सायद बाघको टाउकोमा लागेछ क्या हो । बाघले मलाई चिथोर्न पाएन । तर म भुईंमा बजारिएँ । पाईन्ट च्यातियो । बाघ उफ्रेर हामी भन्दा पछाडि रहेका कृष्ण शाहको तिघ्रामा झम्टियो । बाघको घ्वा… घ्वा.. र घ्वार.. घ्वार.. आवाज आईरहेको थियो । म फेरि उठेँ ।

उमंग र मैले भुईंमा लट्ठी बजार्दै कराउन थाल्यौँ । कृष्ण पनि घोप्टो परेर सुत्नुभएको थियो । कृष्ण भाइ आफुले बोकेको झोलाले घाँटी र टाउको छोपेर घोप्टो परेर कुपु्रक्क परेर सुत्नु भएको थियो । कृष्ण शाहको देब्रे खुट्टामा बाघले आफ्नो एउटा खुट्टाले च्यापेर अर्को खुट्टाले चिथोर्न र मुखले खुट्टा कोर्पन लागिरहेको थियो । हामी भुईमा लट्ठी बजार्दै थियौँ ।

बाघले कृष्ण भाइलाई लुछिरहेको देखेर मन थाम्न नसकी बाघको पछाडि फेरि लट्ठीले हिर्काएँ । कराएँ चिच्चाएँ । हो हल्ला गर्दै बाघलाई पछाडिबाट लट्ठीले हिर्काउँदै गर्दा उमंग भाइ पनि चिच्चाउनु भयो । उहाँले पनि भुईंमा लट्ठी बजार्नु भयो । त्यसपछि बाघ शाह भाइलाई छाडेर झाडितिर भाग्यो । बाघले आक्रमण कृष्ण शाहलाई लुछिरहेको बेला लट्ठीले हानेर भएपनि उहाँलाई जोगाउन र आफु दुईजना पनि बाघको फन्दाबाट जोगिन सफल भयौँ । खै कहाँबाट आयो त्यस्तो बल र बुद्धि । आफैंलाई थाहा छैन ।

बाघ झाडीतिर गए लगत्तै उमंगले जंगली जनावरसँग सामाना गरीसकेपनि रुख चढ्नुपर्ने आईडिया निकाल्नु भयो । हतार हतार हामी दुई उमंग र मैले घाईते भएका गाईड शाहलाई नजिकैको रुखमा चढायौँ । म त रुख चढ्न नसक्ने मान्छे । त्यसपछि उमंग रुखमा चढेर मलाई पनि तान्नुभयो । रुखको सबैभन्दा माथि बाघको आक्रमणबाट घाईते हुनुभएका शाहलाई राख्यौँ । बिचमा म थिएँ । सबैभन्दा तल उमंग भाइ हुनुहुन्थ्यो ।

हामी चढेको रुखको फेदमा बच्चा सहितको बयस्क बाघ घुमिरहेको थियो । घ्वार.. घ्वार.. र ह्वा.. ह्वा.. गर्दै कराईरहेको थियो । मेरो मोबाइल त बाघसँग लड्दा भुईंमै खसेको थियो । भाइ उमंगसँग भएको मोबाइलबाट निकुञ्जमा फोन लगाएर बोल्न खोज्दा पनि बाघ कराउन थाल्थ्यो । नेटवर्क पनि त्यति राम्रो थिएन ।

कुरा गर्न खोज्दा बाघ गर्जिन थालेपछि एसएमएसबाट निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापालाई आफुहरु बाघको फन्दामा परेको र घाइते सहित आफुहरु रुखमा चढेर बसेको जानकारी गराउनुभयो । निकुञ्जले पठाएको सेना सहितको उद्दार टोली झण्डै ३ घण्टापछि हामी भएको ठाउँ भन्दा केही टाढा आयो तर बोल्न सक्ने स्थिति थिएन ।

उमंग खड्का

उद्दारका लागि हात्तीमा आएको सेना सहितको निकुञ्जको टोलीले आवाज दिईरहेका छन् । तर आफुहरु बोल्न सक्ने स्थितिमा थिएनौँ । रुखको तल वरिपरी झाडीमा वयस्क पाटे बाघ र बाघका डमरु कराईरहेका थिए । रुखको झण्डै १५ मिटरमा घाइते शाही हुनुहुन्थ्यो । रुखको बिचमा रामजी दाई र झण्डै ६ मिटर अग्लोमा म थिएँ । रुखको सबैभन्दा तल म नै थिएँ । आवाज दियौँ भने रुखमा झम्टीएर तान्ने पो हो की भन्ने डर थियो ।

आफूहरु चढेको रुखमुनी वरीवरी बाघ घुमीरहेको छ । बोल्नासाथ बाघ गर्जिन्छ । बाघका बच्चाहरु कराउँछन् । घाईते साथी कृष्ण शाहको खुट्टाबाट रगत बगिरहेको छ । कतै त्यो रगत देखेर बाघ उफ्रिएर झम्टीने पो हो की भन्ने डर पनि लागि रहेको थियो । आधा घण्टा जति भईसक्यो । हामीलाई देख्न नसकेका उद्दार टोली आवाज दिईरहेका थिए । त्यसपछि हामीभन्दा झण्डै ३० मिटर टाढा रुखमै रहनुभएका नेदरल्याण्डका विदेशी पाहुना बोल्नुभयो ।

निकुञ्जबाट हात्तीमा गएका उद्दार टोलीले सुरुमा उहाँलाई रुखबाट झारेर हात्तीमा राखे । त्यसपछी हो हल्ला भयो । बाघ अलि टाढा झाडीतिर गएपछि मैले आवाज दिएँ । हामी चढेको रुख नजिक हात्तीमा रहेका उद्दार टोली आईपुगेपछि घाइते शाहलाई हात्तीमा राख्यौँ । त्यसपछि हामी सबै बाघको फन्दाबाट जोगिएर निकुञ्ज बाहिर आयौँ ।

बर्दिया निकुञ्जले शाहलाई ठाकुरद्धाराको बर्दिया टाईगर रिसोर्टमा प्राथमिक उपचार गरी उपचारका लागि कोहलपुर मेडिकल कलेज लगेको हो । आफू पनि बाँचे, साथीलाई पनि बचाएँ । हामी सबैका लागि यो दोस्रो जीवन हो । बाघको फन्दाबाट उम्किएर रुखमै चढेर हामीहरु कसरी बाँच्यौँ, अझैँ सपना झैँ लाग्छ ।

पर्यटक गेरार्ड भान लार :

मेरो जीवनको ख्याल गर्दै आफु जोखिममा परेर कृष्ण र अरु दुई जनाले गरेको सहयोग प्रति म आभारी छु । नेपालीहरुले आफ्नो ज्यान जोखिममा पारेर पनि मानविय सहयोग गरेको देख्दा खुसी लाग्यो । बाघको फन्दाबाट बाँचेर आज आफ्नो देश फर्कन लागिरहेको छु ।

घाइते शाह :

म बाघको आहारा बनिसकेको थिएँ । रामजी सर र उमंग दाईले लट्ठीको सहायताले बडो हिम्मतका साथ बाघलाई भगाउन सफल हुनुभयो र म बाँचे । खुसी लागेको छ । घोप्टो परेर सुतेका कारण पनि ठुलो चोट लागेन । देब्रे खुट्टा र तिघ्रामा बढी घाउ छ । दाहिने खुट्टामा हल्का छ । घाउ पाकीरहेको छ । रेबिजको सुई लगाउने भनेका छन् ।

…………………………………

बाघको आक्रमणबाट बचेर फर्किएका उनीहरुलाई भेट्न आउनेको अहिले घुईंचो लाग्ने गरेको छ । ‘भेट्न आउने सबैले बाघसँग लडेको अनुभव सोध्छन् । अनि फोटो खिचियो कि त भन्छन् । हातमा राम्रा राम्रा क्यामरा हुँदा पनि फोटो खिच्ने कसैको होसै आएन । ज्यान जोगाउन त मुश्किल थियो । कसरी फोटो खिच्ने ?’ उहाँहरुले भन्नुभयो ।

यसअघि बर्दिया निकुञ्ज नजिक खाता जैविक मार्ग क्षेत्रमा १२ वर्ष अघि २०६० साल पुष महिनामा सामुदायिक वनमा खर खडिया काटन गएकाहरुको अनुगमन गर्ने क्रममा स्थानिय भदै थारुलाई पनि बाघले आक्रमण गरेको थियो । उहाँ पनि बाघसँग लडनु भएको थियो ।

यसैगरी बर्दिया निकुञ्जले खरखडीया खुल्ला गरेका बेला गएको पुष २३ गते दुई बच्चा सहित निकुञ्ज भित्र खर काटन गएकी ठाकुरद्धाराकी एक महिलालाई बाघले आक्रमण गरी घाईते बनाएको थियो । उहाँ पनि केहीबेर बाघसँग लडेर ज्यान जोगाउन सफल हुनुभएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा हाल ५० वटा बयस्क पाटे बाघ रहेको निकुञ्जको तथ्याङ्क छ । हाल बर्दिया निकुञ्जमा गएको माघ ३ गतेदेखि क्यामरा ट्रयापिङ्ग प्रविधीबाट बाघ गणना भईरहेको छ । हरेक गणनामा बर्दिया निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ५ गते बुधबार