नागरिकलाई शापू रोगबाट बचाइराख्न पूर्वतयारी



सुर्खेत ।

कर्णालीवासीलाई शापू रोगबाट बचाइराख्ने विषयमा छलफलसँगै पूर्वतयारीको काम थालिएको छ । शापू रोगसम्बन्धी कर्णालीका सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रम गर्दै यसको पूर्वतयारी थालिएको हो । नेपाल रेडक्रस सोसाइटी सुर्खेत, आँखा अस्पताल र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा अभिमुखीकरण सम्पन्न गर्दै पूर्वतयारीका काम थालिएको निर्देशनालयकी मानकुमारी गुरुङले बताइन् ।

शापू रोगबारे नागरिकलाई जानकारी दिन र यसबाट बच्न पूर्वतयारी स्वरुप कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिइन् । आँखा अस्पतालमा कार्यरत आँखा रोग विशषेज्ञ आकांक्षा रानाले सेतो पुतलीबाट शापू रोग सर्ने जानकारी दिँदै यसबाट सावधानी अपनाए शापूको रोकथाम हुने बताइन् । ‘शापू एक दृष्टिनाशक रोग हो । प्रायः वर्षा यामपछि भदौदेखि मंसिर महिनासम्म विशेषगरी नेपालको मध्यपहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ,’ उनले भनिन्, ‘यो रोगको लक्षणहरू देखापरेको २४ देखि ४८ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।’

उनका अनुसार कर्णाली प्रदेशमा हालसम्म शापू रोगका बिरामी देखिएका छैनन् । हालसम्म सेतो पुतली (मोथ)लाई शापूको कारक मानिएको छ । तर कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको उनले बताइन् । उनले थपिन्, ‘अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ । एक्कासि एउटा आँखा रातो हुनु, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्कालै कमी हुनु, आँखा दुख्नु र उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु शापू रोगका लक्षणहरू हुन् ।’

शापूको रोकथामका लागि सेतो पुतलीको संसर्गबाट टाढै रहने, धेरै उज्यालो सेतो बत्ती नबाल्ने, साँझ र राति झ्याल ढोका बन्द गर्ने, झ्याल ढोकामा जाली हाल्ने र सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर मात्र सुत्न अनुरोध गरिएको छ । ‘समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ,’ डा. रानाले भनिन्, ‘यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऔँ । आफूखुसी औषधि वा जडिबुटीको प्रयोग नगरौँ ।’

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले तथ्यांकमा नआएपनि कर्णालीमा शापू रोगका बिरामी हुनसक्ने बताए । शापू रोग पहिचानकै लागि छुट्टै शिविर तथा परीक्षण नभएकोले कर्णालीमा शापू रोग छैन भनेर लापरवाही गर्न नहुने उनको भनाइ छ ।नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले शापू रोगबाट बच्न सबै सचेत हुनुपर्ने भन्दै कर्णाली प्रदेशमा यो रोगका बिरामी हुनसक्ने दाबी गरे ।

उनले यो कार्यक्रमलाई ध्यान दिएर सेवालाई थप प्रभावकारी बनाउन आँखा अस्पतालको ध्यानाकर्षण भएको उल्लेख गरे । पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशिलराज शर्माले रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नदिनबाटै बचाउनु महत्वपूर्ण रहेको बताए । उनले भने, ‘कर्णालीका कोही कसैलाई पनि यो रोग नलागोस्, यसरी नै पूर्वतयारीका कार्यक्रम जारी राख्नुपर्छ । सबै नागरिक पनि सचेत हुन जरुरी छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार