2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

संसदमा सरकार र भारतीय नाकाबन्दीविरुद्ध नाराबाजी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२  

२० मंसिर, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आइतबार पनि अवरुद्ध भएको छ ।

मधेसी मोर्चाका सांसदले बैठक सुरु हुनासाथ रोष्टम घेरेर नाराबाजी गरे । नेपाल मजदुर किसान पार्टीका सांसदले नाकाबन्दी र भारतीय हस्तक्षेपविरुद्ध आफ्नै स्थानमा उभिएर नारा लगाएका छन् ।

संसद बैठकलाई उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सम्बोधन गर्ने कार्यसूची थियो । सभामुख ओनसरी घर्तीले उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले सम्बोधन गर्न चाहनु भएको छ, आफ्नो स्थानमा बस्नुस् भन्दै सांसदहरुलाई आग्रह गरेकी थिइन् ।

तर, बैठकमा थापा नै उपस्थित थिएनन् । बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गर्न चाहेका थिए । तर, नाराबाजी भइरहेका कारण सभामुख घर्तीले उनलाई बोल्न दिएनन् ।

बैठकपछि खतिवडाले भारतको संसदमा नेपालबारे छलफल भएको भन्दै नेपालमा पनि भारतको नाकाबन्दीबारे छलफल गर्नु पर्ने माग गर्न लागेको बताए ।

मधेसी मोर्चा र नेमकिपाका सांसदहरुको नाराबाजीपछि संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२     4:02:23 PM  |