भोजपुर ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई फलफूलको माध्यमबाट आयआर्जनमा जोड्न गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्न लागेको हो । फलफूलका खेती लागि उपयुक्त भूगोललाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
बजेट नै व्यवस्थापन गरिएकाले आगामी आर्थिक वर्षबाट कार्यक्रम सञ्चालन हुने अध्यक्ष राईले बताए । यो कार्यक्रमार्फत किसानलाई मागको आधारमा भूगोलअनुसारको बिरुवा वितरण गरिने अध्यक्ष राईको भनाइ छ । ‘हामीले एक घर एक फलफूल बगैँचाको कार्यक्रम सञ्चालनको तयारी गरेका छौँ,’ अध्यक्ष राईले भने, ‘यसको मुख्य उद्देश्य किसानलाई फलफूल खेतीको माध्यमबाट आयआर्जनमा जोड्ने हो । किसानलाई उनीहरुको मागको आधारमा बिरुवा वितरण गछौँ । किसानले बिरुवा माग गरेपछि जमिन र भूगोलको अनुगमन गरेर प्राविधिकले ठिक छ भनेपछि मात्र बिरुवा वितरण हुन्छ ।’
गाउँपालिकाले यसअघि थालेको अकबरे खुर्सानी खेतीको कार्यक्रम किसानको लागि लाभदायक बनेपछि आगामी वर्षको लागि व्यावसायिक फलफूल खेतीको कार्यक्रम अघि बढाइएको अध्यक्ष राईको भनाइ छ । गतवर्ष अकबरे(डल्ले) खुर्सानीबाट गाउँपालिकामा रु १८ करोड बराबर रकम भित्रिएको उनको भनाइ छ । गाउँपालिकमा फलफूल खेतीको अधिकांश उपयुक्त भूगोल रहेकोले यो कार्यक्रम सञ्चालनको तयारी गरिएको अध्यक्ष राईले बताए ।
यो कार्यक्रम बिरुवा रोप्ने मात्र नभएर ‘रोप्ने, हुर्काउने’ अभियानमा केन्द्रित हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । किसानले बगैँचामा विस्तारको लागि बिरुवा माग गरेपछि सुरुदेखि बिरुवा नहुर्किएसम्म प्राविधिकले नियमित अनुगमगन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । ‘हामीले विस्तृत कार्ययोजना निर्माण गरेर नै यो कार्यक्रम सञ्चालन गर्न लागेका हौँ,’ प्रशासकीय अधिकृत भट्टराईले भने, ‘यो कार्यक्रमको नारा नै ‘रोप्ने हुर्काउने’ रहेको छ । किसानबाट विरुवाको माग भएदेखि जमिन तयार नभएर बिरुवा नहुर्केसम्म प्राविधिकबाट अनुगमन हुन्छ ।’
प्राविधिकले मल लगाउने, हेरचाह गर्ने, रोग किराबाट बचाउने उपायको बारेमा किसानलाई स्थलगत रूपमा नै सेवा दिने उनको भनाइ छ । कुनै कारणले बिरुवा मरेमा त्यसकोसमेत तथ्याङ्क कृषि प्राविधिकले राख्ने उनले जानकारी दिए । त्योसँगै बिरुवा मर्नुको कारणसमेत पहिचान गरिने उनको भनाइ छ ।
गाउँपालिकाका छ वटै वडामा कार्यक्रम सञ्चालनको लागि करिब रु ४० लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् । यो कार्यको लागि गाउँपालिकाका प्राविधिकसँगै यहाँका विद्यालयमा कृषि विषय पढिरहेको विद्यार्थीलाई पारिश्रमिक दिएर परिचालन गरिने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्