शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
ठ्याक्कै तीन दिन भयो, कोहलपुर नगरपालिका–१३ खड्कवारकी झुपमाया थारू मलका लागि सहकारीमा धाउन थालेको । उनी कोहलपुरमा रहेको साझा चोकस्थित सहकारी संस्था लिमिटेड ‐साझा) कि सदस्य हुन् । सहकारीले मलका लागि सूचना जारी गरेपछि उनी मल लिन त्यहाँ पुगेकी थिइन् । तीन दिन पुगिसक्दासमेत उनले मल पाउने नपाउने टुंगो छैन् ।
उनी भन्छिन्, ‘सर, तीन दिन भयो मलका लागि आएको । हरेक दिन बिहान ४–५ बजे आउँछु । दिनभर बस्छु । साँझ रित्तो हात घर फर्किन्छु ।’ उनको परिवार पूर्णरूपमा कृषिमा निर्भर छ । थारूले खेती किसानी गरेरै जीविकोपार्जन गर्दै आएकी छन् । खेतमा धान रोपेको धेरै भयो । मल आवश्यक छ । तर, लाइन लाग्दासमेत मल नपाइएको उनले गुनासो गरिन् । उनले आफूलाई दश नम्बर ‐५० केजी) मल आवश्यक रहेको बताइन् । सहकारीले चार नम्बर ‐२० केजी) दिने भनेको छ ।
त्यही मलको लागि हरेक दिन धाउँदासमेत नपाइएको उनको गुनासो छ । यस्तै, समस्या भोगिरहेकी छिन् कोहलपुर नगरपालिका वडा नम्बर ७ कि ५६ वर्षीया दन्तकली शाहीले । राज्यको कमजोरीले मलका लागि नागरिकले सास्ती भोग्नु परेको उनले बताइन् । ‘सरकार, नगरपालिका र सहकारीका कर्मचारी कसको लापरबाही हो ? आज सामान्य मलका लागि हामीले यस्तो सास्ती भोग्नु परेको छ । राज्य जनताको पक्षमा भएको भए बेलैमा मल पाइन्थ्यो होला । जनताहरूलाई भेला गराएर अपमान गरिएको छ,’ आइतबार मिसन टुडेसँग कुराकानी गर्दै उनले भनिन् ।
किसान शेरबहादुर खड्कासमेत बिहान ७ बजेदेखि लाइन बसेर कुपनसमेत नपाएको दुःखेसो पोख्छन् । उनले भने, ‘टाठाबाठाका घरघरमा मल पुग्छ रे, हामीजस्ता निमुखाका कुरा कस्ले सुन्ने ? यहाँ आएको मल हामीले देख्नसम्म पाइन्नँ, २० केजी मलका लागि घण्टौँ लाइन बस्यो, रित्तै बोरा लिएर घर फर्किनुपर्ने भयो ।’ समयमा मल, बीउ नपाउँदा र राम्रोसँग सिँचाइको सुविधा नहुँदा आफूजस्ता हजारौँ किसानले सास्ती भोग्नु परेको उनले गुनासो गरे ।
कोहलपुर नगरपालिका–१२ का किसान आसिराम सार्कीको पनि दुःखेसो उस्तै छ । किसान सार्कीले मलकै लागि हालसम्म पटक–पटक सहकारीमा धाइसके । ‘कुपन पाउनका लागि घण्टौँ लाइन बसेँ । मल त कहाँ हो, कुपन पनि पाइएन्, २० किलो मलका लागि यत्रो दुःख छ,’ उनले आफ्नो दुःख सुनाए । आफूहरूले हरेक वर्ष मलको समस्या भोग्नु परेको उनले सुनाए ।
कोहलपुर नगरपालिका–१३ का किसान लालबहादुर बुढा भन्छन्, ‘अहिलेसम्म चार पटक यहाँ आइसकेँ, लाइन बसेर कुपनसमेत पाइनँ, सधैँ बाहिरबाट महङ्गोमा मल किन्नुपर्छ, जताबाट पनि मर्ने हामीजस्ता किसान नै हो ।’ उल्लेखित किसानहरू प्रतिनिधि पात्रमात्र हुन् । साझा सहकारीमा आवद्ध हजारौँ किसान सेयर सदस्यहरूले मल पाउन सकेका छैनन् ।
हामीसँग नभएको मल कहाँबाट ल्याएर दिनु ?
सहकारीका अध्यक्ष पारसनाथ थारूले सहकारीको सदस्य सङ्ख्या बढी भएको तर मलको कोटा कम आउने गरेका कारण समस्या उत्पन्न भएको बताए । उनले भने, ‘हामीलाई आवश्यक मल सरकारले दिँदैन । मागअनुसारको मल पु¥याउन सकिँदैन । हामी त केवल मध्यस्थकर्ता मात्र हौँ, जे जति आउँछ, त्यही बिक्री गर्ने, जनताले कुरा बुझ्दैनन् ।’ कृषकहरूले सहकारीले मल दिएन भनेर गुनासो गर्ने गरेको भन्दै अध्यक्ष थारूले आफूहरूसँग हुँदै नभएको मल कहाँबाट ल्याएर वितरण गर्ने भन्दै प्रतिप्रश्न गरे ।
‘नगरपालिकाअन्तर्गत रहेको नगर कृषि शाखाले कोटा तोक्छ, कोहलपुरमा अन्य ५–६ वटा सहकारी छन्, उनीहरूका पाँच सात सय सदस्य छन् । हाम्रा १० हजार ३०० सदस्य छन्, अनि कोटा तोक्दा एउटै रेसियोमा तोकिन्छ, बराबर भाग लगाएर हामीलाई मल दिइन्छ अनि कसरी माग धान्न सक्छौँ हामीले ।’ मिसन टुडेसँग उनले भने । अध्यक्ष थारूले असार महिनामा आएको १८० बोरी युरीया मल वितरण गरिएको जानकारी दिए । अहिले आएको २०० बोरी मल वितरण गर्दा समस्या आएको उनको भनाइ छ ।
‘असारमा आएको १८० बोरी युरीया मल वितरण गरेर सकियो । अहिले २०० बोरी आएको छ । यो वितरण गर्न भनेर गत मंगलबारका लागि सूचना जारी गरेका थियौँ, त्यसदिन पनि भिडभाड र हल्लाखल्लाका कारण बाँड्न सकेनौँ’ अध्यक्ष थारूले भने । सोही मल वितरण गर्ने योजनासहित ३५० वटा कुपन वितरण गरेर बाँड्ने तयारी गरेपनि भिडभाडका कारण बाँड्न नसकिएको उनको भनाइ छ । सहकारीले कृषकको माग धान्न नसक्ने भन्दै सरकारले तत्काल यो समस्या समाधान गर्न पहल गर्नुपर्नेमा जोड दिए ।
नगरपालिका भन्छ ः मल अभाव राष्ट्रव्यापी समस्या हो
हरेक स्थानीय तहमा ‘स्थानीय तह मल वितरण व्यवस्थापन समिति’ हुन्छ । कोहलपुर नगरपालिकामा उपप्रमुखको संयोजकत्व सिफारिस समिति छ । समितिको सदस्यमा प्रमुख प्रकासकीय अधिकृत हुन्छन् । सदस्यसचिव कृषि विकास शाखा प्रमुख रहन्छन् । कोहलपुर नगरपालिका कृषि विकास शाखा प्रमुख कल्पना नेपालीका अनुसार कृषि सामग्री लिमिटेड र साल्ट ट्रेनिङ कर्पोरेशनले माग गरेअनुसार समितिले सिफारिस गर्छ । कोटा तोकेरै सिफारिस गर्र्ने भनिएको हुनाले समितिले सोहीअनुसार सिफारिस गर्ने गरेको उनले बताइन् ।
कृषि सहकारीमार्फत कृषकलाई मल वितरण गर्नेगरी समितिले कोटा तोक्ने र उपलब्ध गराएर मल वितरण हुने गरेको उनले बताइन् । मल वितरणको लागि सहकारी सिफारिसका लागि २०८२ साउन ८ गते समितिको बैठक बसेको उनले जानकारी दिइन् । समितिको बैठकले कृषि सामग्री लिमिटेडबाट माग भएअनुसार युरिया मलका लागि विभिन्न सहकारीहरूलाई सिफारिस गरिएको उनले बताइन् । सोहीअनुसार समितिले कोहलपुर नगरपालिका वडा नम्बर १, २ र ३ का लागि सृष्टि बहुउद्देश्यीय सहकारी संस्थालाई एक सय बोरा, वडा नम्बर ४, ५ र ६ का जन कल्याण बहुउद्देश्यीय सहकारी संस्थालाई एक सय बोरा र वडा नम्बर १० का लागि वृति सहकारी सहकारीलाई ५० बोरा युरिया मल वितरणका लागि सिफारिस गरिएका शाखा प्रमुख नेपालीको भनाइ छ ।
यस्तै सहकारी संस्था लिमिटेड ‐साझा)लाई वडा नम्बर ७, ८, ९, ११, १२ र १३ का कृषकलाई मल वितरणका लागि २ सय बोरा र दियो कृषि सहकारी संस्थालाई वडा नम्बर १४ र १५ को लागि १५० बोरा युरिया मल वितरणका लागि सिफारिस गरिएको उनले बताइन् । यसअघि साल्ट ट्रेनिङ कर्पोरेशनले माग गरेअनुसार समितिको असार १६ गतेको बैठकले चार वटा सहकारीलाई मल वितरणका लागि सिफारिस गरेको थियो । जन विश्वास बहुउद्देश्यीय सहकारी संस्थालाई ८६ बोरा, सफल कृषि फर्मलाई १२९ बोरा, सहकारी संस्था लिमिटेड ‐साझा)लाई २५८ बोरा र दिगो कृषि सहकारी संस्थालाई ८६ बोरा डिएपी, पोटास र युरिया मल वितरणका लागि सिफारिस गरिएको शाखा प्रमुख नेपालीको भनाइ छ ।
यस्तै समितिले कृषि सामग्री लिमिटेडको मागअनुसार जेठ २२ गते बसेको बैठकले ६ सय बोरा डिएपी, एकसय बोरा पोटास, असार १६ गते बसेको समितिको बैठकले ५ सय ५९ बोरा युरिया वितरणका लागि साल्ट टे«निङ कर्पोरेशनलाई सिफारिस गरेको बताइन् । समितिले मल वितरण कार्यविधिअनुसार सम्बन्धित स्थानीय तहमा क्षेत्रफल र उत्पादनका आधारमा सिफारिस गर्ने गरेको छ । उनी भन्छिन्, ‘माग धेरै छ, तर मल पु¥याउन समस्या छ । यो राष्ट्रव्यापी समस्या हो । सरकारले स्थानीय तहलाई कोटा तोकेर सिफारिस पठाउन भन्छ । सोहीअनुसार हामीले सिफारिस गर्छौँ ।’
सहकारीको सूचनापछि किसान आक्रोशित
सहकारी संस्था लिमिटेड ‐साझा)ले साउन १६ गते सूचना ग¥यो, सूचनामा भनिएको छ, ‘१८ गते प्रतिव्यक्ति २० केजीका दरले रासायनिक मल वितरण गर्ने भनी सहकारीमा आवद्ध कृषक सेयर सदस्यहरूका लागि परिचयपत्र र लालपुर्जाको फोटोकपी लिएर आउनुहोला ।’ सहकारीको सोही सूचनाबमोजिम आइतबार बिहान ४ बजेदेखि नै किसानहरू आउन थालिसकेका थिए । बिहान ६ नबज्दै मल लिनको लागि सयौँ किसानहरू लाइनमा बसे । हातमा खाली बोरा समाएर सयौँको सङ्ख्यामा किसानहरू सहकारीको गेटबाहिर लामो लाइनमा बसिरहेका थिए ।
बिहान ८ बजेतिर मलको लागि ढोका खोल्दा तनावको स्थिति सिर्जना भयो । केही समय त भागदौडकै अवस्था आयो । भिड अनियन्त्रित भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नै परिचालन गर्नुपरेको थियो । त्यही पनि किसानहरू मलका लागि कुरिरहेकै थिए । मल पाइने आशमा घण्टौँ लाइन अनि त्यसपछि सहकारीको ढोका र वरपर बसिरहेका किसानहरू त्यतिबेला अच्चमित भए, जतिबेला सहकारीले एक्कासि सूचना जारी गर्दै मल वितरण गर्न नसकिने सूचना निकाल्यो ।
वरिष्ठ सहकारी व्यवस्थापक जुल्फेकार अलीद्वारा हस्ताक्षरित सूचनामा किसानहरूको भिडभाड भएकोले समस्या आएका कारण आइतबार मल वितरण गर्न नसकिने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ, ‘२० केजीका दरले रासायनिक मल वितरणका लागि कुपनसमेत वितरण गरेको तर, मल वितरण गर्दा भिड भएकोले वितरणमा समस्या आएको कारण १९ गते बिहान १० बजे कुपन पाएकोले मात्रै मल पाउनेछन् ।’
कुपन नपाएका कृषकहरूको हकमा भने अर्को मलको कोटा प्राप्त भएपछि मल वितरण गर्ने सूचनामा जनाइएको छ । सहकारीले एक्कासि मल वितरण नहुने सूचना निकालेपछि आक्रोशित किसानहरूले सूचना नै च्यातिदिए । सहकारीविरुद्ध नाराबाजी गरे । केही समय सहकारीमा असहज वातावरणसमेत सिर्जना भएको थियो । किसानहरू अन्ततः रित्तो बोरा लिएर घर फर्कनु प¥यो ।









प्रतिक्रिया दिनुहोस्