स्थानीय तहमा प्रशासनिक खर्चको भार



शेरबहादुर ऐर । कैलाली ।

कैलालीका केही स्थानीय तहहरूले आफ्नो वेबसाइट तथा आधिकारिक फेसबुक पेजमार्फत चालू आर्थिक वर्षको बजेट खर्चको विश्लेषणसहित सार्वजनिक गरेका छन । जसमा अधिकांश स्थानीय तहहरूले पुँजीगतभन्दा चालूतर्फको बजेट बढी खर्च गरेको देखिन्छ । गोदावरी नगरपालिकाले कार्यालयमा पेश हुन आएका योजना तथा कार्यक्रमहरूमध्ये बजेट अभावका कारणले केही बाहेकका अन्य सम्पूर्ण योजना तथा कार्यक्रमहरूको रकम भुक्तानी भएको जनाएको छ ।

गोदावरीले चालू आवमा एक अर्ब २३ करोड ६१ लाख ५० हजार रूपैयाँ विनियोजन गरेको छ । जसमा एक अर्ब दुई करोड ४० लाख ९१ हजार छ सय १२ रकम (८२ दशमलव ८४ प्रतिशत) खर्च गरेको छ । गोदावरीले पुँजीगततर्फ ४४ करोड ७० लाख २७ हजार विनियोजन गरेकोमा ३४ करोड ५५ लाख ६४ हजार सात सय २० रूपैयाँ (७७ दशमलव तीन प्रतिशत) खर्च गरेको छ भने चालूतर्फ ७८ करोड ९१ लाख २३ हजार विनियोजन गरेकोमा ६७ करोड ८५ लाख २६ हजार आठ सय ९२ रूपैयाँ (८५ दशमलव ९८ प्रतिशत) खर्च गरेको छ ।

गौरिगंगा नगरपालिकाले चालू आवमा ७४ करोड ३२ लाख ४० हजार एक सय रूपैयाँ विनियोजन गरेकोमा ५९ करोड २७ लाख २९ हजार सात सय छ रूपैयाँ (७९ दशमलव ७४ प्रतिशत) खर्च गरेको जनाएको छ । जसमा पुँजीगततर्फ २९ करोड ७३ लाख ३५ हजार एक सय विनियोजन भएकोमा १३ करोड ३८ लाख ९२ हजार छ सय दुई रूपैयाँ (६१ दशमलव ६१ प्रतिशत) हो भने चालूतर्फ ५२ करोड ५९ लाख पाँच हजार विनियोजन भएकोमा ४५ करोड ८८ लाख ३७ हजार एक सय चार रूपैयाँ (८७ दशमलव २५ प्रतिशत) खर्च गरेको जनाएको छ ।

लम्की चुहा नगरपालिकाले चालू आवको सम्पूर्ण खर्च तथा भुक्तानीसम्बन्धी लेखांकन कार्य असार २५ गते रातिको १२ बजेदेखि बन्द गरिएको जनाउँदै चालू आवमा कूल विनियोजित बजेटमध्ये ८२ दशमलव दुई प्रतिशत खर्च भएको जनाएको छ । लम्की चुहाले चालू आवमा एक अर्ब ११ करोड ६४ लाख ७७ हजार रूपैयाँ विनियोजन गरेकोमा ९१ करोड ५७ लाख ४० हजार एक सय ३२ रूपैयाँ खर्च गरेको जनाएको छ । जसमा पुँजीगततर्फ ३९ करोड ६२ लाख ४९ हजार नौ सय १५ रूपैयाँ विनियोजन गरेकोमध्ये ३० करोड ७६ लाख ४५ हजार सात सय १८ रूपैयाँ (७७ दशमलव ६४ प्रतिशत) खर्च भएको छ भने चालूतर्फ ७२ करोड दुई लाख २७ हजार ८५ रूपैयाँ विनियोजन भएकोमा ६० करोड ८० लाख ९४ हजार चार सय १४ रूपैयाँ (८४ दशमलव ४३ प्रतिशत) खर्च गरेको छ ।

यस दैनिकले चालू आवको बजेट खर्चको विश्लेषणसहितको तथ्यांक माग्दा केही पालिकाले अहिले आन्तरिक तयारीमा जुटेको तर, केही दिनमै उपलब्ध गराउने जनाएका थिए । जसमा १३ स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका, भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका रहेका छन्। जिल्लाको टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखापालसँग फोन सम्पर्क गर्न खोज्दा उठेन भने कैलारी गाउँपालिकाका लेखापालले शुक्रबारनै उपलब्ध गराउने बताएपनि समाचार तयार पार्दासम्म उपलब्ध गराउन सकेनन् ।

प्राप्त तथ्यांकअनुसार जानकी गाउँपालिकाले सबैभन्दा बढी चालू आवमा कूल विनियोजित बजेटको ८६ दशमलव ९१ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । जानकीले यस वर्ष ६१ करोड ४६ लाख १८ हजार रकम विनियोजन गरेकोमा ५३ करोड ४१ लाख ९० हजार नौ सय १९ रूपैयाँ खर्च गरेको छ । जसमा पुँजीगततर्फ १९ करोड ४१ लाख ६६ हजार छ सय ९९ रूपैयाँ विनियोजन गरेकोमा १४ करोड ५२ लाख पाँच हजार सात सय ६१ रूपैयाँ (७४ दशमलव ७८ प्रतिशत) खर्च गरेको छ भने चालूतर्फ ४२ करोड चार लाख ५१ हजार तीन सय एक रूपैयाँ विनियोजन गरेकोमा ३८ करोड ८९ लाख ८५ हजार एक सय ५७ रकम (९२ दशमलव ५२ प्रतिशत) खर्च गरेको छ ।

जिल्लाको पहाडी क्षेत्रमा रहेको चुरे गाउँपालिकाले कूल विनियोजित बजेटमध्ये ८३ दशमलव ५५ प्रतिशत खर्च गरेको छ । चालू आवमा ४९ करोड ९२ लाख २८ हजार रूपैयाँ विनियोजन गरेकोमा गाउँपालिकाले ४१ करोड एक लाख ५० हजार रूपैयाँ खर्च गरेको छ । जसमा पुँजीगततर्फ १५ करोड ९८ लाख २९ हजार विनियोजन गरेकोमा १२ करोड ४० लाख चार हजार रूपैयाँ (७७ दशमलव ६२ प्रतिशत) र चालूतर्फ ३३ करोड ९३ लाख ९८ हजार रूपैयाँ विनियोजन भएकोमा २९ करोड ३० लाख पाँच हजार ८६ दशमलव ३५ प्रतिशत) खर्च गरेको जनाएको छ।

झनै घट्यो धनगढीको बजेट खर्च गर्ने क्षमता 

कैलालीको एकमात्र उपमहानगरपालिका धनगढीको गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा खर्चमा कमी आएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ मा गत वर्षको खर्च तुलनामा आठ दशमलव ६१ प्रतिशतले कमी आएको हो । चालू आर्थिक वर्षमा दुई अर्ब २१ करोड ७८ लाख ६० हजार दुई सय २० रूपैयाँ रकम विनियोजन भएकोमा एक अर्ब ६४ करोड ६२ लाख ५० हजार आठ सय ८० रूपैयाँ खर्च भएको जनाइएको छ । जुन कूल बजेटको ७४ दशमलव २२ प्रतिशत हो ।

धनगढीले चालू आर्थिक वर्षमा एक अर्ब ९५ करोड चार लाख २१ हजार दुई सय ९८ रूपैयाँ विनियोजन गरेकोमा एक अर्ब ६१ करोड ५५ लाख ७३ हजार सात सय २४ रूपैयाँ खर्च गरेको थियो । जुन कूल विनियोजन बजेटको ८२ दशमलव ८३ प्रतिशत थियो । धनगढीले चालू आवमा विनियोजन भएको कूल बजेटमा ५७ करोड १६ लाख नौ हजार तीन सय ४० रूपैयाँ खर्च गर्न सकेको छैन् । धनगढीको चालू आवको पुँजीगततर्फको खर्च पनि सन्तोषजनक रहेको छैन । चालू आर्थिक वर्षको धनगढीको खर्चले विकास निर्माणमा कम र प्रशासनिक कार्यमा बढी खर्च गरेको देखिन्छ ।

धनगढीले एक अर्ब १६ लाख ७६ हजार सात सय नौ रूपैयाँ पुँजीगततर्फ विनियोजन गरेकोमा ६२ करोड ९९ लाख ९९ हजार एक सय पाँच रूपैयाँ (६२ दशमलव ८९ प्रतिशत) खर्च गरेको छ भने चालूतर्फ एक अर्ब २१ करोड ६१ लाख ८३ हजार पाँच सय १० रूपैयाँ विनियोजन भएकोमा एक अर्ब एक करोड ६२ लाख ५१ हजार सात सय ७५ रूपैयाँ (८३ दशमलव ५६ प्रतिशत) खर्च गरेको जनाएको छ । गत आर्थिक वर्षमा धनगढीले आन्तरिक आयबाट ३३ करोड १२ लाख ५२ हजार चार सय चार, राजस्व बाँडफाँटबाट ३५ करोड ८८ लाख दुई हजार एक सय ३४, अनुदानबाट ९० करोड सात लाख २७ हजार आठ सय ६२ र अन्य प्राप्तिबाट ६१ करोड ८१ लाख ५२ हजार पाँच सय ६२ रूपैयाँ प्राप्त गरेको थियो ।

धनगढीले चालूतर्फ एक अर्ब ४७ लाख ९८ हजार पाँच सय चार, अन्य कोषको भुक्तानी ५८ करोड ८३ लाख सात हजार आठ सय ३४ र पुँजीगत खर्च ६१ करोड सात लाख ९१ हजार एक सय २८ रूपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । भनिएको छ– ‘कुल चालू र पुँजीगत खर्चमा आन्तरिक आयको हिस्सा २० दशमलव ८० प्रतिशत रहेको छ । यसले पालिकाले विकास निर्माणमा कम खर्च गरेर प्रशासनिक कार्यमा बढी खर्च गरेको जनाउँछ । प्रशासनिक खर्चलाई नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँटको रकमलाई अधिकतम रूपमा विकास निर्माणमा लगानी गर्न आवश्यक छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार