लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन्ः सञ्चार जगतले समाजमा अराजकता फैलायो’



गणेश रावत । कोहलपुर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चारजगतले समाजमा अराजकता फैलाउन लागेका बताएका छन् । मंगलबार सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी कोहलपुरको २९औँ वार्षिकोत्सवको समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । सञ्चारजगतको नाममा धेरै मिडियाहरू, मिडियाकर्मीहरू स्वछन्दतावादी बनेको उनको भनाइ थियो ।

मिडिया समाजमा अराजकता, अश्लीलता फैलाउन उद्यत् भएर लागेकोसमेत उनले बताए । राज्यको चौथो अंग भनिने मिडिया जगतका कारण समाजलाई बिस्तारै–बिस्तारै अराजकताको दिशातर्फ धकेल्ने कोसिस भइरहेको उनले बताए । ‘आज एक हिसाबले हामीले भन्ने गरेका छौँ । सरकारको चौथो अंगका रूपमा हामीले सञ्चार जगतलाई लिनेपनि गरेका छौँ । तर, आज सञ्चारजगतका नाममा धेरै मिडियाहरू, मिडियाकर्मीहरू स्वछन्दतावादी बन्ने र समाजमा अराजकता, अश्लीलता फैलाउनको निम्ति उद्यत भएर लाग्ने जुन खालका प्रवृति छन्’ मुख्यमन्त्री आचार्यले भने ।

सञ्चारमाध्यम र मिडियाकर्मी परिवर्तनको सारथी बन्नुपर्नेमा उनको भनाइ थियो । यस्ता कार्यमा सञ्चार जगतले आफूलाई जिम्मेवार ढंगले अघि बढ्न र बढाउन जरुरी रहेको बताए । मुलुक बनाउने जिम्मा, दायित्व र कर्तव्य सबैको साझा रहेको बताउँदै उनले साझा संकल्पले मात्रै मुलुक परिवर्तन गर्न सकिने बताए ।

‘लुम्बिनी प्रदेशको सन्दर्भमा पनि तपाईँ हाम्रो साझा प्रयत्नले मात्रै परिवर्तन गरेर देखाउन सक्छौँ । आज कतिपयले भन्ने गरेका छन् । केही भएन। केही गरेन । सरकार र मिडियामाथि लाञ्छना लाग्ने गरेका छन् ।’ के साँच्चै भने जस्तै मुलुक परिवर्तन नभएकै हो त ? के विकास हुन नसकेको हो त ? यस विषयमा पनि सञ्चार जगतले छलफल गर्नुपर्ने अवस्था आएको छ । यस विषयमा सञ्चार जगतले अब बहस र छलफल गर्न जरुरी छ भन्ने मैले ठानेको छु । उनले भने ।’

एउटा गलत कामलाई लिएर सिंगो व्यवस्था र सरकारप्रति नकारात्मक दृष्टिकोणमा लाग्ने काम भइरहेकाले सञ्चार जगतले चिर्न आवश्यक रहेको बताए । लुम्बिनी प्रदेश सरकार सञ्चार क्षेत्रसँग अत्यन्तै नजिक र सुमधुर सम्बन्ध रहेको जानकारी दिए । सञ्चार गृह र पत्रकारहरूको हकहितको संरक्षणको लागि विभिन्न खालका कार्यक्रमहरू समेत अघि बढाएको उनले बताए ।

आन्तरिक मामिला मन्त्री भइरहँदा र पत्रकाहरूसँग नजिक रहेकाले पत्रकारिता क्षेत्र के हो ? पत्रकारहरूको अवस्था के हो ? भन्ने नजिकबाट बुझेको उनको भनाइ छ । जसको कारण कल्याणकारी कोष, उपकरण बीमा, विद्युत महशुलमा अनुदान, छात्रवृत्ति लगायतका कार्यक्रम अगाडि सारिएको उनले जानकारी दिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले समय अनुसार एनटिभीले आफूलाई परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेशको समग्र विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकोसमेत उनले जानकारी दिए । सरकारी स्वामित्वमा रहेको एनटिभीको संरक्षण र विकासको लागि आगामी वर्षका निम्ति योजनासहित दोब्बर बजेट विनियोजन गरिएको उनले बताए । कार्यक्रमा बोल्ने अधिकांश वक्ताहरूले विश्वासनी समचार र दर्शकको चाहाना अनुसार कार्यक्रम प्रस्तुत गर्न आग्रह गरे । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार