अब नेपालगन्जमै आईटीमा स्नातकोत्तर गर्न पाइने



लुम्बिनी प्राविधिक विश्वविद्यालयले पश्चिम नेपालमा पहिलोपटक स्नातकोत्तर तहमा कम्प्युटर साइन्स र सूचना प्रविधि (आईटी)को अध्यापन सुरु गर्दैछ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पश्चिम नेपालमा पहिलोपटक स्नातकोत्तर तहमा कम्प्युटर साइन्स र सूचना प्रविधि (आईटी)को अध्यापन सुरु गर्ने भएको छ । साउन ७ गतेबाट एमटेक इन कम्प्युटर साइन्स र एमटेक इन इन्फरमेसन टेक्नोलोजीको कक्षा सञ्चालनमा आउने विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारीले जानकारी दिए ।

कुलसचिव भण्डारीका अनुसार स्नातकोत्तर तहमा ४० जनाको कोटा रहेकोमा ३८ जना भर्ना भइसकेका छन् भने बाँकी रहेको कोटामा पनि विद्यार्थीहरू भर्नाका लागि सम्पर्कमा आएका छन् । स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरूले नेपालगन्जमै कम्प्युटर साइन्स र सूचना प्रविधि (आईटी)को अध्यापन गर्न पाउनुलाई ठूलो अवसरको रूपमा लिएको बताएका छन् । स्नातकोत्तर तहमा भर्ना भएका अधिकांश विद्यार्थी सरकारी तथा गैरसरकारी क्षेत्रमा जागिरे तथा आफ्नै व्यवसाय सञ्चालन गरिरहेकाहरू रहेका छन् ।

नेपालगन्जस्थित धम्बोझी माविमा प्राविधिक धारको नेतृत्व गरिरहेका प्रदीप श्री अधिकारीले काठमाडौँबाहिर पहिलोपटक स्नातकोत्तर तहको अध्यापनको व्यवस्था मिलाएकोमा विश्वविद्यालयलाई धन्यवाद दिए । उनले आफूजस्तै आइटीका विद्यार्थीहरूको अनुरोधमा विश्वविद्यालयले कार्यक्रम अघि बढाएको र कोटाअनुसारको विद्यार्थी पनि पाएकोले यसलाई नेपालगन्जले अवसरका रूपमा लिनुपर्ने बताए ।

उनले नेपालगन्ज आसपासमै अहिले आईटीका धेरै विद्यार्थीहरू रहेको र उनीहरूले जागिर छोडेर काठमाडौँ गएर आईटी अध्ययन गर्नसक्ने अवस्था नरहेकोले नेपालगन्जमै अध्ययन गर्न पाउँदा हौसिएको बताए । अर्की विद्यार्थी अन्जली शर्माले कोडिङमा उच्चस्तरको सीप आर्जन गर्ने, उक्त सीप अरु विद्यार्थीलाई हस्तान्तरण गर्ने तथा आईटी क्षेत्रकै व्यवसाय सुरु गर्ने उद्देश्यले आईटीमा स्नातकोत्तर तहको अध्ययन गर्न चाहेको बताइन् ।

विश्वविद्यालयले शनिबार स्नातकोत्तर तहका लागि भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई कोर्ष तथा विश्वविद्यालयको नीतिका बारेमा अभिमुखीकरण गरिएको थियो । विश्वविद्यालयको सूचना प्रविधि संस्थानका डिन निरज केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले विश्वको पछिल्लो उद्योगका रूपमा सूचना प्रविधि उद्योग रहेकोले त्यसका लागि उपयुक्त जनशक्तिहरू उत्पादन गर्ने लक्ष्यका साथ स्नातकोत्तर तहको अध्यापन सुरु गरिएको बताए ।

उनले आईटी क्षेत्रमा नेपालमै बसेर विदेशी मुद्रा आर्जन गर्ने प्रशस्त अवसरहरू रहेकोले विद्यार्थीहरूलाई अहिले गरिरहेकै काममा अल्झिराख्नेभन्दा पनि त्यसबाट बाहिर निस्केर थप प्रगति हासिल गर्ने लक्ष्यका साथ अध्ययनमा जुट्न आग्रह गरे । डिन केसीले दुई वर्ष तथा चार सेमेस्टरको कोर्षमा आफूहरूले एकेडेमिक शिक्षा, व्यवहारिक शिक्षा र सीपयुक्त शिक्षा गरी तीन पक्षलाई ध्यानमा राखेर अध्यापन गराउने नीति लिएको बताए ।

विद्यार्थीहरूको सीप विकास र करियर विकासका लागि विश्वविद्यालयका प्राध्यापकहरूमा मात्रै सीमित नरहेर आईटी क्षेत्रमा काम गरिरहेका विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरूसँग पनि सम्झौता गरेर सिकाइ आदानप्रदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
यसरी सम्झौता भएका संस्थाहरूमा ६ वटा निजी तथा गैरसरकारी रहेका छन् । यसैगरी सुदूरपश्चिम विश्वविद्यालय र भेरी प्राविधिक शिक्षालयसँग पनि सम्झौता गरिएको छ भने भारतका दुईवटा र कोरियाको एउटा संस्थासँग पनि स्म्झौता गरिएको छ ।

यी संस्थाहरूसँग टेक टक, औद्योगिक अन्तक्र्रिया, रिसर्च सेमिनार, पेपर राइटिङ सेमिनारजस्ता कार्यक्रममा सहकार्य गरिने कुलसचिव भण्डारीले जानकारी दिएका छन् । अभिमुखीकरण कार्यक्रममा विश्वविद्यालयको सेवा आयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले आईटीको स्नातकोत्तर तहको अध्यापन सुरु हुनुले पश्चिम नेपालमै आइटीको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्राध्यापक तथा उत्प्रेरक इन्द्र श्रेष्ठले व्यवसायिक व्यवस्थापन, व्यवहारिक व्यवस्थापन तथा करिअर विकासका विषयमा उत्प्रेरक कक्षा पनि दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार