सम्पादकीयः बाढीमा बेपत्ता नागरिकको उद्धारमा पहल गर



भारतीय सञ्चारमाध्यमका अनुसार गत साउन २० गते भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्ला धराली गाउँ÷बजारमा आएको भीषण बाढीपहिरोमा परी केही नागरिकको मृत्यु भएको छ भने पाँच दर्जनबढी नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हालसम्म जानकारीमा आएअनुसार नेपाली नागरिकहरू पनि रहेका छन् । अहिलेसम्म जानकारीमा आएअनुसार बर्दिया जिल्लाका चार जना तथा जाजरकोटका १३ जना बेपत्ता रहेका छन् । अधिकांश नेपाली नागरिकको परिचय तथा पूर्ण ठेगाना खुल्न सकेको छैन् । आकस्मिक आएको बाढीपहिरोमा बेपत्ता हुने नेपाली नागरिकहरू त्यहाँ दैनिक मजदुरी गरिरहेका थिए । हाल भारत सरकारले खोजी तथा उद्धार कार्य जारी राखेको छ । हाल उक्त क्षेत्रमा सञ्चार र विद्युत्को पहुँच नभएका कारण सम्पर्क पहुँचमार्ग बन्द छ । नेपाल सरकारले आफ्ना नागरिकहरू के कति सङ्ख्यामा त्यहाँ परे रु अवस्था के छ भन्ने कुरा आफ्नो च्यानतमार्फत तत्काल अगाडि बढाएर पीडित नागरिकका परिवारलाई जानकारी गराउन पहल गर्न जरुरी छ। परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल गरेर नेपाली नागरिकहरूको अवस्थाका बारेमा जानकारी लिन आवश्यक छ ।

मृत्यु भइसकेका नागरिकका परिवारलाई आवश्यक राहतको व्यवस्था गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारको ध्यानाकर्षण हुनु जरुरी छ । बर्दिया र जाजरकोटका जनप्रतिनिधिहरूले आफ्ना नागरिक उक्त घटनामा परेर बेपत्ता भएको यकिन गरिसकेका छन् । जाजरकोटको कुशे गाउँपालिकाले घटनाप्रति दुःख व्यक्त गरेको छ । बाढी तथा पहिरोमा परेर कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेको उनीहरू हराएको हुनसक्ने आशंका सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएकोले हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई दु्रत प्रभावकारी बनाउन आग्रह गरेर उक्त गाउँपालिकाले आफ्ना नागरिक बेपत्ता भएको पुष्टि गरेको छ । आफ्ना नागरिकहरू पीडित बनिरहेका बेलामा सरकारले द्रुत गतिबाट प्रभावकारी ढंगबाट काम गरेर सबै नागरिकको अवस्थाका बारेमा प्रष्ट पार्न जरुरी छ । घाइते बनेका नागरिकहरूलाई स्वास्थ्यपोचारको व्यवस्था तथा बेपत्ता नागरिकको खोजी कार्यका लागि आवश्यक पहलकदमी लिएर तत्काल कदम बढाउन आवश्यक देखिन्छ ।

नेपालीले देशभित्रै मात्र नभएर देशबाहिर रोजगारीका लागि गएका अवस्थामा समेत यस्तो दुःखद अवस्था व्यहोर्नु अत्यन्तै पीडादायी घटना हो । देशमा रोजगारीका अवस्था सिर्जना भएको भए आफ्नो र परिवारका सदस्यको पेट भर्नका लागि सर्वसाधारण विदेसिने थिएनन् होला । देशमा भइरहेको अन्याय, अत्याचार, भ्रष्टाचार तथा कुर्सी जोगाउने राजनीतिले गर्दा हरेकदिन हजारौँ नागरिकहरू विदेसिनु परेको छ । देशमै कलकारखाना, उद्योग स्थापना भएका भए सायद ती नागरिकहरूले यहीँ काम पाउँथे र देशमै बस्ने वातावरण बन्थ्यो । कृषिमा आवश्यक लगानी गरेर विदेसिने श्रमशक्तिलाई देशमै रोक्न सक्ने अवस्था भएको भए सायद विदेशमा हुने यसप्रकारका प्राकृतिक विपत्तिबाट नेपालीहरूको ज्यान जाने थिएन होला । देशमा रोजगारी सिर्जनाको अवसर नभएपछि बिदेसिने नेपाली नागरिकहरू विदेशी भूमिमा घाइते, बेपत्ता तथा मृत्युवरण गर्न परिरहेको दुःखद परिदृश्य छ । यो घटनामा मात्र नभएर अन्य देशमा हुने घटनामा परेर मृत्यु हुने बेपत्ता हुने नेपाली नागरिकहरूको एउटा कारण देशमा रोजगारी नहुनु पनि हो । रोजगारीका लागि विदेश पुग्ने गरेका कैयौँ नेपाली नागरिकहरूले विभिन्न घटनामा परी अकालमा ज्यान गुमाउनु परेको छ भने कैयौँ नागरिक बेपत्ता छन् । कैयौँ अंगभंग भएर घाइते बनेका छन् । देशमै रोजगारीको अवस्था सिर्जना गरेर नेपाली नागरिकलाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने हो भने यसप्रकारका विपत्तिमा परेर विदेशमा नेपाली नागरिकले ज्यान गुमाउने, घाइते हुने तथा बेपत्ता हुनुपर्ने थिएन । धराली बाढीपहिरो घटनामा बेपत्ता भएका नेपाली नागरिकहरूको यथाशक्य शीघ्र अवस्था पत्ता लगाएर उद्धार, उपचार तथा राहतको व्यवस्था गर्न सरकारको पहल हुनु जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार