शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । नेकपा एमालेको समर्थनमा २० साउन २०८१ मा मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले मंगलबार एक वर्षको कार्यकाल पूरा गरेका हुन् । प्रदेश सरकारले एक वर्ष पूरा भएको अवसरमा कार्यप्रगति समेत सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलमा आयोजना गरिएको कार्यक्रमकाबीच मुख्यमन्त्री शाहले एक वर्षमा भएका महत्वपूर्ण उपलब्धीको विवरण भन्दै ३६ बुँदामा सार्वजनिक गरेका छन् ।
प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले अनेक चुनौती र कठिनाइको सामाना गर्दै आर्थिक वर्ष २०८१–०८२ मा खर्च गर्ने क्षमता वृद्धि गरेर ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएको भन्दै सरकारको अहिलेसम्मकै उच्च उपलब्धी भनेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा सबै प्रदेश मध्ये ५१.६ प्रतिशत अंक प्राप्त गर्दै सुदूरपश्चिम पहिलो बन्नु, प्रदेशलाई साक्षर घोषण गरिनु, एसियाली विकास बैँकले लगानी तथा विकास सम्मेलन सफल बनाउन लागत साझेदारी र अन्य सहयोग गर्न प्रतिबद्धता जनाएको लगायतलाई समेत महत्वपूर्ण उपलब्धिका रूपमा राखिएको छ ।
एक वर्षको अवधिमा प्रदेश सरकारले तीन सय ५५ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको मुख्यमन्त्री शाहले बताए । उनकाअनुसार १०६ किलोमिटर सडक कालोपत्रे, १०३ किलोमिटर ग्राभेल र १४६ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ । सतही, भूमिगत र नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणालीबाट एक हजार ६२८ हेक्टर जमिनमा सिँचाइ सुविधा थप गरिएको र मर्मत कार्यबाट १३ हजार ९४७ हेक्टर जमिनमा सिँचाइ सुविधालाई पुनः स्थापना गरिएको उनले बताए ।
बाढीबाट बस्ती तथा खेतियोग्य भूमि जोगाउन २७ किलोमिटर तटबन्ध निर्माण, खानेपानीका ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, दुई हजार १३३ किलोमिटर पाइपलाइन जडान गरेर ११ हजार ९३९ निजी धारा जडान गर्दै एक लाख ३ हजार ५२४ जनसङ्ख्यालाई खानेपानी सुविधा विस्तार गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । अछामको बयलपाटा अस्पताल, कैलालीको लम्कीचुहा र डडेल्धुराको जोगबुढा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न प्रक्रिया अघि बढाइएको, कृषि अनुदानमार्फत १५१ जना किसानलाई ९७ लाख ४१ हजार रकम उपलब्ध गराएको, उक्त कार्यक्रमबाट व्यवसायिक कृषकहरूबाट २३ करोड ४७ लाख ३२ हजार थप लगानी भएको, कृषि मन्त्रालयबाट एक हजार ५४७ साना सिँचाइ योजनामार्फत ३७८ हेक्टरमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ ।
१६ लाख २९ हजार २२८ बाख्रा, गाई, भैँसीमा कृत्रिम गर्भाधान गरिएको र एक लाख ३२ हजार पशुपन्छीलाई उपचार सेवा, दुई लाख ६७ हजार पशुचौपायालाई खोप सेवा प्रदान गरिएको छ । प्रदेशभित्र स्थापना हुने २८ वटा उद्योगको प्रारम्भिक वातावरणीय मूल्यांकन स्वीकृत गरिएको, १४ लाख ४७ हजार विरुवा उत्पादन गरि १२२ हेक्टरमा वृक्षारोपण गरिएको कुरालाई पनि प्रगती विवरणमा राखिएको छ । निःशुल्क रक्तसेवा अन्र्तगत एक हजार १८७ जनालाई दुई हजार १४८ पिन्ट निःशुल्क रगत उपलब्ध गरेको, आर्थिक रूपले विपन्न ६४५ जनालाई उपचार सहायता गरिएको, प्रदेशभर ३१ स्थानमा धार्मिक मठमन्दिर निर्माण, ९ वटा पर्यटकीय पार्क निर्माण गरिएको कुरालाई समेत महत्वपूर्ण उपलब्धीमा राखिएको छ ।
आफ्नो नेतृत्वको प्रदेश सरकारले एक वर्ष पूरा गरेपछि मुख्यमन्त्री शाहले मंगलबार पत्रकार सम्मेलन गर्दै ३५ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् । ‘मेरो नेतृत्वको सरकारको एक वर्षको अवधि राजनीतिक एवं शासकीय दृष्टिकोणबाट सफल रहेको महसुस गरेको छु,’ मुख्यमन्त्री शाहले भने, ‘यस अवधिमा प्रदेश सभाको विश्वास लिई राजनीतिक स्थायित्वको प्रत्याभूति गरिएकोले सरकार सञ्चालन तथा विकास गतिविधिहरूलाई तीव्रता दिनका लागि उपयुक्त र भरपर्दो आधार निर्माण भएको छ ।
प्रदेश सरकारको नीति कार्यक्रम र बजेट निर्माण एवं कार्यान्वयनमा वर्तमान सरकारले राजनीतिक सहमति जुटाइ साझा कार्यक्रमको रूपमा अपनत्व सिर्जना गर्न सफल भएको छ ।’ सरकारले कार्यान्वयनमा ल्याएको योजना तथा कार्यक्रमले जनमानसमा सुशासन र विकासको नयाँ आशा र भरोसाको सञ्चार भएको मुख्यमन्त्री शाहको दाबी छ । ‘विगतका योजना, विकास र प्रशासकीय कमजोरी सुधार गरी दिगो सुशासन र विकासको प्रत्याभूति दिलाउनेतर्फ निर्देशित भइ वर्तमान सरकार क्रियाशील रहेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘कर्मचारीतन्त्रलाई कार्यसम्पादनमा चुस्त, पारदर्शी र परिणाममुखी हुन प्रेरित गरिएको छ ।
नीतिगत र प्रणालीगत सुधारका अतिरिक्त विकास निर्माणलाई तीव्रता दिइएको छ । यस अवधिमा सडक, सिँचाइ र खानेपानी, भवन तथा जनताका आवास लगायतका पूर्वाधारहरू र नदी नियन्त्रण, पहिरो नियन्त्रण लगायतका संरक्षणात्मक कार्यमा उल्लेख्य प्रगती भएका छन् ।’
कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र उत्पादकत्व अभिवृद्धि गर्ने खालका कार्यक्रमहरू सञ्चालन भएको बताउँदै मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएको दाबी गरे । प्रदेश सरकारले समग्र शासकीय गुणस्तर एवं सुशासन अभिवृद्धिका क्रियाकलापहरूमा जोड दिएको बताउँदै मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणका सवालमा शून्य सहनशिलताको नीति अवलम्वन गर्दै आएको दाबी गरे ।
मुख्यमन्त्री शाहको नेतृत्वको सरकार गठन भएसँगै तीनपटक मन्त्रिपरिषद् गठन भएको छ । असार १९ गते उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीबाट रामेश्वर चौधरीलाई पदमुक्त गरेसँगै हालसम्म सो मन्त्रालयको जिम्मेवारी स्वयम मुख्यमन्त्री शाहले लिएका छन् । हालसम्म सो मन्त्रालयमा मुख्यमन्त्री शाहले नयाँ मन्त्री नियुक्त गर्न सकेका छैनन् । २०७९ साल पुस २८ सुदूरपश्चिममा नेकपा एमालेका प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता राजेन्द्रसिंह रावल प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, विश्वासको मत नपाउँदा उनी मुख्यमन्त्री पदमा टिक्न सकेनन् ।
२०८१ साल बैशाख ६ गते चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता दिर्घबहादुर सोडारी । तर, नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन भएपछि उनले भदौ २० गते मुख्यमन्त्री पद गुमाए ।
पुराना उपलब्धि कार्यान्वयन भएनन् प्रथम सुदूरपश्चिम सरकारको मुख्य उपलब्धी हो– ‘प्रदेश राजधानी गोदावरी र नामाकरण सुदूरपश्चिम ।’ तर, प्रदेश सरकार स्थापनाको सात वर्ष पूरा हुँदै गर्दा तोकिएको राजधानीमा न त संरचना बन्न पहल भएको छ न त विकल्पनै खोजिएको छ ।
प्रदेश सरकारको उपलब्धि मानिएको राजधानीको संरचना नबन्दा घोषणामै सीमितझैँ बनेको छ । वर्तमान सरकारले राजधानी हेरफेर गर्ने चर्चा बेला–बेला आउने गरेको छ । तर, त्यो पनि भाषणमै सीमित रहेको छ । केही दिनअघि मुख्यमन्त्री शाहले प्रदेश राजधानीको विकल्प खोज्ने तयारीमा रहेको बताउँदै– ‘अबको प्रदेश सभामा यो विषयलाई प्रवेश गराउने छु ।’ भनेका थिए ।









प्रतिक्रिया दिनुहोस्