नेपालमा यौन पेशा कानुनअनुसार बर्जित छ । विश्वका कैयौँ देशमा यौन पेशालाई मान्यता दिएर कानुन बनाइ सरकारले नै राजस्व लिएर सुरक्षित यौन व्यवसायसमेत सञ्चालन गर्न दिएको देखिन्छ । जसका कारण ती देश र ती स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचोसमेत लाग्ने गरेको देखिन्छ । जसका कारण ती देश र ती ठाउँहरुमा आर्थिक आयआर्जन भएको छ । नेपालमा पनि समयसमयमा कानुन बनाएर यौनकर्मीहरुलाई सुरक्षित रुपमा यो पेशा सञ्चालन गर्न दिइनुपर्छ भनेर आवाजहरु उठ्ने गरेको समेत पाइन्छ । हाम्रो देशका हरेक मुख्य सहर तथा साना साना बजारक्षेत्रमा व्यापक रुपमा अवैधजन्य रुपमा यौन पेशा सञ्चालन भइरहेको पाइन्छ ।
प्रहरीले विभिन्न सार्वजनिक स्थल तथा होटलबाट यौनकर्मीहरुलाई पक्राउ गर्दै आइरहेकोबाट यो पुष्टि हुन्छ । यकिन तथ्यांक नभएपनि देशभरमा लाखौँको संख्यामा यौनकर्मी महिलाहरु रहेको अनुमान लगाउन सकिन्छ । हाम्रो देशमा विशेषतः दुई प्रकारबाट महिलाहरु यौन पेशामा लागेको देखिन्छ । एउटा, रहरैरहर र अरुको लहलहैमा लागेर, अरुको देखिसिकी गरेर । अर्को, बाध्यताका कारण । कैयौँ पहाडि दुर्गम जिल्ला तथा ग्रामीण भेगबाट कामको खोजीमा वा अध्ययनका सिलसिलामा सहर बजार क्षेत्रमा आएका युवतीहरु, जसले सहर बजारका झिलिमिली, फेसन, स्टाइल, लवाइखवाइ देखेर आफूलाई पनि त्यसैअनुसारको बनाउनका लागि खर्च जुटाउने मेसोमा ।
सहरिया जस्तो देखिन, महंगा होटलहरुमा गएर खानपीन गर्न, आफ्ना ठुलाठुला इच्छा आकांक्षाहरु पूरा गर्नका लागि आवश्यक पैसाको जोहो गर्न यस पेशाप्रति लागेका देखिन्छ । त्यसैगरी अर्को कसैले अन्जानरुपमा बेचबिखनमा पारेर जबर्जस्ती यो पेशामा लाग्न बाध्य भएका या घरको आर्थिकस्थिति कमजोर भएका वर्गका युवतीहरु । लुकिछिपी रुपमा यौन पेसा व्यवसाय सञ्चालन गरिरहेका कैयौँ युवतीहरु असुरक्षित हुने गरेका छन् । जसका कारण आफ्नो यौन चाहना पूरा गर्न त्यहाँ पुग्ने पुरुषहरुसमेत असुरक्षित रहेको पाइन्छ । भर्खरै मात्र सुर्खेतमा यस्तै एक घटनाको उजागार भएको छ । सुर्खेतमा एचआइभी संक्रमित महिलानै यौन व्यवसायमा लागेको पाइएको छ ।
हाल दुई संक्रमितसहित २९ जना यौनकर्मी पक्राउपछि थुनामा छन् । प्रहरीका अनुसार एक जना महिला र एक जना होटेल सञ्चालक एचआइभी संक्रमित रहेको पत्ता लागेको हो । यो घटनाले संक्रमितहरूकै प्रत्यक्ष संलग्नताले अन्य यौनकर्मी र सेवाग्राहीहरूमा समेत संक्रमणको जोखिम बढेको प्रष्ट देखिन्छ । सोच्न पनि सकिँदैन कि ती एचआईभी संक्रमित महिलासँग यौनसम्पर्क गर्ने कति पुरुषहरुलाई रोग सरेको होला, उनीहरुमार्फत आफ्नो घरपरिवार तथा अन्य कैयौँ पेसाकर्मी महिलाहरुसम्मलाई संक्रमण सरेको होला, अन्दाज लगाउन गाह्रो छ, डरलाग्दो तथ्यांक आउन सक्छ । कति समुदायमा संक्रमण स¥यो होला, कति सर्वसाधारण मानिसहरुमा संक्रमण पुग्यो होला अत्यन्तै डरलाग्दो अवस्था र गम्भीर प्रश्न उठेको छ ।
लुकिछिपी यौन पेसा गर्ने अधिकांश पेसाकर्मी तथा जोसमा होस गुमाएर असुरक्षित रुपमा यौन सम्पर्क गर्ने पुरुषहरुका कारण अवस्था भयावह हुन सक्ने देखिन्छ । स्थानीय स्तरमा सामाजिक चेतना अभाव, बेरोजगारी, गरिबी र कमजोर नियमन प्रणालीका कारण यस्तो धन्दा अदृश्य रुप्मा मौलाउँदै गएको देखिन्छ । कानुनअनुसार यो पेसालाई पूर्णरुपमा बन्देज गर्नका लागि तथा स्थायी समाधानका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिक समाजको पनि समन्वय आवश्यक देखिन्छ । विभिन्न सामाजिक संघसंस्थाहरु, तीनै तहका सरकार तथा सरोकारवालाले यो पेसालाई पूर्णरुपमा बन्देज गर्न गम्भीर बन्नुपर्ने आवश्यक छ । साथै यौन शिक्षाका बारेमा सचेतनामूलक जनचेतनाका कार्यक्रमहरु व्यापक रुपमा समुदायस्तरमा लैजान जरुरी छ । जसका कारण यौन सम्पर्क गर्ने व्यक्तिहरु सुरक्षित रहन सकुन् ।









प्रतिक्रिया दिनुहोस्