सेवाग्राहीलाई छिटो, छरितो र भरपर्दो सेवा दिन सुझाव



श्यामलाल पोखरेल । बुटवल ।

बुटवल उपमहानगरपालिकाले गरेको काम र नागरिकलाई दिएको सेवा सुविधाको विषयमा सार्वजसनिक सुनुवाइ कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र रिपोर्टर्स क्लब लुम्बिनीको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो । कार्यक्रमका सहभागिहरूले बुटवलको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्, फोहोर, ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन, छाडा कुकुरको समस्या र बाँदरको आतंकबारे आआफ्ना धारणा राख्दै नागरिकलाई सेवा प्रवाहबारे आआफ्ना भनाइ राखेका थिए ।

उनीहरूले कमजोरी भएका काममा सुधार ल्याउन सुझाव दिँदै शिक्षामा भएको मनोमानी नियन्त्रण गर्न आग्रह गर्दै सुख्खानगर क्षेत्रमा खानेपानीको समस्या बढेकाले तत्काल समस्या समाधान गर्न बुटवल उपमहानगरपालिकालाई आग्रह गरे । संविधानविपरीत सरकारी स्कुलहरूले शिक्षण शुल्क उठाउने गरेकाले त्यस्ता सरकारी स्कुलहरूलाई कारबाही गर्न सरोकारवालाहरूले माग गरेका छन् । त्यस्तै गर्मीको समयमा विद्युत् जाने समस्या बारम्बार भएकाले उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै फोहोर उचित व्यवस्थापन गर्न आग्रह गरेका थिए।

छाडा कुकुरले समस्या पारेको र बुटवल वडा नम्बर १, २ र ३ मा बाँदर आतंक बढेकाले यस विषयमा गम्भीर बन्न उपमहानगरलाई आग्रह गरे । उनीहरूले बुटवल उपमहानगरपालिकाभित्र छिटो छरितो काम नहुने गरेको गुनासो गर्दै कर्मचारीतन्त्रमा भोलिवाद बढेकाले सेवाग्राहीले सास्ती भोग्नु परेको सहभागिले बताए । कार्यक्रममा बुटवल उपमहानागरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरवासीले सेवा प्रवाहबारे उठाएका विषय आफूले गम्भीर रूपले लिएको बताउँदै आगामी नगर कार्यपालिकामा छलफल गरेर नगरवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

नगर प्रमुख पाण्डेयले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, फोहोर तथा सरसफाइ व्यवस्थापन, ट्राफिक व्यवस्थापन, छाडा कुकुर र बाँदर व्यवस्थापनका विषयमा सुधार गर्न आवश्यक रहेको बताउँदै भने, ‘नगरवासीका समस्या हामी सबैका समस्या हुन् । हामी यो विषयमा गम्भीर छौँ ।’ उनले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राखिएको बताउँदै सबै जात, भाषा, धर्म, लिङ्ग र समुदायको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको बताए ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले कमीकमजोरीलाई सुधार गर्नका लागि यो सार्वजनिक सुनुवाइ कार्यक्रमले सहयोग पुराएको बताइन । उनले भनिन्, ‘कमजोरी सबैमा हुन्छन्, सबैले सुधार गर्दै जाने हो र हामीले पनि कमजोरीहरूलाई सुधार गरेर नगरवासीको हितमा काम गर्छौँ’ उनले भनिन् । जनप्रतिनिधि र सेवाग्राहीबीचको सम्बन्ध बढाउन र सुशासन र विकासका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम महत्वपूर्ण रहेको बताइन् । इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले लागूपदार्थको सेवन देशव्यापी समस्या भएको र अनलाइन ठगीका घटनाहरू बढ्दो अवस्थामा रहेको जानकारी गराउँदै समाजमा सुशासन कायम गर्न सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

काँग्रेसका बुटवल नगर उपसभापति ज्योती भण्डारी, एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेल, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भेकबहादुर थापा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष माधवकुमार खनाल, पत्रकार केशव भण्डारी लगायतका सहभागीहरूले सेवा प्रवाहमा देखिएका समस्यामा सुधार गरेर नागरिकलाई छिटो छरितो सेवा दिन आग्रह गरेका छन् ।

उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारीहरू, जनप्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न विषयगत समितिका संयोजक, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिरुको सहभागितामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार