2 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

के सोच्दैछन् मधेसमा बस्ने पहाडिया ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर १४, २०७२  

pandey-basti-ko-ek-gharDSC_6647सर्लाही – रामेछापको बेथानबाट चार दशकअघि सर्लाहीको कर्मैया आएर बस्न थालेका राम पाण्डे तराई–मधेसको लामो आन्दोलनबाट दिक्क भइसकेका छन् । कर्मैया क्षेत्रमा पहाडी समुदायको बाहुल्य भएकाले विद्यालय र बजार खुलेका छन्, तर राजमार्ग ठप्प छ ।
खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका पाण्डे तराई आन्दोलनका हरेक घटनाबारे अपडेट छन् । केही दिनअघि कर्मैया–५ पशुपतिनगरका विद्यालय र पसल बन्द गराउन आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई त्यहाँका युवाले लखेटेका थिए । त्यसपछि बन्दकर्ताहरू सो क्षेत्रमा देखापरेका छैनन् ।
तीन महिनाभन्दा लामो समयदेखि चलेको आन्दोलनलाई राम पाण्डेले ‘बेफ्वाँकको आन्दोनल’ भएको बताए । उनले भने, ‘सीमित नेताको स्वार्थका लागि भएको बेफ्वाँकको आन्दोलन हो यो ।’ नयाँ संविधानले हिमाल, पहाड र तराईमा बस्नेहरूलाई समान अधिकार दिएको जिकिर गर्दै उनले भने, ‘कसरी पाएका छैनन्, उनीहरूले अधिकार ?’
सीमांकनको सवालमा आफूहरू पहाडी जिल्लासँग जोडिन चाहेको बताउँछन् पाण्डे । भन्छन्, ‘हामीलाई पहाडी प्रदेशसँग मिसाउनुपथ्र्यो, किन हामीलाई पहाडसँग नजोडेको ? हामी दोलखासँग जोडिन चाहन्थ्यौँ ?’ आन्दोलनकारीसँग असहमति भए पनि कर्मैया गाविसमा पहाडे र मधेसी भनेर हेलाँहोँचो गर्ने काम नभएको बताउँछन् उनी ।

कर्मैयाको पशुपतिनगरमा रामेछाप लगायत पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरू बाक्लै भेटिन्छन् । त्यही गाविसको ५ नम्बर वडामा पाण्डेको बाहुल्य भएको टोललाई पाण्डेटोल भनिन्छ । सोही पाण्डेटोलमा भेटिए, प्रकाशजंग पाण्डे ।
प्रकाशजंगले स्नातक सिध्याएका छन् । सरकारी जागिरको चक्करमा रहेका उनी भन्दै थिए, ‘समानुपातिक कोटा सिस्टमले गर्दा हामीजस्ताले जागिर खान निकै गाह्रो भइसक्यो, यो समानुपातिकको कोटा नछुट्याए हुन्छ ।’
मधेसमा पहाडी समुदाय अल्पसंख्यक भएको उल्लेख गर्दै प्रकाशजंगले भने, ‘मधेसका बहुसंख्यकले कोटा पाउने, हामीले नपाउने ? यो जानाजान अन्याय भयो ।’ आफूहरू पनि मधेसी भूमिमा बसेको अल्पसंख्यक समुदाय भएकाले कोटा खोज्दै थिए उनी । मधेसको आन्दोलनबारे टिप्पणी गर्दै पाण्डेले भने, ‘आन्दोलनको माग स्पष्ट छैन, अस्पष्ट माग राखेर हुने आन्दोलन कसरी ठीक हुन्छ ?’
ज्ञानबहादुर पाण्डे कर्मैया झरेको ३७ वर्षभन्दा बढी भइसकेको छ । तराईमा खेतीपातीलाई मुख्य पेसा बनाएका पाण्डेले डिजेल महँगो भएपछि खेत जोत्न पाएका छैनन् । ‘एक लिटर डिजेलको दुई सय ५५ रुपैयाँ भन्न थाले, ग्यास उस्तै महँगो भएको छ,’ उनले भने, ‘यो आन्दोलनले कालोबजारी औधि बढेको छ ।’

कर्मैयामा बस्ने मधेसी समुदायले पहाडी समुदायसँग खासै निहुँ नखोजे पनि मधेस प्रान्त भएमा पहाडी समुदाय थिचोमिचोमा पर्न सक्नेतर्फ संकेत गर्दै ज्ञानबहादुरले भने, ‘सर्लाही मधेस प्रान्त बनेमा हाम्रो कुरा कसले सुन्छ ?’
तराई आन्दोलनको असर स्कुले विद्यार्थीमा पनि परेको छ । कर्मैयाको मोर्डन युरिका एकेडेमीमा कक्षा ८ मा पढ्ने योजना पाण्डे आन्दोलन बेठीक भएको बताउँछिन् । ‘हाम्रो स्कुल २–४ दिन बन्द भएको थियो, अहिले पर्ढा हुन्छ, तर हामीले खाने सामान महँगो भएको छ ।’yojana-pandey-DSC_6657-1तराई–मधेसमा आन्दोलन सुरु भएयता पहाडी र मधेसी भन्ने साम्प्रदायिकता सुरु भएको छैन, तर त्यसको संकेत देखापर्न थालेको छ । केही दिनअघि सर्लाहीकै फुलजोरमा चुरेभावर पार्टीका समर्थक र मधेसी आन्दोलनकारीबीच झडप भएपछि त्यस्तो संकेत देखापरेको बताइएको छ । फुलजोर झडपपछि मलंगवा नजिकको बोर्डरमा पेट्रोलियम पदार्थ लिन जाने पहाडी समुदाय त्यता जान छाडेका छन् । मलंगवामा आन्दोलन चर्काइरहेका एक मधेसी नेताले भने, ‘फुलजोर घटनापछि पहाडी समुदायका मान्छेहरू यता आउन सकेका छैनन् ।’ पट्यारलाग्दो आन्दोलनका कारण साम्प्रदायिकता भड्कनबाट रोक्नेतिर सरकार र आन्दोलनकारी दुवै सचेत हुन जरुरी छ ।

प्रकाशित मितिः सोमवार, मंसिर १४, २०७२     5:15:34 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *