रुपन्देही ३ मा राजमोद्धारा उम्मेदवार घोषणा



श्यामलाल पोखरेल । बुटवल ।

आगामी कार्तिक १७ गते रुपन्देहीको ३ नम्बर क्षेत्रमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा भएको निर्वाचनमा विजयी प्रतिनिधि सभा सदस्य दिपक बोहराको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । राप्रापाका नेतासमेत रहेका दिपक बोहरालाई जिताउन राष्ट्रिय प्रजातनत्र पार्टी र नेकपा एमालेबीच गठबन्धन भएको थियो । निर्वाचन आयोगले रुपन्देही ३ नम्बर क्षेत्रमा निर्वाचनको मिति तोकेपछि अहिले चुनावी सरगर्मी बढ्न थालेको छ ।

उपनिर्वाचनका लागि जिल्लामा ठुलो चर्चाका साथै भित्रभित्रै चलखेल सुरु भैसकेको छ । हालसम्म राष्ट्रिय जनमोर्चाबाहेक अन्य कुनैपनि दलहरुले उम्मेदवार घोषणा गर्न सकेका छैनन् । राष्ट्रिय जनमोर्चाले भने केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान)लाई उम्मेदवार घोषणा गरिसकेको छ । गत असार २९ गते राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेपछि सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनमोर्चाले उम्मेदवार घोषणा गरेपछि रुपन्देहीमा चुनावी सरगर्मी भित्रभित्रै बढेको हो ।

अन्य दलहरुमा पार्टी भित्रको गुटबन्दीका कारण उम्मेदवारको विषयमा निर्णय गरेर घोषणा गर्न सकेका छैनन् । एमालेले खिमलाल भट्टाराईलाई अघि सारेको सुरुमै चर्चा चलेपनि एमालेभित्र खिमलालसँगै अन्य केही व्यक्तिको नाम आएपछि अहिले एमाले मौनजस्तै रहेको छ । एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले यही असार ५ गते पार्टी केन्द्रको बैठक बस्न लागेको र त्यो बैठकले केही गाइडलाइन गर्ने बताए । उनले भने, ‘हामीले उम्मेदवार घोषणा गरेर अघि बढ्नेछौँ तर अहिले कुन उम्मेदवार बन्छ भन्न सकिँदैन ।’ यद्यपि एमालेमा खिमलाल भट्टराईसँगै दधिराम न्यौपाने, शशी पौडेल र भरत पोखरलले पनि उम्मेदवारीमा दावी गरेको भन्ने पार्टी भित्र र बाहिर व्यापक चर्चाको विषय बनेको छ ।

एमालेमा बलिया उम्मेदवार खिमलाल भट्टराई नै हुन् भन्ने एमाले पङ्तिको संख्या ठूलै देखिन्छ । नेपाली काँगे्रसमा पनि उम्मेदवारको विषयले ठुलो चर्चा पाएको छ । तरपनि काँगे्रसमा पनि थुप्रै आकांक्षी देखिएका छन् । काँगे्रसमा पूर्वगृहमन्त्री बालकृष्ण खांण, डा. अनिता शाह, प्रमोद यादव, रामचन्द्र ढकाल र रमेश खनालको नामले चर्चा पाएको छ । काँगे्रसमा पूर्वगृहमन्त्री खांणको उम्मेदवार बन्ने मन भित्रभित्रै भएको र अदालतले के भन्छ र जनताले कसरी लिन्छन् भन्ने विषयमा खांणले भित्रभित्रै जोखना हेरिरहेको एक काँगे्रस नेताले बताए । पछिल्लो समय देउवासँग टाढिएको आरोप लागेका खांण कोइराला निवास गएपछि उनी काँगे्रसबाट उम्मेदवार बन्न सक्ने अनुमान गरिएको छ ।

तर यस विषयमा उनी केही नबोलेकाले काँगे्रस केन्द्रले कसको नाम सिफारिस गर्छ भन्ने अन्योल देखिन्छ । उपनिर्वाचनका लागि बालेन शाहका सल्लाहाकार तिलोत्तमाका सन्तोष गिरीले उम्मेदवारी दिने बताएपनि अझै आधिकारिक रुपमा घोषणा भने गरेका छैनन् । उनले भाइसाथी आफन्तजन र चिया चौतारोमा बसेर उम्मेदवारी दिने अनौपचारिक रुपमा बताएपनि आधिकारिक रुपमा घोषणा गरेका छैनन् । तर उनले छिट्टै पत्रकार सम्मेलन गरी आफूले उम्मेदवारी घोषणा गर्ने दावी गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र मधेशवादीलगायत अन्य दलहरुले पनि व्यक्ति किटानी गरी उम्मेदवार घोषणा गरेका छैनन् । यता उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ६ जनाको नाम सिफारिस गरिएको छ । तर उक्त ६ जनामध्ये आधिकारिक कुन व्यक्ति को हो भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्णय गर्न सकेको छैन । राप्रपाले रुपन्देहीबाट जिल्ला अध्यक्ष तथा पूर्वनगर प्रमुख सागरप्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, क्याप्टेन गौरव बोहरा, इन्जिनियर प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिकको नाम सिफारिस गरेको छ ।

२०७९ मंसिरको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दिपक बोहराले काँग्रेसका उम्मेदवार बालकृष्ण खांणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि अहिले रुपन्देही क्षेत्र नम्बर ३ ले देशभर नै चर्चा पाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार