६ नम्बर प्रदेशलाई समृद्ध बनाउने यस्ता छन् एमाओवादी कार्ययोजना



३ माघ, काठमाडौं । ६ नम्बर प्रदेशको विकासका लागि एकीकृत नेकपा माओवादीले पहल गर्ने निर्णय गरेको छ । सुर्खेतमा बसेको एमाओवादी कर्णाली ६ नम्बर प्रदेश समितिको विस्तारित बैठकले विकास निर्माण, जनपरिचालनका साथै जिल्लागत रणनीतिक योजना अघि सारेको छ ।

६ नम्बर प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’को अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु र तय गरेका कार्ययोजनाहरु यसप्रकार छन् ।

१. जनसेवा तथा जनपरिचालनको काम 

क. सरकारी काम कार्वाहीहरुमा हुने ढिलासुस्ती, लापरवाही, विकास निर्माणमा हुने चुहावट र अनियमितता रोक्न एक संयन्त्र बनाई परिचालन गर्ने । कर्मचारीको अनुपस्थिति एवं सेवा प्रवाहमा जनतालाई परेको समस्याको समाधान गर्ने र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने ।

ख. यस क्षेत्रमा खडेरी परिरहेको र उत्पादनका दृष्टिले समेत न्यून उत्पादन भएको सन्दर्भसमेतलाई ध्यान दिँदै कर्णाली प्रदेशभित्रका जिल्लाहरुमा खाद्य अभाव हुन नदिन वषर्ातको पूर्व नै आवश्यक खाद्यान्नको संकलन गरी आपूर्ति गर्न सरकारलाई दवाव दिने ।

ग. कर्णाली प्रदेशभित्र रहेको स्वास्थ्य संकट योजनावद्ध रुपले समाधान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुदृढ गर्दै बजेट, प्रविधि र जनशक्ति व्यवस्था गर्नुको साथै विभिन्न जिल्लाहरुमा भिन्न भिन्न स्वास्थ्य सेवा एवं अनुसन्धान केन्द्रहरु स्थापना गर्न सरकारसँग माग गर्ने ।

घ. मध्यपश्चिम विश्वविद्यालयको क्षेत्र र परिभाषालाई थप स्पष्ट गर्दै मुख्य रुपले प्राविधिक शिक्षाको केन्द्र बनाउने । यस प्रदेशमा आवश्यक दक्ष जनशक्ति पैदा गर्न हाइड्रो पावर, जल व्यवस्थापन, पर्यटन, जडिबुटी, वन, कृषि, इन्जिनीयरिङ, स्वास्थ्य, योगा, संस्कृति-साहित्य, पर्यावरणलगायतका विषयहरुको अध्ययन अध्यापन गर्न विभिन्न जिल्लाहरुमा केन्द्र बनाई कलेजहरु स्थापना गर्न लागिपर्ने र आवश्यक बजेटको व्यवस्थाको लागि सरकार र अन्य क्षेत्रहरुमा समेत माग गर्ने । उपर्युक्त कामहरु संचालन गर्न पार्टीले जनचेतना, जनपरिचालन संयन्त्रहरु निर्माण गरी विभिन्न गोष्ठी, कार्यशाला गर्ने । सवै जनप्रतिनिधिरुलाई साथमा लिई सदनमा समेत आवाज उठाउने, जनदवाव दिने लगायतका संघर्षका कार्यक्रमहरु गरिनेछ ।

ङ. एनजीओ आइएनजीओहरुले प्राप्त गर्ने बजेट, सम्पन्न गर्ने योजना र उपलब्धिहरु वारे जनस्तरबाट अनुगमन गरी एनजीओ आइएनजीओहरुको कामलाई पारदर्शी र प्रभावकारी बनाउन मद्दत गर्ने । उपयुक्त कार्यहरुलाई व्यवस्थित गराई कार्यन्वयनमा भूमिका खेल्न बुद्धिजीवी, व्यवसायी, यूवा, जनप्रतिनिधिहरुका विभिन्न स्तरका अन्तरक्रिया र गोष्ठीहरु संचालन गर्ने जसमा पार्टीका केन्द्रीय प्रमुखहरुलाई समेत सहभागी गराउने ।

च. सूचना संचार एवं प्रचार प्रसारलाई व्यवस्थित गर्न र सरकारी प्रसारण गाउँ गाउँसम्म पुग्ने पूर्वाधार निर्माण गर्न सरकारसँग माग गर्ने ।

२.पूर्वाधार विकासका लागि रणनैतिक महत्वका योजनाहरु

क. भेरी करिडोर र कर्णाली करिडोरलाई मुल आधार मानी जलश्रोत, कृषि तथा पर्यटन क्षेत्रको विकास गर्ने । सोही करिडोरहरुमा विद्युत प्रसारण लाईनको निर्माण कार्य प्रारम्भ गर्ने ।

ख. मरिन-डोल्पा-सुर्खेत, नाग्मा-मुगु-सुर्खेत, हिल्सा-हुम्ला-सुर्खेत सडकहरु निर्माण गर्न केन्द्र सरकारसँग बजेटको माग गर्ने र अन्तराष्ट्रिय सहयोगको पहलको लागि सरकारलाई अनुरोध गर्ने

ग. मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने कार्य तत्काल सुरु गर्नको लागि पहल गर्ने ।

घ. दाङ-सुर्खेत-दिपायल उपत्यका लिङ्क रोडलगायतका सडकको निर्माण कार्य सम्पन्न तथा स्तरोन्नती गर्न सरकारसँग बजेट माग गर्ने ।

ङ. सामान्य काम प्रारम्भ भएका नलसिंङगाड, उत्तरगंगा जस्ता जलविद्युत उत्पादन योजनाहरुलाई संचालन गर्न सरकार, नीजि क्षेत्र, जिल्ला विकास समिति र जनतासमेतको स्वामित्व र शेयरसहितको कम्पनी निर्माण गरी कार्य सुरु गर्नुका साथै अन्य ठूला जलविद्युत आयोजनाहरुको सर्वे लगायतका कामहरु प्रारम्भ गर्ने ।

च. कर्णाली (६नं.) प्रादेशिक स्तरीय विद्युत विकास प्राधिकरण स्थापना गर्न माग गर्ने ।

छ. सुर्खेतमा एक प्रादेशिक स्तरको सभागृह निर्माण गर्न केन्द्र सरकारसँग बजेटको माग गर्ने ।

ज. सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको कार्य यथाशिघ्र अगाडि बढाउने ।

झ. सुर्खेतमा नेपाल आयल निगमको प्रादेशिक भण्डार स्थापना गर्न सरकारसँग माग गर्ने ।

ञ. सुर्खेत र सल्यानमा रहेका चुनढुङ्गाको उपयोग प्रदेशभित्रै गर्ने गरी सिमेन्ट उद्योग संचालन गर्न पहल गर्ने ।

३. पर्यटन पूर्वाधारबारे

स्थानीय व्यवसायी एवं अन्य लगानीकर्तासमेतको ध्यानाकर्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने । रारा, सेफोक्सुन्डो, कैलाश-मानसरोवर यात्रा, कमलदह, स्यार्पू, काँडादह, सिस्ने, चुली हिमाल, रमका, कान्जिरोवा, सिंजा, छायानाथ, काँक्रेविहार, कुसेपाटन नदाई दहलगायतका प्राकृतिक मनोरम दृश्य, कृषि पर्यटन, जडिबुटी, र्याफि्टिङ आदि पर्यटन क्षेत्रको योजनावद्ध विकास गर्न कणर्ाली पर्यटन बोर्ड गठन गर्न सरकारसँग माग गर्ने ।

४. जिल्लागत रणनैनीतिक योजनाबारे

क. जुम्लालाई उत्पादन प्रशिक्षण केन्द्रसहित एक सुन्दर शहरका रुपमा विकास गर्ने । सिंजा लगायत ऐतिहासिक स्थानहरुको महत्व बढाउने खालको परियोजना संचालन गर्ने ।

ख. हुम्लामा भोटे-लामाहरुको साँस्कृतिक परम्पराको रक्षा गर्दै पर्यटकीय क्षेत्र कैलाश पर्वतलाई ट्रान्जिटको रुपमा विकास गर्ने ।

ग. मुगुलाई विश्वकै सुन्दर प्राकृतिक आनन्दानुभूतिको केन्द्रका रुपमा रारालाई अगाडि बढाउने । छायानाथ जस्ता धार्मिक स्थानहरुलाई पर्यटन क्षेत्रको रुपमा प्रवर्द्धन गर्ने ।

घ. कालीकोटलाई वीरता र वलिदानी बोकेका ऐतिहासिक मोर्चाहरुको केन्द्र र वर्तमानमा वृहत जलविद्युत उत्पादनको धरोहरको रुपमा विकास गर्ने ।

ङ. डोल्पालाई कर्णाली प्रदेशको महत्वपूर्ण किल्लाका रुपमा उत्तरी समथर भूभागलाई सुख्खा बन्दरगाहका रुपमा विकास गर्ने ।

च. रुकुमलाई ऐतिहासिक जनयुद्धको आधार क्षेत्रको प्रतीकको रुपमा र वेरोजगारमुक्त जिल्लाको रुपमा विकास गर्ने ।

छ. सल्यानलाई कृषि उत्पादनको वैज्ञानिकरण र आधुनिकीकरण तथा व्यावसायिक केन्द्रका रुपमा विकास गर्ने ।

ज. जाजरकोटलाई जलश्रोतको पहिलो उत्पादन केन्द्रका रुपमा विकास गर्ने ।

झ. दैलेखलाई रुपान्तरणसहित जनसंवन्धलाई नयाँ उदाहरणका रुपमा विकास गर्दै प्राकृतिक ग्यासको खोजी र उत्खनन्को लागि पहल गर्ने ।

ञ. सुर्खेतलाई प्रदेशहरुको केन्द्रका रुपमा स्थापित गर्दै, पर्यावरणीय पक्षमा ध्यान दिने र रोजगारको केन्द्रका रुपमा विकास गर्ने ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ३ गते आइतबार