सम्पादकीयः प्रसूति सेवालाई व्यवस्थित बनाउ



नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा केही समययता आमा सुरक्षा कार्यक्रम (प्रसूति सेवा) बन्द भएपछि उक्त सेवा लिनका लागि अहिले गर्भवती महिलाहरू पश्चिम नेपालकै रेफरल सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालमा पुग्न थालेदेखि सुत्केरी सेवा लिने महिलाहरूको भिडभाड हुँदै आएको छ । जिल्लाका टाढा टाढाबाट उक्त सेवा लिन अहिले गर्भवती महिलाहरू भेरीमा आउने गरेका छन् । त्यसैपनि भेरी अस्पतालले उक्त सेवा दिनका लागि सीमित साधन स्रोतका कारण हम्मे हम्मे परिहरको अवस्थामा थप सेवा प्रदान गर्न अत्यन्तै जटिल देखिन्छ । अस्पतालको सुत्केरी शाखाका सबै बेडहरू भरिएर खाली रहेको भुइँमा पनि उक्त सेवा लिन आएका सेवाग्राहीलाई राख्नुपरेको छ । उक्त शाखा भिडभाडका कारण सुत्केरी सेवा लिन आउने महिलाहरूलाई नै सकस परिरहेको छ । सुत्केरी आमा र नवजात शिशुहरूलाई भुइँमै राखेर सेवा प्रदान गरेको देखिन्छ ।

यसरी सेवा प्रदान गर्दा पक्कैपनि सुत्केरी आमा र नवजात शिशुले सहज र सरल रूपमा प्रभावकारी सेवा लिन सक्दैनन् । भेरीमा सुत्केरी गराउन आउनेहरूको चाप बढेपछि उनीहरूले सास्ती खेप्नुपरिरहेको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क सुत्केरी सेवा प्रदान गर्ने व्यवस्था भएका दुई शिक्षण अस्पतालले उक्त सेवा बन्द गरेपछि सेवाग्राहीको चाप भेरी अस्पतालमा थुप्रिएको छ । यसले अस्पताललाई गुणस्तरीय सुत्केरी सेवा दिन हम्मेहम्मे परेको छ । बिरामीहरूलाई बेड अभाव भएर भुइँमै राखेर उपचार गरिरहेको अस्पतालले अब आवश्यक साधन स्रोतको व्यवस्था गरी थप सुविधा बढाउनु जरुरी छ । र यो अहिलेको आवश्यकता पनि हो । अस्पतालले आवश्यक जनशक्ति, आवश्यक उपकरण, आवश्यक बेडको व्यवस्थापन गरी सेवा लिन आउने सेवाग्राहीहरूलाई गुणस्तरीय सुत्केरी सेवा प्रदान गर्न आवश्यक छ । त्यसैपनि दैनिक हजारौँको सङ्ख्यामा बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै अस्पतालले प्रसूति सेवामा पनि चाप बढेपछि तयारीबिना पनि उपचार गर्न परिरहेको छ । यसरी प्रदान गरिएको सेवा गुणस्तरीय हुँदैन । सेवाग्राहीले पाउनुपर्ने आवश्यक सेवा सुविधा प्राप्त गर्न सक्दैनन् । तसर्थः जुनैपनि हिसाबले भएपनि अस्पतालमा प्रसूति कक्षको विस्तार गर्नुपर्दछ र नागरिकलाई सहज र सरल रूपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्दछ । संवैधानिक रूपमा पाएको नागरिकको अधिकारलाई कुञ्ठित पारिनु हुँदैन ।

स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, अस्पताल विकास समितिलगायतका सरोकारवाला निकायसँगको समन्वयमा तत्काल आमा सुरक्षा कार्यक्रम (प्रसूति सेवा)लाई विस्तार गरेर गुणस्तरीय सेवा प्रदान गर्न पहल लिनुपर्दछ । अस्पतालको सुत्केरी सेवाका लागि छुट्याइएको संरचना, बेड सङ्ख्या र जनशक्तिले धान्न नसक्नेगरी चाप बढेको छ । १० वटा मात्रै बेड भएको लेबर वार्डमा एकै सिफ्टमा दर्जनौँ सेवाग्राहीहरू सेवा लिन आउने गरेका छन् । यस्तो अवस्थामा बिरामीहरू आत्तिएर झर्किने, वादविवाद हुनेजस्ता समस्याहरू पनि निम्तिने गर्दछन् । जसका कारण उपचार प्रक्रियामा थप समस्या आउन सक्छ । पैसा तिर्न सक्ने सेवाग्राहीहरू निजी अस्पतालमा जाने गर्दछन् तर निम्न वर्गका, विपन्न वर्गका, सर्वसाधारण नागरिकहरू पैसाका कारण उपचार सेवा लिन भेरीमै पुग्ने गर्दछन् । भेरी अस्पताल उनीहरूका लागि आशाको केन्द्रका रूपमा रहेको छ । भेरीले लाखौँ विपन्न जनताको विश्वास जितेको छ । तसर्थः भेरीप्रतिको विश्वासलाई अझै प्रगाढ बनाउन पनि प्रसूति सेवालाई आवश्यक अनुसार विस्तार गर्न जरुरी छ । वैकल्पिक उपाय लगाएर भएपनि अस्पताले सुत्केरीजस्तो सेवाको गुणस्तरलाई घट्न दिनुहुँदैन । आवश्यक सहयोग जुटाएर समस्या समाधान गर्नतर्फ अस्पताल लाग्नुपर्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार