एसियाकप युएईमा हुने



काठमाडौँ ।

एसियाकप क्रिकेट प्रतियोगिता युएइमा हुने भएको छ । प्रतियोगिता ९ देखी २८ सेप्टेम्बरसम्म आयोजना हुनेछ । भारत र पाकिस्तान एकै समूहमा रहेको यो प्रतियोगितामा यि दुई कट्टर दुश्मनबीचको खेल १४ सेप्टेम्बरमा हुने छ । यदि दुवै टिम सुपर–४ मा पुगेमा २१ सेप्टेम्बरमा अर्को खेल हुन सक्ने सम्भावना रहेको छ । एशियाकप २०२५ को आयोजनाको जिम्मा भारतलाई मिलेको थियो ।

तर भारत–पाकबीच खराब सम्बन्धका कारण यो प्रतियोगिता न्युट्रल भेन्युमा खेल्न लागिएको हो । पाकिस्तानले भारतीय भूमिमा कुनै पनि हालतमा नखेल्ने बताएको थियो । यसअघि भारतले पनि पाकिस्तानमा आयोजना भएका प्रतियोगिताहरूमा आफ्ना खेल न्युट्रल भेन्युमा खेल्दै आएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नकवीले प्रतियोगिताका बारेमा जानकारी दिँदै प्रतियोगिता टी–२० फम्र्याटका आधारमा हुने जानकारी दिए ।

नकवी पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष समेत हुन् । उनले प्रतियोगिताबारे जानकारी दिँदै भने ‘मलाई यो जानकारी दिन पाउँदा निकै खुसी लागेको छ की एसीसी मेन्स एसियाकप २०२५ युएइमा आयोजना हुँदै छ । यो महत्वपूर्ण प्रतियोगिता ९ देखी २८ सेप्टेम्बरसम्म आयोजना हुने छ ।’

कुल ८ राष्ट्र सहभागी रहेको प्रतियोगितामा समूह ए मा भारत, पाकिस्तान, युएई र ओमान रहँदा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ रहेका छन् । एसीयाकपको सुरुवात १९८४ मा भएको थियो । अहिलेसम्म यो प्रतियोगिता १६ पटक भएको छ । भारतले यो प्रतियोगिता सर्वाधिक ८ पटक जित्दा श्रीलंकाले ६ र पाकिस्तानले २ पटक जितेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार