25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

बिदेशबाट दैनिक तीनजना नेपाली बाकसमा फर्कन्छन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २७, २०७२  

काठमाडौं, मंसिर २७ । बाँके, उढरनपुर–२ शान्तिनगरका नरबहादुर बस्नेतको तीन महिना अघि साउदी अरबमा मृत्यु भयो । साउदीको ‘मुसा’ नामक कम्पनीमा काम गरेर कोठा फर्केलगत्तै नरबहादुरको मृत्यु भएको कम्पनीले परिवारजनलाई जानकारी गरायो ।

भदौ ११ गते कम्पनीले नरबहादुर काम गरेर कोठामा फर्केपछि सुतेको सुत्यै भएकोपरिवारलाई जानकारी दिनुबाहेक अरु कुनै खबर गरेको छैन । नरबहादुरका मितभाइ हस्तबहादुर विकले कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि अझै मृत्युको कारण खुल्न नसकेको बताए ।

‘६ महिनाअघि घर छाड्ने बेला शारीरिक रुपमा तन्दुरुस्त नरबहादुरको त्यहाँ कडा काम गर्नुपरेकै कारण मृत्यु भएको आशंका गरेका छौ’, हस्तबहादुरले भने ।

दश दिनअघि संयुक्त अरब इमिरेट्समा मृत्यु भएका गोरखा, फुजेलका ३८ बर्षीय कृष्णबहादुर  पोखरेलको शव मंसिर २२ गते नेपाल ल्याइयो । उनका भाइ परशुरामका अनुसार मुटुसम्बन्धी समस्याले कृष्णप्रसादको मृत्नयु भएको हो ।

‘कृष्णप्रसादको मृत्युले दुई सन्तानका शिक्षादीक्षा र पत्नीको जिउने आधार खोसेको छ’, त्रिभुवन विमानस्थलमा दाइको शव बुझने क्रममा परशुरामले दुःखेसो पोखे ।

बैदेशिक रोजगारका लागि कृष्णप्रसाद तीनबर्ष अघि संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीदेखि १ सय ६० किलोमिटर टाढाको अल एन हसर पुगेका थिए । बैदेशिक रोजगारीमा युवायुवतीको आकर्षण बढेसँगै गन्तब्य मुलुकमा ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दो छ ।

श्रम गर्ने उमेर उमेरका युवायुवतीले विदेशी भूमिमा ज्यान गुमाउने संख्या निरन्तर बढिरहँदा नेपालमा बैदेशिक रोजगारीको बैकल्पिक व्यवस्थाबारे गम्भीर छलफल हुन नसकेको खबर आइतबारको नागरिक दैनिकमा रुद्र खड्काले समाचार लेखेका छन् ।

बैदेशिक रोजगार प्रबद्र्धन बोर्डका अनुसार आर्थिक बर्ष २०७१/०७२ मा कामको खोजीमा खाडी मुलुक र मलेसिया पुगेका १८ देखि ४५ बर्ष उमेर समुहका एकहजार दुई जना कामदारले ज्यान गुमाए ।

अधिकांश कामदार सडक दुर्घटना, मुटुसम्बन्धी समस्या तथा कार्यस्थलमा काम गर्दागर्दै मृत्यु भएको पाइन्छ । जबकि सोही अवधिमा तिनै मुलुकमा प्राकृतिक कारणले मृत्यु हुनेको संख्या २ सय ४५ मात्र थियो ।

बोडका अनुसार सोही बर्ष सबभन्दा बढी मुटुसम्बन्धी समस्याले ३ सय ५७ कामलदारको ज्यान गयो । त्यस्तै सडक दुर्घटनामा एकसय १९, कार्यस्थलमा एक सय १४ जनाको मृत्यु भएको आर्थिक बर्ष २०७१/०७२ मा बैदेशिक रोजगारीमा रहेका एक सय १२ कामदारले आत्महत्या गरे ।

बोर्डका कर्मचारीका अनुसार एक बर्षयता दैनिक सरदर तीनवटा शव नेपाल भित्रिंदा पनि बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने गतिलो प्रयास हुन सकेको छैन ।

प्रकाशित मितिः आइतवार, मंसिर २७, २०७२     9:58:03 AM  |