सम्पादकीयः बीमाको रकम शोधभर्ना गर्न आवश्यक



स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा बापतको रकम भुक्तानी नगर्दा देशैभरका ठुला अस्पतालहरू समस्यामा परेका छन् । बीमा बोर्डले विभिन्न अस्पतालहरूलाई करोडौँ अर्बौँ रूपैयाँँ रकम बीमा बापतको भुक्तानी गर्नुपर्ने देखिन्छ । बीमा बापतको रकम भुक्तानी नहुँदा कैयौँ अस्पतालहरू सञ्चालनमा समेत अप्ठ्यारो स्थिति देखापरेको छ । अस्पतालहरूले बिमित बिरामीहरूलाई मागअनुसारको औषधिसमेत प्रदान गर्ने अवस्थामा देखिँदैनन् । दूरदराजका बिरामीहरू सहरका अस्पतालमा पटक पटक औषधि लिन जाँदा उनीहरूको समय र खर्चमा समेत वृद्धि हुनेहुँदा बिरामी समेत मर्कामा परेको देखिन्छ । अस्पतालले आफूले खरिद गरेको औषधि स्वास्थ्य बीमा दाबी गर्न आउने बिरामीहरूलाई दिन्छन्, अन्य जाँचपड्तालमा लाग्ने खर्च पनि बीमाअनुसार छुट दिइन्छ तर, बीमा बोर्डले पुराना वर्षका बीमा बापत अस्पतालले दिएको सेवाको शोधभर्ना रकम नपठाउँदा भने अस्पतालहरू सञ्चालनमा कठिनाइ आउनुका साथै बिमित बिरामीहरूले पनि बारबार अस्पतालको फार्मेसीमा पुग्नुपर्ने र औषधि नपाएपछि बाहिर निजी मेडिकलहरूबाट महंगोमा औषधि खरिद गर्न बाध्य भएका छन् ।

अहिले अस्पतालहरू उक्त रकमको अभावमा समस्यामा देखिन्छन् । जेनतेन शुल्कबाट सञ्चालन हुने सरकारी अस्पतालहरू स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा संकट झेलिरहेका छन् । सहरका ठुला अस्पतालदेखि ग्रामीण क्षेत्रका अस्पतालहरू पनि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाएर समस्या झेलिरहेका पाइन्छन् । सीमित आम्दानी हुने अस्पतालमा पनि ठुलो रकमको औषधि र सेवाको शुल्क छुट दिनुपर्दा र उक्त रकम शोधभर्ना नहुँदा अस्पताल व्यवस्थापन आर्थिक चापमा देखिन्छन् । अस्पतालहरूले औषधि आपूर्तिकर्तालाई कसरी रिझाउने भन्नेमा छन् । पटक पटक उधारो औषधि दिएका आपूर्तिकर्ताहरूले पछिल्लो समय रकम भुक्तानीका लागि तारन्तार ताकेता गरिरहेका देखिन्छन् ।

अस्पतालहरूले आपूर्तिकर्ताहरूलाई पटक पटक उधारो माग्दा उनीहरूले भनेकै बेलामा सेवा दिन नसक्ने अवस्था छ । कतिपय बीमामा उल्लेखित औषधिहरू अस्पतालका फार्मेसीहरूमा पाउन छाडेका छन् । बीमा बोर्डले समयमै सम्बन्धित अस्पतालहरूलाई रकम भुक्तानी नगर्दा एकातिर अस्पताल अस्तव्यस्त बन्ने देखिन्छ भने अर्कोतर्फ बिमित बिरामीहरूले पनि अनावश्यक झञ्झट र आर्थिक व्यवभार बोक्न बाध्य छन् । तसर्थ तत्काल यसतर्फ स्वास्थ्य बीमा बोर्डको ध्यानाकर्षण हुनु जरुरी छ । यथाशक्य चाँडो अस्पतालहरूका बीमा बापतका रकम शोधभर्ना गर्न गम्भीर बन्न आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार