बुटवल ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आफू जनताको सेवक भएको बताएका छन् । प्रदेश प्रमुखको सपथ खाएदेखि कुनै पार्टी, जात र भेदबाट अलग रहेको भन्दै आफू सबैको सेवक भएको बताएका हुन् । आफू कसैलाई काखा र कसैलाई पाखा लगाउने काममा नलाग्ने उनले बताए । घर्ती २०८१ साउन १८ गते लुम्बिनीको प्रमुख नियुक्त भएका थिए ।
बुटवलमा सञ्चालित सिमली डेण्डल केयर प्रा.लि.को ११औँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घर्तीले आफू कुनैपनि विवादित कार्यक्रममा नजाने बताए । प्रदेश स्तरका कार्यक्रमहरूमा जाने गरेको बताउँदै सिमली डेण्डल केयर प्रालिले गरिब निमुखाहरूको सेवा गरेको जानकारी पाएपछि जनतासँग जोडिएको स्वास्थ्यको कार्यक्रम भएकाले यो कार्यक्रममा आएको प्रदेश प्रमुखले दाबी गरे ।
उनले प्रदेश प्रमुखलाई केही गर्नका लागि कुनै अधिकार नभएको गुनासो गर्दै कसम खुवाउने र सलामी लिने मात्रैको अधिकारले केही गर्न नसकिने बताए । प्रदेश प्रमुख घर्तीले संघीय, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि घटाउनु पर्ने बताउँदै भने ‘प्रदेशको सङ्ख्या पनि बढी भएको छ । समयक्रममा प्रदेश सङ्ख्या घट्नपनि सक्छ । जनताको चेतनाले मात्रै शासन प्रणालीमा परिवर्तन आउन सक्छ । सरकारले छिटो छरितो डेलिभरी दिन सकेको छैन ।’
इलाका प्रशासन कार्यलय बुटवलका प्रमुख रामचन्द्र अर्यालले सामाजिक कार्यप्रति सबै संघसस्थाहरू जवाफदेही हुनुपर्ने बताउँदै सिमली परिवारले शिक्षा र स्वास्थ्यमा योगदान पु¥याएको बताए । सामाजिक अभियान्ता महेन्द्र अर्याल र समिली परिवारले शिक्षा र स्वास्थ्यमा पुराएको योगदानको कदर गर्नुपर्नेमा जोड दिए ।
सिमली डेण्डल केयर प्रा.लि.का संस्थापकसमेत रहेका अध्यक्ष महेन्द्र अर्यालले सिमली डेण्डल केयरको तर्फबाट ११ वर्षको अवधिमा सयौँ जनाको निःशुल्क उपचार गरिएको बताए । उनले सिमली डेण्डल केयर नाफामुखी नभएर सेवामुखी रहेकाले नाफाको व्यापार नगरिएको बताए। उनले सिमली डेण्डलसँगै गरिबीका कारण आर्थिक अवस्था कमजोर हुँदा शिक्षाको पहुँचमा आउन नसकेका विद्यार्थीका लागि निःशुल्क पढाउनका लागि बुटवलको मजुवामा सिमली इन्टरनेशल मण्टेश्वरी स्कुल सञ्चालन गरिएको दिए ।









प्रतिक्रिया दिनुहोस्