गणेश रावत । कोहलपुर ।
बाँकेको इलाका प्रशासन कार्यालय कोहलपुरले जनशक्ति अभावका बाबजुद पनि नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोे छ । स्थापनाकालको दरबन्दीले १० वर्षसम्म आइपुग्दा पनि त्यही जनशक्तिबाट कार्यालयले सेवा प्रवाह गरिहेको हो । कार्यालयमा सेवाग्राहीहरूको समयअनुसार चाप बढ्दै जाँदा दरबन्दीअनुसार जनशक्ति नहुँदा नागरिकहरूलाई सेवा प्रवाह गर्न केही कठिनाइ भएको कार्यालय प्रमुख अन्तिम सिंजालीले जानकारी दिइन् ।
उनले कार्यालयले स्थापनाकालदेखिको दरबन्दीबाटै जसोतसो सेवाग्राहीलाई सेवा प्रदान गरिएको बताइन् । उनले यस कार्यालयमा आफू आएको डेढ महिना मात्र भएकाले सेवाग्राही र कार्यालयका समयस्याहरू बुझिरहेको बताइन् । अहिले आफूले नागरिकहरूका लागि भौतिक संरचना र जनशक्ति अभाव देखेको उनको भनाइ छ । कार्यालयमा सेवाग्राहीहरूको चाप भने बढ्दो रहेको छ । सेवाग्राहीको चाप बढेको र पहुँचका आधारमा भन्दा पनि टोकन प्रणाली लागु गरेर सेवा प्रदान गरिरहेको उनले बताइन् ।
जसका कारण सेवाग्राहीहरूले आफ्नो समयमा सेवा सहजै लिन पाउने गरेको उनको भनाइ छ । बिहान १० बजे ७० वटा टोकन वितरण गरेर सेवा प्रदान गर्नुका साथै अशक्त, अपांग र वृद्धवृद्धाहरूलाई आफैँले फाराम भरेर सेवा प्रदान गरिरहेको बताइन् । राष्ट्रिय परिचयपत्रका लागि धेरै चाप रहेकाले एउटा अर्काे डेस्कको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयमा माग गरेको बताइन् । जनशक्ति कम रहेकाले चाप थेग्न कठिनाइ हुँदा डेस्क स्थापना हुँदा केही राहत हुने विश्वास लिएको उनको भनाइ छ ।
स्थापनाकालदेखि कार्यालय भाडाको घरमा बस्दै आएको बताउँदै उनले सरकारबाट पाउने सुविधाबाट वञ्चित हुनु परेको बताइन् । ‘स्थापनाकालदेखि भाडाको घरमा बस्दै आएका छौँ,’ उनले भनिन्, ‘त्यसैले कतिपय सुविधाबाट वञ्चित हुनुपरेको छ । अर्काेतर्फ संरचना पुरानो हुँदा फाइलहरूदेखि अन्य कामहरू गर्न केही कठिनाइ भइरहेको छ ।’ आफ्नै भवन नहुँदा सोचेअनुसार व्यवस्थापन गर्न नसकिएको उनी बताउँछिन् । इलाका प्रशासन कार्यालय कोहलपुरले तीन वटा स्थानीय तहका २६ वटा वडाका नागरिकहरूलाई सेवा प्रदान गरिरहेको उनले बताइन् ।
यसले बैजनाथ गाउँपालिकाको वडा नम्बर ८ बाहेक सबै वडा, राप्ती सोनारी गाउँपालिकाको वडा न १, २, ८ र ९ तथा कोहलपुर नगरपालिकाका १५ वटै वडा गरी २६ वटा वडामा सेवा प्रवाह गरिररहेको उनले मिसन टुडेलाई जानकारी दिइन् । स्थापनाको १० वर्ष बितिसक्दासमेत कार्यालयको आफ्नै भवन नहुँदा नगर विकास समितिको स्वामित्वमा रहेको पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ । २०७३ सालबाट औपचारिक रूपमा सेवा दिन थालेको इलाका प्रशासन कार्यालय कोहलपुरले स्थापनाको लामो समय बितिसक्दासमेत आफ्नो भवन निर्माण गर्न सकेको छैन ।
संघीय सरकार गृह मन्त्रालयमातहत र जिल्ला प्रशासन कार्यालयको इकाइको रूपमा रहेको कोहलपुर इलाका प्रशासन कार्यालय स्थायित्वको खोजीमा रहेपनि सो को प्रबन्ध हुन सकेको छैन् । ‘जसका कारण साँघुरो ठाउँबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘हामीले चाहेजसरी कार्यालय व्यवस्थापन र सेवा प्रवाह गर्न सकिरहेका छैनौँ ।’ जेनतेन सेवा प्रवाह गरिरहेको उनले बताइन् । आफ्नै भवन नहुँदा सेवा प्रवाह तथा पुराना अभिलेखको संरक्षण गर्न समस्या भइरहेको उनको गुनासो छ ।
भाडामा रहेको भवन पनि पछिल्लो समय जीर्ण बन्दै गएको छ । वर्षायाममा कार्यालयमा पानी पस्ने समस्या रहेकाले कार्यालयमा रहेका अभिलेख, कागजात सुरक्षित गर्न र बस्न कठिन हुने गरेको कर्मचारीहरू बताउँछन् । पुरानो भवन अहिले पेन्टिङ गरिएकाले केही राम्रो देखिएको छ । कार्यालयले विभिन्न १० प्रकारहका सेवाहरू प्रदान गर्दै आएको छ ।
नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, जन्मको आधारमा वंशज नागरिकता, राहदानी वितरण, नावालक परिचयपत्र, जातीय प्रमाणित, नामथर तथा अन्य प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र सूचना टाँस सेवा प्रदान गरिरहेको हो । साथै जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिका रूपमा आवश्यक शान्ति सुरक्षाको व्यवस्थापनदेखि विभिन्न सरकारी कार्यालयको अनुगमनलगायतका काम गरिरहेको उनले बताइन् ।









प्रतिक्रिया दिनुहोस्