कोहलपुर ।
२१२औँ भानु जयन्तीको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले खुला भानुभक्तीय ‘रामायण’ वाचन प्रतियोगिता आयोजना गरेको छ । आइतबार भानु जयन्तीको अवसरमा पुस्तकालयले खुला भानुभक्तीय ‘रामायण’ वाचन प्रतियोगिता आयोजना गरेको हो ।
गत वर्षबाट पुस्तकालयले भानु जयन्तीको अवसरमा नयाँ पुस्तालाई पनि आफ्नो धर्म, संस्कार र संस्कृतिको इतिहासबारे जानकार गराउन खुला ‘रामायण’ वाचन प्रतियोगिता आयोजना गर्दै आएको छ ।
नगरपालिकाभित्र रहेका संस्थागत तथा निजी विद्यालय र अन्य इच्छुकको सहभातिमा खुला ‘रामायण’ वाचन प्रतियोगिता गर्दै आएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराइले जानकारी दिए । भानुभक्तले लेखेको ‘रामायण’लाई सहभागी प्रतियोगीले लय हालेर वाचन गरेका हुन् । प्रतियोगितामा विद्यार्थीहरु लगायत १५ जना सहभागी थिए ।
प्रतियोगितामा शिवाना देवकोटा प्रथम, प्राप्ति काफ्ले द्वितीय र लक्षमण उपाध्याय तृतीय भएका छन् । कोहलपुरका पूर्वनगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका लुटबहादुर रावतले ‘रामायण’ पाठ्क्रममा समावेश गरिनुपर्ने बताए । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको बताए ।
भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने उनको भनाइ थियो । उनको निधन १९२५ साल असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्