सम्पादकीयः बढ्दो बसाइँसराइ रोक्न योजना बनाउ



नेपालमा पछिल्लो समय गाउँदेखि सहरमा, पहाडदेखि तराई मधेशमा बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दो छ । प्रत्येक वर्षको तथ्यांक हेर्ने हो भने गाउँ छाडेर सहर आउने र पहाड छाडेर तराई मधेश झर्ने जनसङ्ख्या धेरै छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार, सन्ततिको उज्वल भविष्य र सेवासुविधाकोे खोजी गर्दै गाउँ छाडेर सहर आउने र पहाड छाडेर तराई मधेश झर्नेको जनसङ्ख्या दिनानुदिन बढेको पाइन्छ । बाँकेमा पनि केही पछिल्ला वर्षहरूमा बसाइँसराइ गरेर आउने जनसङ्ख्या बढेको देखिन्छ । विगतको वर्षहरूभन्दा यस वर्ष बाँके आउनेको जनसङ्ख्यामा वृद्धि भएको पाइएको छ । तर, पछिल्लो समय विकास र निर्माणका कामहरू धमाधम गाउँमा भइरहेका छन् । विकास सहरहरूभन्दा गाउँमा हुन थालेका छन् । स्वास्थ्य सेवादेखि खानेपानी र यातायातसम्मको समेत सुविधा विस्तारै पहाडी क्षेत्र र गाउँमा पुगेका छन् । विडम्बना गाउँमा विकास पुग्यो । तर, नागरिकहरू भने सहर तीर झरे । जसका कारण गाउँमा निर्माण भएका संरचना कामबिनाका र खेतीयोग्य जमिन बाँझो हुने गरेको छ । उत्पादन बढ्नुको साटो खेतीयोग्य जमिनमा झारपात पलाउन थालेका छन् ।

युवा पुस्ताहरू रोजगारी र सुविधाको खोजीमा सहर र तराई क्षेत्रमा झर्ने गर्दा गाउँमा रहेका घरहरू खण्डर बन्न थालेका छन् भने खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो छ । गाउँमा वृद्धवृद्धाहरू बाहेक कोही छैनन् । गाउँदेखि सहर, पहाडदेखि तराई बसाइँसराइ गर्नुको कारण के हो ? तीन तहको सरकार कहाँ चुक्यो ? नागरिकहरूको आवश्यकता के हो ? यस्ता विषयमा अब गम्भीर समीक्षा गर्न जरुरी छ । तीनै तहको सरकारले अब समयमै यसतर्फ ध्यान दिन जरुरी छ । विशेष दीर्घकालीन योजना बनाएर रित्तिरहेका पहाडी क्षेत्र र ग्रामीण क्षेत्रमा तराई झर्ने र सहर छिर्ने जनसङ्ख्यालाई रोक्न जरुरी छ । यो क्रमले निरन्तरता पाएमा केही वर्षभित्रै पहाडी ग्रामीण क्षेत्र खाली हुने देखिन्छ । जसका कारण त्यहाँका उत्पादनशील जग्गा जमिन बाँझोमा परिणत हुनेछन् र उत्पादनमा कमी आई थप व्ययभार व्यहोर्नुपर्ने अवस्था आउने देखिन्छ । विशेष गरेर युवा पुस्ताहरूलाई गाउँमा रोक्न दीर्घकालीन योजना बनाउन आवश्यक देखिन्छ । गाउँमा स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्न सके र खेतीयोग्य जमिनमा अनुदान प्रदान गर्नसके बसाइँसराइ रोक्न सकिन्छ ।

विकास निर्माण गाउँमा विस्तारै एकपछि अर्काे थपिँदै गएको छ । तर, युवा पुस्ताहरू विदेश जाने र गाउँको भन्दा थप सुविधा खोज्दै सहर भित्रिने गरेका कारण र बसाइँसराइका कारण गाउँमा हुने विकास निर्माणका काम गर्न कठिनाइ समेत हुँदै गएको छ । युवाहरू सहर र विदेश भासिँदा गाउँमा जोश र जाँगर भएका मान्छे भेटाउन कठिनाइ हुने गरेको छ सहरमा सहजै सबै कुराहरूको पहुँच रहेकाले पनि बसाइँसराइ गरेर आउनेको आकर्षण बढ्दै गएको देखिन्छ । तर, गाउँको सुन्दर वातावरण, स्वच्छ हावापानी र अर्गानिक खाद्यवस्तु सहरमा पाउन मुस्किल छ । त्यसैले तीनै तहका सरकारले यसतर्फ गम्भीर रूपमा ध्यान दिन आवश्यक छ । गाउँमा करोडौँ लागतमा निर्माण भएका स्वास्थ्य चौकी, विद्यालय लगायतका संरचना उपभोग गर्ने नागरिक सहर र तराई बसाइँसराइ गर्दा त्यसको कुनै औचित्य हुँदैन । गाउँमा रहेका नागरिकहरूको उत्पादन बढाउन र उत्पादनको बजारीकरणमा सहजता प्रदान गर्न जरुरी छ । बढ्दो जनसङ्ख्याका कारण तराई तथा सहरी क्षेत्रका खेतीयोग्य जमिन घटिरहेका छन् । तराईका समथर भूभागका खेतीयोग्य जमिनहरू अहिले प्लटिङका कारण खुम्चिएका छन् । तसर्थः तराई तथा सहरमा बसाइँ व्यवस्थापन गर्न र पहाड तथा ग्रामीण क्षेत्रमा बसाइँसराइ रोक्नका लागि सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार