भदौमा स्ट्याग ग्लोबल च्याम्पियनसिप लिग टेबलटेनिस



काठमाडौँ ।

स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्टयाग ग्लोबल च्याम्पियन्स लिग सिजन थ्री आउने भदौमा हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुने यस प्रतियोगिता भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यसपटक टिम सङ्ख्या देखि पुरस्कार राशी पनि बढेको आयोजकले जनाएको छ ।

गत संस्करणमा ८ टिमले खेलेकोमा यसपटक १० टिमले प्रतिस्पर्धा गर्नेछन् । स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक तथा पूर्वराष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले यस पटक धेरै फरक रहेको बताइन् । उनले भनिन्, ‘तेस्रो सिजन ग्राण्ड हुनेछ । भेन्यु पूर्णरूपमा फरक हुनेछ । लाइटिङलगायत कुराहरू फरक हुनेछ । स्टलहरू हुनेछ । गत वर्ष पुरस्कार ४ लाख रहेकोमा यस पटक ६ लाख पुगेको छ । यो फरक हो ।’ श्रेष्ठले यस सिजन भारतसहित चीन पाकिस्तान र ताइवानबाट खेलाडीहरू आउने जानकारी दिइन् ।

छ दिनसम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा याला टेबलटेनिस, होप्स टेबल टेनिस एकेडेमी, एभीएम टेबल टेनिस क्लब, द ड्रागन्स टेबल टेनिस क्लब, कीर्तिपुर नगरपालिका, भर्टेक्स नेपाल टेबल टेनिस क्लब, ओल्ड हाउस रेस्ट्रो, टप स्पीन टेबल टेनिस गुड्स नेपाल, खोल्चा पुखु खेलकुद समिति र आयोजक स्टाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी जम्मा १० टिमले सहभागिता जनाउने छन् । लिगमा सहभागी हुने हरेक टिममा एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ३० लाख रूपैयाँँ रहेको छ । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. तीन लाख रूपैयाँँसहित रनिङ्ग ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले नगद रु. एक लाख पचास हजार रूपैयाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् र तृतीय हुने (दुवै सेमिफाइनलिष्ट) टिमले नगद रु. पचहत्तर हजार रूपैयाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा स्ट्याग ग्लोबल, सहप्रायोजकमा समाजसेवी तथा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल शेपर्स, मेटलवूड नेपाल, बागमती प्रदेश खेलकुद विकास परिषद्, डेल्टा अटोकर्फ, सेलट्रोन नेपाल प्रालि र कल मोबिलिटी प्रालि (हुआवेई) रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार