सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत



बुटवल ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

उनका अनुसार अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ८३४ मिटर काम सकिएको इन्जिनीयर ज्ञवालीले बताइन् । उनका अनुसार अहिले सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ। ‘सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर छ । पहिलो बाइपासमा इन्भर्टको काम १४५ मिटर र १२४ मिटर लाइनिङको काम सकिएको छ ।

सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम ३० मिटर भइसकेको छ’, उनले भने । दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । इन्भर्ट र लाइनिङको काम सकेपछि एक दुई महिनापछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

उनका अनुसार सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । सुरुङमार्ग कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो ।

यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार