25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘असहिष्ण’ भारत, ‘देश द्रोही’ अमिर खान र सहिष्ण नेपाली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२  

 

दामोदर पौडेल

भारतिय सिमा सुरक्षाबल एस.एस.वि.ले मंसिर ९ गते बुधबार नेपाल भारत सिमा क्षेत्र दशगजाबाट ५०० मिटर भित्र रहेको सुनसरीको भन्टाबारीका चारजना नेपालीलाई गोलीहान गम्भीर घाईते बनाएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारीले वि.वि.सि.संगको अन्र्तवार्तामा भारतीय सुरक्षाकर्मीहरुले गल्ती स्वीकार गरेको बताएका छन् । स्वयंम घाईते हरुले समेत घरमा बसेर आगोतापीरहेको समयमा एक्कासी एसएसविका जवानहरु आएर गोली हानेको बताएका छन् । तर भारतीय दुतावासले तस्करहरुसंगको झडपमा आफ्नै भूमिमा हवाई फायर भएको र कोही पनि घाईते नभएको भन्दै उक्त घटनामा संलग्नता भएको अस्वीकार ग¥यो । नेपालको सिमामा छिरेर गरिएको भारतिय दादागिरी झनै बढेर गैरहेको
छ । आईतबार भारतीय सिमा शुरक्षाबलका १३ जना जवानलाई झापाका शसस्त्र प्रहरी जवानहरुले हतियार सहित नेपाली भुमिबाट गिरफ्तार गरेका छन् । विरगंजमा केहीदिन पहिले एकजना भारतीय आन्दोलनकारी युवकको गोलीलागि मृत्यु भयो । भारतले ‘नो म्यान्स ल्यान्ड’ अर्थात मान्छे बस्न नमिल्ने ठाउँमा मधेशी आन्दोलनकारीलाई धर्नागर्न दिएर आफ्नो देशका मालवाहक साधनलाई नेपाल छिर्न दिएको छैन् । यि केही घटनाहरुले नेपालको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डतामा गम्भीर खतरा पैदा भएको छ । भारतको यो नाङ्गो हस्तक्षेपको नेपाल सरकार, सांसदहरु र स्वाभिमानी आम नेपालीले विरोध गरिरहेका छन् ।
भारतले नेपालीहरुलाई पारवहन सुविधा तथा व्यापार समेत गर्न नदिएर स्वयं नेपालसँग गरेका सन्धी सम्झौताको खिल्ली उडाएको छ । विगत ६८ दिन देखि नेपालमा जारी नाकाबन्दीले नेपालीहरुको दैनिक जनजीवन अस्त व्यस्त बनेको छ । अस्पतालमा औषधी नभएर, अक्सिजन नभएर बिरामीहरु उपचारबाट बन्चित छन् । कयौंले ज्यान गुमाएका समाचार आईरहेका छन् । भुकम्पले आहात जनतामा राहात पुग्न सकेको छैन् । त्यसकारण भारतीय नाकाबन्दी पूर्णरुपले अमानविय छ । यो नेपाललाई गरेको हेपाहा र असहिष्ण व्यवहारको नाङ्गो पर्दशन पनि हो ।
भातीय शासकहरुको असहिष्ण व्यवहारले नेपालमा गरिएको नाका बन्दीको संसारभरीका न्याय प्रेमी समुदायबाटबाट भ्रत्सना भैरहेको छ । भारतमा विजेपी सरकार र यसको असहिष्ण व्यवहारको जनताले भ्रत्सना गरिरहेका छन् । भारतको लोकसभाका सिताराम येचुरी लगायतका दजर्न भन्दा धेरै सांसदहरुले लोकसभामा नै नाकाबन्दी गर्नुको कारणबारे बहस चलाएर नेपालमा भैरहेको नाकाबन्दी र भारतीय कुटनीतिक असफलताबारे बहस चलाएका छन् । विदेश मन्त्री शुष्मा स्वराजले सासदहरुको प्रश्नको जवाफ दिन नसकेर प्रधानमन्त्री मोदीसंगको छलफल पछि जवाफ दिने बताएकी
छन् ।
नेपालमा मधेशी समुदायका मागमा ‘गोहीका आँसु’ बगाई रहेको मोदी सरकार देशका अल्पसंख्यक मुस्लिम, नेपाली लगायतका समुदायप्रति असहिष्ण बनिरहेकोे त्यहाँका बुद्धिजीवी,कलाकार, साहित्यकार, अभिनेता, अभिनेत्रीहरुले बोलिरहेका छन् । उनीहरुले विगतमा आफूले सरकारबाट प्राप्त गरेका सम्मान तथा पदकहरु सरकारलाई नै फिर्ता गरेका छन् । अभिनेता साहारुख खानले सरकार असहिष्ण भएको अभिव्यक्ति दिएपछि उनलाई भारत छोडेर पाकिस्तान जान भारतीय जनता पार्टीका केही कट्टर हिन्दुवादी सांसद र राष्ट्रिय सवयंसेवक संघका कार्यकर्ताले चुनौति दिए । गोरखपुर विधानसभाबाट जितेका भाजपाका सांसद योगी आदित्यनाथले त खुलेआम ‘साहारुख खानले यस्तै रबैया देखाए उनी आम मुसलमान जस्तै गल्लीको कुकुरको हैसियतमा पुग्ने’ चेतावनी पनि दिए । मुसलमान समुदायलाई ‘गल्लीका कुकुर’संग तुलना गरेर पाकिस्तान जाने चेतावनी दिएपछि अल्पसंख्यक मुसलमान आक्रोसित बनेका छन् । अभिनेता साहारुख खानको अभिव्यक्तिले बेलायत भ्रमणमा गएका नरेन्द्र मोदीले बेलायती संसदमा समेत स्पष्टिकरण दिन बाध्य भएका थिए । अहिले फेरी अर्का मुस्लीम समुदायका चर्चित अभिनेता अमिरखानले ‘सरकारी असहिष्णताले निकै तनाबमा रहेको’ अभिव्यक्ति दिए । उनको अभिव्यक्तिमा भारतभरी समर्थन र विरोधका आन्दोलनहरु चर्किएका छन् । लोकसभामा त यही विषयलाई लिएर हङ्गामा मच्चिएको छ । अमिरले ‘केही दिन देखि परिवारमा निकै तनाब भएको र देश छोडेर कुनै अर्कोदेशमा जाने परिवारको सल्लाहाले आफु तनाबमा परेको’ अभिव्यक्ति दिएका थिए । यही विषयमा अमिरको घर अगाडि प्रदशन भएका छन् । उनलाई राज्य विप्लवको अपराधमा कार्बाही गर्नुपर्ने आर.एस.एस. र विजेपी समर्थकले आवाज उठाएका छन् । अदालतमा उनलाई ‘देशद्रोही’को आरोप लगाएर मुद्धा समेत दर्ता गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी गुजरातमा मुख्यमन्त्री भएको समयमा अलपसंख्यक मुसलमानहरुलाई नरसंहार गरेको र पछिल्ला दिनमा मुम्बई लगायतका भारतका विभिन्न ठाउँमा मुसलमान समुदायप्रति गरिएका घटनालाई विश्लेषण गर्दै उनको छवी ‘असहिष्ण’ नेताको रुपमा मुसलमानहरुले लिने गरेका छन् । उनी प्रधानमन्त्री बनेपछि भारतमा मुसलमान विरोधी गतिविधि ह्वात्तै बढेको अल्पसंख्यकहरुले बताउँदै आएका छन् ।
अहिले भारतीय चलचित्र उद्योगमा काम गर्ने सयौं कलाकारहरुले नेपालमा मोदी सरकारले लगाएको नाकाबन्दीलाई समेत अमानविय र असहिष्ण भन्दै तुरुन्त गल्ती सच्चाएर नाकाबन्दी खोल्न आव्हान गरिरहेका छन् । तसर्थ भारत अर्को देशको आन्तरिक मामलामा समस्याको जुम्रा खोज्दै हिडिरहेको छ । तर आफ्नो देशमा समस्याको चाङलाई नजरअन्दाज गर्दै भैंसी पनि नदेख्ने महारोगबाट ग्रसित छ । भारतको दार्जलिङ, कास्मिर, नागालैन्ड, असाम, मिजोरोम, गुजरातका जनतालाई भने यही मुद्धामा सम्वोधन नगर्ने र भुटानमा नेपाली भाषि समुदायलाई दमन गरेर धपाउँदा पनि चुँ बोल्दैन । बरु मतियार बन्दै भुटानसंग मिलेर नेपालीलाई भारतको सिमाना कटाएर नेपाल धपाउँछ । मोदी सरकार उनकै भूमी गुजरातमा भएको पटेल आन्दोलनलाई बन्दुकले तह लगाउँदै छ तर नेपालको आन्तरिक मामलामा लोकतन्त्रको समान्य विधिको पनि खिल्ली उडाउँदै छ ।
नेपालमा तिन चार पटक नाकाबन्दी गरेर विगतमा पनि उसले लोकतान्त्रीक चरित्रमा कालो पोतिसकेको छ । यो पटकको नाकाबन्दीमा दशगजामै टेकेर मधेशी समुदायको काँधमा बन्दुक राखेर निसाना लगाई रहेको छ । भारत सकेसम्म नियन्त्रीत अस्थिरतालाई कायम राखेर आफ्नो ‘छायाँ प्रदेश’ नेपाललाई बनाउने कसरतमा छ । सके ‘सिक्कीमीकरण’ गर्ने त्यो नसके ‘भुटानी करण’ गरेर नेपालको प्राकृतिक स्रोत र व्यापारलाई भारतको पकडबाट फुत्कन नदिने दाउमा छ । त्यसैले भारतीय अल्पसंख्यकको आवाजमा हामीले पनि समर्थन गर्न आवश्यक छ । असहिष्ण मोदी सरकारको सर्वत्र विरोध हुनै पर्दछ ।
मधेश आन्दोलनले १०० दिन पार गरिसकेको छ । तर यतिलामो समयसम्म पनि यसले उचित निकास पाउन सकेको छैन् । तथापी यो आन्दोलनले जातिय सद्भाव खल्बलिन दिएको छैन् । त्यसैले सरकार र आन्दोलन कारीदलहरुले नेपालको आन्तरिक समस्या सुल्झाउन हदैसम्मको लचिलो हुन आवश्यक
छ । मधेश आन्दोलन र मधेशी समुदायका उचित मागलाई पनि विखण्डनवादी चस्माले हेर्नु कुनै पनि अर्थमा उचित छैन् । पछिल्ला तिन दिनमा यो आन्दोलनमा देखिएका प्रवृत्तिहरुले यो आन्दोलनमा स्वार्थका रोटी सेक्ने तत्वहरुले साम्प्रदायिक सद्भाव विथोलेर, हिंसा बढाउन सक्रिय हुन थालेको संकेत देखिन्छ । बिहिबार सिमावर्ति भारतिय बजारबाट पेट्रोल ल्याएर आएका मोरङका एकजना युवकलाई मधेशका सिमामा पेट्रोल खनाएर जिउँदै आगो लगाउनु, शुक्रबार इटहरीमा मधेसी मोर्चाको आन्दोलनमा स्थानियद्धारा विरोध गर्दै मञ्च लगायतका समाग्री जलायर सभा विथोलिनु र मधेशी नेताहरुलाई सम्बोधन गर्नबाट बन्चित गरिनु तथा शनिबार मधेश आन्दोलनको समर्थनमा निकालिएको नेपाली काँग्रेसको जुलुसमा हमला गरेर मधेश आन्दोलनमा घुसेको भन्दै काँग्रेसको झण्डा, व्यानर विरगंजमा जलाउनुले नेपाली जनतालाई पनि असहिष्णुताको दुष्चक्रमा फसाउने कुत्सित खेलको रिहल्सनको रुपमा लिन सकिन्छ । तराईमा सत्तारुढदलका नेताहरुलाई छिर्नै नदिने र पहाडी बाहुल्य क्षेत्रमा मधेशका नेतालाई रोक लगाउने कदम सहिष्ण आम नेपालीलाई स्वीकार्य
छैन् । जात जाती, धर्म र भुगोलमा बस्ने नेपालीहरुको सामाजिक सद्भाव विथोल्ने, नेपाललाई साम्प्रदायिक द्वन्द्वको भुमरीमा धकेल्ने षडयन्त्रबाट पहाडी, मधेशी, हिमाली सबै समुदाय बेलैमा सजग हुन जरुरी छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२     1:22:13 PM  |