ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिमा कार्यरत स्टोर किपर÷पलम्बर जसबहादुर ओलीले कार्यालय सहयोगी मगरलाई काम लगाएका रहेछन् । आफूभन्दा माथिल्लो तहका कर्मचारीले अह्राएको काम मगरले पूरा त गरिन्, तर उल्टो। जसका कारण ९४० घरधुरीले तीन दिनसम्म लेदोसहितको दूषित पानी पिउनु प¥यो । अन्य कुनै विकल्प नभएपछि लेदोसहितको पानी पिएका उपभोक्ता बिरामीसमेत परेको गुनासो आइरहेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको राप्ती सोनारी गाउँपालिका– ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिको गम्भीर लापरवाहीका कारण उपभोक्ताहरू लेदोसहितको दूषित पानी पिउन बाध्य भएका छन् । ढकेरी क्षेत्रका ९४० घरधुरीलाई खानेपानी सुविधा प्रदान गरिरहेको समितिको लापरवाहीका कारण उपभोक्ताहरूले दूषित पानी पिउन बाध्य भएका हुन् । असार ६ गते साँझदेखि उपभोक्ताका धारामा लेदोसहितको पानी आउन थालेको थियो ।
लगत्तै उपभोक्ताहरूले समितिलाई जानकारीसमेत गराएका थिए । तर, कर्मचारीहरूले उपभोक्ताहरूको मागलाई बेवास्ता गर्दा उनीहरू तीनदिनसम्म लेदोसहितको पानी पिउन बाध्य भए । खानेपानी जस्तो अत्यावश्यक क्षेत्रमा समितिले लापरवाही गरेको भन्दै उपभोक्ताहरूले दोषीमाथि कारबाही हुनुपर्ने र उपभोक्ताहरूलाई क्षतिपूर्ति प्रदान गर्नुपर्ने माग गरेका छन् । के कति कारण त्यस्तो चरम लापरवाही हुन पुगेको हो छानबिन गरिनुपर्ने उनीहरूको माग छ ।
ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिका उपभोक्ता कविन्द्र परियारले कर्मचारीको लापरवाहीका कारण ३ दिनसम्म हिलाम्मे लेदोसहितको पानी पिउन बाध्य भएको बताए । उनका अनुसार दूषित पानीका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको छ । ‘उक्त क्षेत्रमा कतिपय उपभोक्ता दूषित पानी पिएकै कारण बिरामीसमेत भएका छन् । खानेपानी जस्तो अति आवश्यक र संवेदनशील कुरामा किन लापरवाही भयो ? खानेपानीको भरमा थुप्रै उपभोक्ताले घरमा भएको ट्युबवेल हटाइ सकेका छन् ।
खानेपानीको धारामा दूषित पानी आउन थालेपछि उपभोक्ताले कहाँको पानी पिउने यो गम्भीर विषय होइन र ?’ परियारले भने । यस्तो लापरवाहीको छानबिन हुनुपर्ने उनको भनाइ छ । अर्का उपभोक्ता उज्जवल ओलीले खानेपानी जस्तो संवेदनशील क्षेत्रमा कसरी लापरवाही भयो भन्दै प्रश्न गरे । उनले घटना भएको लामो समयसम्म समितिले कुनैपनि चासो नदेखाएको भन्दै आलोचना गरे । उनका अनुसार समितिले दोषीमाथि कारबाही गर्न सक्नुपर्छ ।
उनले भने, ‘पानी लामो समयदेखि यहीँको पानी पिइरहेका छौँ । हालसम्म ठिकै थियो । एक्कासि पानीमा लेदो आउन थालेपछि हामीले समितिलाई खबर गरेको हो । तर, समयमै समाधान हुन सकेन । तीन दिनसम्म दूषित पानी पिउन बाध्य भइयो । यो गम्भीर विषय हो । आगामी दिनमा यस्तो समस्या दोहोरिनु हुँदैन ।’
कसरी पुग्यो उपभोक्ताको धारामा लेदो ?
ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिले लामो समयदेखि ९४० घरधुरीलाई खानेपानीको सुविधा प्रदान गर्दै आएको छ । समितिका सञ्चालक समितिसहित तीन जना कर्मचारी, सल्लाहकार समिति र लेखा तथा सुपरिवेक्षण समिति क्रियाशील छ । तीमध्ये तीन जना कर्मचारीले खानेपानी वितरण, साँझ बिहान पानी बन्द गर्ने, खोल्ने र अन्य काम गर्दै आएका छन् । कर्मचारी रुद्रबहादुर खड्काले व्यवस्थापन, लेखा र मिटर रिडरका रूपमा काम गर्दै आएका छन् ।
स्टोर किपर र पलम्बरका रूपमा जसबहादुर ओली कार्यरत रहेका छन् । समितिको कार्यालय सहयोगीका रूपमा सावित्रा घर्ति मगर कार्यरत रहेको समितिले जनाएको छ । उपभोक्ताको धारामा लेदोसहितको दूषित पानी गएको घटना भएको एक साता बितिसकेको छ । समितिका अनुसार यो घटना असार ६ गते साँझ घटेको हो । सधैँ झैँ कर्मचारी खड्का र ओलीले व्यवस्थापन, लेखा र मिटर रिडिङको काम गर्दै आएका थिए । यस कार्यको लागि समितिद्वारा अख्तियार प्राप्त कर्मचारी उनीहरू नै हुन् ।
स्टोर किपर÷पलम्बर ओलीले कार्यालय सहयोगी मगरलाई काम लगाएका रहेछन् । आफूभन्दा माथिल्लो तहका कर्मचारीले अह्राएको काम मगरले पूरा त गरिन्, तर उल्टो । जसका कारण ९४० घरधुरीले तीन दिनसम्म लेदोसहितको दूषित पानी पिउनु प¥यो । अन्य कुनै विकल्प नभएपछि लेदोसहितको पानी पिएका उपभोक्ता बिरामीसमेत परेको गुनासो आइरहेको छ । समितिअन्तर्गत त्यहाँ दुई वटा मुहान छन् । त्यहाँ हरेक दिन मुहानका गेट भल्वहरू अपडेट गर्नुपर्दछ ।
मुख्य मुहानबाट आइरहेको पानीको लाइन बन्द गरेर ट्यांकीबाट पानी सप्लाइ दिनुपर्नेमा कर्मचारीले त्यो बन्द नगरी डाइरेक्ट ट्यांकीमा पानी सप्लाइ दिँदा ट्यांकीको पानी भित्री मुहानसम्म पुग्दा लेदोसहितको पानी उपभोक्ताको धारामा पुग्यो । जसका कारण खानेपानीको प्रमुख मुहान अटेजन डिप बोरिङमा हलचल ल्यायो । अटो जोन बोरिंगको संचरना नै खलबलिएको छ । मुहानमा पनि समस्या देखिएको छ । जसका कारण करिब ४५ किलोमिटर पाइपलाइनसम्मै लेदो पुगेको छ । त्यसको सम्पूर्ण रूपमा पुर्ननिर्माण गर्नुपर्ने अवस्थाको सृजना भएको छ ।
‘भुलबस प्राविधिक गडबडी हुन गयो’
उपभोक्ताको धारामा लेदोसहितको पानी गएको सूचनापछि ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिले गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ । समितिले सार्वजनिक सूचना नै जारी गरेर ग्राहकहरूसँग क्षमा याचनासहित खानेपानी संस्थाको सम्पूर्ण धाराहरूमा धमिलो लेदो गएको बारेमा स्पष्ट पारेको छ । समितिका अनुसार २०८२ साल साउन महिनाको ७ गते बेलुकीको समयमा खानेपानी मुहानका मुख्य गेट भल्वहरू अपरेट गर्ने क्रममा भुलबस प्राविधिक गडबडी हुन गएको हो ।
सोही कारणले खानेपानीको प्रमुख मुहान अटेजन डिप बोरिङमा हलचल भएर सम्पूर्ण पाइपलाइनहरूमा धमिलो पानी गएको समितिले जनाएको छ । ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष अमरबहादुर ओलीका अनुसार कर्र्मचारीको लापरवाहीका कारण उपभोक्ताहरूले सास्सी भोग्नुपरेको हो । उनले स्थापनाकालदेखि अहोरात्र खटिएर सेवा दिइरहेको बताए । समितिले साँझ र बिहान गरी दुई सिफ्टमा खानेपानी उपलब्ध गराउँदै आएको बताए ।
‘लापरवाहीका कारण अटो जोनको पानीको गेटबलमा पानी सप्लाइ भएछ । ट्यांकीको पानी पाइपलाइनमा हुनुर्नेमा अटो जोन बोरिंगतर्फ जाँदा समस्या भयो । त्यो पानी साढे चार सय फिट गहिरो जमिनमा गयो । दुई वटा पानीको प्रेसरले हलचल भयो । त्यसकारण धारामा हिलो जान पुग्यो’ हाल समितिको काममै सिलसिलामा काठमाडौँमा रहेका अध्यक्ष ओलीले टेलिफोनमा मिसन टुडेलाई भने ।
जसका कारण अटो जोन बोरिंगको संचरना नै खलबलिएर मुहानमा पनि समस्या देखिएको र समितिले क्षमासहित पुनर्निर्माणको काम गरिरहेको बताए । अहिले क्रमिक सुधार हुँदै गएको उनले जानकारी दिए । समितिका पदाधिकारीहरूलाई पाइपलाइन सुधार गर्न निर्देशन दिइसकेको र काम तीव्र गतिमा भइरहेको अध्यक्ष ओलीको भनाइ छ । समितिकी सहसचिव तथा सूचना अधिकारी झम्पा गौतमका अनुसार ट्यांकी सफा भइसकेको छ । उपभोक्ताहरूको धारामा शुद्ध पानी आउन थालिसकेको उनले बताइन् ।









प्रतिक्रिया दिनुहोस्