कोहलपुरमा ‘बडघर प्रथा’लाई कानुनी मान्यता



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिकाले ‘बडघर प्रथा’लाई कानुनी मान्यता दिएको छ । थारू समुदायमा विद्यमान परम्परागत संस्था ‘बडघर प्रथा’लाई नगरपालिकाले कानुनी मान्यता दिएको हो । कोहलपुर नगरपालिका क्षेत्रमा रहेका टोल बडघर संस्थालाई परिचालन गर्न बनेको ऐन नगरपालिकाको १७औँ नगर सभामा पेस भएको थियो ।

शनिबार सम्पन्न नगर सभामा कोहलपुर नगरपालिकाका नगर प्रमुख तथा सभाका अध्यक्ष पूर्णप्रसाद आचार्यले ‘बडघर ऐन २०८२’ सहित चार वटा ऐन छलफल र निर्णयका लागि प्रस्तुत गरेका थिए । सभामा उक्त ऐन सर्वसहमतिले पारित गरेको नगर प्रमुख आचार्यले बताए । योसँगै बडघर प्रथालाई कानुनी मान्यता दिने कोहलपुर नगरपालिका बाँकेको तेस्रो स्थानीय सरकार बनेको छ । यसअघि राप्ती सोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकाले पनि बडघर ऐन पारित गरिसकेका छन् ।

यी पालिका थारू बाहुल्य क्षेत्र हुन् । कोहलपुर नगरपालिकामा थारू समुदायको झण्डै २२ हजार जनसङ्ख्या रहेको छ । नगर प्रमुख आचार्यका अनुसार सभामा बडघर ऐनसँगै आर्थिक विधेयक–२०८२, विनियोजन विधेयक–२०८२, नगर प्रहरी ऐन संशोधनसम्बन्धी प्रस्ताव पारित गरिएको हो । सभामा सुरुमै कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले न्यायिक समितिको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन् ।

त्यसपछि सभाका अध्यक्ष आचार्यले आव २०८२–०८३ को आयव्यय विवरण र बजेटमाथि छलफलका लागि प्रस्ताव गरेका थिए । यस्तै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद ५ को दफा २२ र नगर सभाको समिति गठनसम्बन्धी नियमावली–२०७५ को परिच्छेद २ बमोजिम लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा पेश भएका सम्पूर्ण प्रस्तावसहित नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटसमेत पारित गरिएको नगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार