शेरबहादुर ऐर । कैलाली ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी शुक्रबार महिनावारी भइन् । महिनावारी भएको समयमा कुप्रथाका रुपमा रहेको घरभित्र बस्न नपाउने मान्यताले उनले ज्यान गुमाउनुपरेको छ । परम्पराअनुसार उनी महिनावारी भएका बेला गोठमा बसेकी थिइन् । घरनजिकै कच्ची गोठभित्र सर्पले डस्दा उनको मृत्यु भएको हो । उनी आफ्नो घरको आँगनमै बनाइएको गोठ पानी परेपछि चुहिने भएकाले बसिनन् । नातामा जेठाजुसमेत पर्ने छिमेकी सुके आउजीको घरमा बनाइएको गोठमा सुत्न गएकी थिइन् ।
तीन छोरालाई घरमा सुताएर गोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले डस्यो । बायाँ गालामा सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकीलाई खबर गरेकी थिइन् । बोल्न सक्ने अवस्थामै रहेकी कमलालाई डसेको करेत सर्प उनको बिस्तारानजिकै हिँडिरहेको अवस्थामा भेटिएको भिडिओसमेत स्थानीयले बनाएका थिए । उनका छिमेकी सुचित्र शाहकाअनुसार राति करीब साढे १२ बजे सर्पले कमलालाई डसेको कुरा थाहा भएको थियो । उनलाई तत्कालै अटोरिक्सा खोजेर उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
प्रादेशिक अस्पतालमा बिरामीको चापका कारण आइसीयु र भेन्टिलेटर खाली थिएनन् । झन्डै डेढ घण्टापछि कमलालाई आइसीयुमा राखेर उपचार सुरु गरिएको शाह बताउँछन् ।‘सर्पले डसेपछि राति नै हामीलाई खबर गरिएको थियो । हामीले तत्काल अटोरिक्सामा राखेर प्रादेशिक अस्पताल पुराएका थियौँ,’ शाहले भने, ‘त्यहाँ आइसीयु र भेन्टिलेटर खाली थिएन । डेढ घण्टापछि मात्र आइसीयुमा राखिएको थियो । तर उहाँलाई बचाउन सकेनौँ ।’ बेलैमा उपचार नहुँदा अन्ततः कमलाको शनिबार राति ८ बजे निधन भयो ।
उनी गत वैशाखमा भारतबाट फर्किएकी थिइन् । श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी हुन् । उनका ६, ८ र १२ वर्षीय छोराहरू विद्यालय भर्ना भएर पढिरहेका थिए । भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कमलाले कृष्णपुरमा हालै एकतले पक्की घर पनि बनाएकी थिइन् । मृतक कमलाको शव भने सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । उनका श्रीमान घर पुगेपछि शव बुझ्ने बताइएको छ ।
पुख्र्यौली घर अछामको मेल्लेख गाउँपालिका–८ भएकी कमला आउजी महिनावारी भएका बेला घरमा सुत्यो भने देवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण छाउगोठमा सुतेकी थिइन् ।कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले महिनावारी भएका बेला गोठमा सुत्ने गलत मान्यतालाई चिर्न गत वर्षदेखि सचेतनामूलक अभियान चलाइएको बताए । गोठ भत्काउने कामसमेत गरिएको उनको भनाइ छ । तर, ग्रामीण क्षेत्रमा अहिले पनि गोठमा बस्ने परम्परा कायमै रहेका कारण दुःखद घटना हुन पुगेको उनी बताउँछन् ।
‘हामीलाई बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्याका रुपमा देखा परेको थियो । त्यसपछि वडाहरुमा छाउपडी कुप्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थियौँ,’ ओझाले भने, ‘वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको थियो तर अझै यो प्रथा कायमै हुँदा दुःखद घटना व्यहोर्नुप¥यो ।’ नगर प्रमुख ओझाका अनुसार आगामी आर्थिक वर्ष नगरपालिकामा छाउपडी कुप्रथाविरुद्ध सचेतनामूलक अभियान नै चलाउने गरि नीति तथा कार्यक्रममा समेटिएको छ । पुख्र्यौली घर अछाम भएका समुदायमा अहिले पनि महिनावारी भएका बेला महिला तथा किशोरीहरुलाई गोठमा राख्ने गलत परम्परा कायम रहेको पनि उनी बताउँछन् ।
आउजी महिनावारी भएकै कारण गोठमा बसेका बेला सर्पको डसाइबाट अकालमै मृत्युवरण गर्ने एक्लो महिला भने होइनन् । महिनावारी हुँदा गोठमा बस्नुपरेका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कयौँ किशोरी, युवती तथा महिलाहरुले अकालमै ज्यान गुमाएका छन् ।
२३ साउन २०८० मा बैतडीमा गोठमा सुतेका बेला १६ वर्षीया किशोरीले अकालमै ज्यान गुमाएकी थिइन् । पञ्चेश्वर गाउँपालिका–४ को फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पले डस्दा मृत्यु भएको थियो ।
सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी कुप्रथा उन्मूलन गर्ने नीतिअनुसार गोठ भत्काउने अभियान नै चलाएको थियो । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सुदूरपश्चिमका ७ जिल्लामा ७ हजार ५४५ छाउगोठ भत्काइएको थियो । अभियानका क्रममा कञ्चनपुरमा मात्र २३० घर छाउगोठ भत्काइएको थियो । सबैभन्दा धेरै अछाममा ५८१३ छाउगोठ भत्काइएको प्रहरीको तथ्यांक छ । बाजुरामा ५५७, डोटीमा ३९३, कैलालीमा ३८६ र डडेल्धुरामा २३ छाउगोठ भत्काइएको थियो ।
स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा गृह मन्त्रालयले प्रहरी प्रशासनमार्फत छाउगोठ भत्काएपनि उक्त अभियानले सार्थकता पाउन नसकेको कुराको ज्वलन्त उदाहरण कञ्चनपुरको पछिल्लो घटना हो । अर्कोतिर छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि सुदूरपश्चिममा भने कानुनविपरीत छाउपडी कुप्रथा मान्दै छाउगोठमा महिलालाई राख्ने गलत परम्पराको अन्त्य हुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्