नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशका अधिकांश बस्ती भिरालो जमिन, नदी तथा खोला क्षेत्रमा अवस्थित छन् । हाल प्रदेशका विभिन्न जिल्लामा लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण पहाडी भूभागसँगै नदी तथा खोलानजिकका बस्तीहरू बाढी पहिरोको उच्च जोखिममा छन् । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म अझै भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । यसले गर्दा कर्णाली प्रदेशका पहाडी तथा भिरालो क्षेत्रमा पहिरोको जोखिम पनि उत्तिकै बढेको छ । विशेषगरी कर्णाली नदी, तिला, भेरी, मुगुु र हुम्ला कर्णाली नदी तथा प्रदेशका १० वटै जिल्लाका विभिन्न खोला आसपासका बस्तीहरू बढी संवेदनशील अवस्थामा छन् ।
स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्क रहन नागरिकलाई अनुरोध गरिरहेका छन् । नदी तथा खोलाको किनार, डाँडाको भिरालो भाग र पहिरो जाने सम्भावित स्थानहरूमा बसोबास गरिरहेका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थान छाड्न अनुरोध गरिएको छ । नदी तथा खोलानजिकका बस्तीहरूमा बाढीको उच्च सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सतर्कता अपनाउन आग्रह गरेको छ । सुर्खेत जिल्ला भएर बग्ने भेरी नदी समजिघाट (भेरी पुल)को जल सतह उल्लेख्य बढेको र बढ्ने क्रममा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुर्खेत जिल्ला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहावसमेत उल्लेख्य रूपमा बढेकाले आकस्मिक बाढी पहिरोको जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ । उक्त नदी तटीय क्षेत्रहरूमा अति आवश्यक नपरी आवतजावत र सवारीसाधन सञ्चालन नगर्ने लगायतका सतर्कता अपनाउन आम सर्वसाधारणलाई अनुरोध गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीका अनुसार नदी तथा खोलाको बहाव बढेको खण्डमा नजिक नजान अनुरोध गरिएको छ । लगातार पानी परिरहेको अवस्थामा पहिरोको जोखिम हुने स्थानबाट टाढा रहनुपर्ने विज्ञहरू बताउँछन् ।
सम्भावित जोखिमका बस्तीहरूमा राहत तथा उद्धारका लागि आवश्यक तयारी गरिएको कर्णालीका स्थानीय प्रशासनले जनाएका छन् । उच्च सतर्कताका साथ विपद् न्यूनीकरण तथा राहतको लागि आवश्यक तयारी गरिएको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र तथा स्थानीय तहहरूले जानकारी दिएका छन् । प्राकृतिक प्रकोप कहिले आउने भन्ने अनुमान गर्न नसकिने भएकाले जनस्वास्थ्य तथा सुरक्षाका लागि सबै नागरिकले थप जिम्मेवारीका साथ सावधानी अपनाउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।
यता कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र पनि बाढी वा डुबानको उच्च जोखिममा रहेको देखिन्छ । वीरेन्द्रनगरमा करिब ५०० बढी घरधुरी डुबान र कटानको उच्च जोखिममा रहेको पाइन्छ । विशेषगरी खोलाको किनारमा अवस्थित क्षेत्रहरूमा पर्सेनी, खोर्के, इत्राम तथा नेवारे खोला नजिकका तल्लो भू–भाग डुबान समस्याको असरग्रस्त क्षेत्रहरू हुन् । अन्य वडाहरूमा समेत डुबान, कटान र पहिरो समस्या देखिएको हो ।
पर्याप्त संरचनात्मक सुधार नहुँदा विगतदेखि वर्षायाममा यहाँका स्थानीय डुबान र बाढीको त्रासमा गुज्रिरहेका छन् भने जोखिम पनि कायमै छ । सुर्खेत, मुगु, जुम्ला, हुम्ला (सिमिकोट) र डोल्पाका विमानस्थलहरूमा लगातार वर्षाका कारण उडान सेवा बन्द छन् । जसले यात्रु र बिरामी प्रभावित भएका छन् ।
कर्णाली राजमार्ग अवरुद्ध
भारी वर्षाका कर्णाली राजमार्ग नियमित सञ्चालनमा सकस भएको छ । कालिकोटको एसमोड, झाम्ला खोला, दही खोला, हुल्म र दैलेख पातरखोलासहित दर्जनौँ स्थान बाढीपहिरोको उच्च जोखिममा छन् भने राजमार्गदेखि विभिन्न गाउँ जोड्ने ग्रामीण सडकहरू पनि अवरुद्ध हुन थालेका छन् । अविरल वर्षापछि एक पहिरो पन्छाउन नपाउँदै अर्को पहिरो खस्ने र वर्षा निरन्तर जारी रहेकाले पहिरो पन्छाउन सकस हुँदा यात्रुले सास्ती पाएका हुन् ।
जुम्ला–सुर्खेत २३२ किमिमध्ये सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने दही खोलादेखी जुम्ला तर्फको १०४ किमि सडकखण्डभित्र अविरल वर्षाले पहिरो खसेपछि राजमार्ग अवरुद्ध छ । दुवै तर्फको आवतजावतमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज जाने सयौँ सवारीका यात्रुहरू बाटोमै अलपत्र परेका हुन् । सोमबारको पहिरो पन्छाएर सडक खुलाइए पनि मंगलबार पुनः लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्णरूपमा बन्द भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए । उनका अनुसार गगनेखोलामा आएको पहिरो पन्छाएर सडक सुचारु भएको केही बेरमा पुनः पहिरो आएर अवरुद्ध भएको हो ।
अवरुद्ध रत्न राजमार्ग खुल्यो
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सुर्खेतमा जनजीवन प्रभावित बनेको छ भने वर्षाले पहिरो जाँदा अवरुद्ध कोहलपुर–सुर्खेत रत्न राजमार्ग खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–२, पैसठ्ठी भन्ने स्थानमा सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा रत्न राजमार्ग पूर्णरूपमा बन्द भएको थियो । पहिरोको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर गुरुङको कमान्डमा सात जनाको टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले जेसीबीको सहायताले पहिरो पन्छाउने काम सुरु गरेको थियो ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन टोली सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए । उनका अनुसार अविरल वर्षाकै कारण सुर्खेतको गुर्भाकोट नगरपालिका–१, काल्चे घुमाउनेमा एक घर भत्किएको छ । स्थानीय ३२ वर्षीया दालमाया बुढाको तीन तले कच्ची घरको पूर्वपट्टीको भित्ता भत्किएको उल्लेख छ ।
ढुंगा र माटोले बनेको जस्तापाताले छाएको उक्त पाँच कोठे घर भत्किँदा कुनै मानवीय तथा चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ । उक्त घरमा चार जनाको परिवार बस्दै आएको थियो । घटनापछि उनीहरू सुरक्षित रूपमा आफन्तको घरमा आश्रय लिएर बसेका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मालारानीबाट खटिएको प्रहरी टोलीले परिवारको उद्धारमा सहयोग गरेको थियो ।
पहिरोले कपुरकोट सडक ठप्प
लगातारको वर्षाका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको हो । दाङ–सल्यान सिमानामा रहेको पहिरो प्रभावित क्षेत्र बन्द हुँदा यात्रुहरूलाई सकस भएको छ । कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराईका अनुसार सडक खुलाउने प्रयास तीव्र पारिएको छ । पहिरोको जोखिम अझै कायमै रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस सडकखण्ड हुँदै सल्यान, रूकुम, रोल्पालगायत जिल्लाहरू आवतजावत गरिँदै आएको छ । सडक खुल्ने समयबारे निश्चित जानकारी नआएको प्रहरीले जनाएको छ । विगत तीन वर्षदेखि राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्ड सडक चौडा बनाउने काम भइरहेको छ । सडक स्तरोन्नतिको क्रममा नयाँ कटिङ गरेकाले यहाँ वर्षायाममा सडकमा माथिबाट पहिरो खस्दा यात्रुहरूले सास्ती ब्यहोर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्