‘नेपालगन्ज ग्यालरी’को स्थापना दिवसमा वृक्षरोपण



नेपालगन्ज ।

सामाजिक सन्जाल फेसबुकमा नेपालगन्जका युवाहरूद्वारा एडमिन गरिएको ग्रुप ‘नेपालगन्ज ग्यालरी’को १७औँ स्थापना दिवस मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपालगन्जको सुर्खेतरोड औद्योगिक क्षेत्र अगाडिको ग्रिन बेल्टमा वृक्षरोपण गरिएको हो । ग्यालरीले क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको सहकार्यमा १६ वटा बिरुवाहरू वृक्षरोपण गरिएको ग्रुपका एडमिन समीरमान श्रेष्ठले जानकारी दिए ।

जसमा नौ वटा हुर्केको बगनबेली र सात वटा गुलमोहर, हरित अभियन्ता हेमन्तराज काफ्लेले प्रदान गरेका एउटा शितलचिनी र एउटा गुलमोहरको बोट रोपिएको उनले बताए । वृक्षरोपण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलगायत सहभागी रहेका थिए ।

१६ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त ग्रुप सञ्चालनमा आएको थियो । सन् २००९ जुलाईदेखी सञ्चालनमा आएको उक्त फेसबुक ग्रुपले विभिन्न सामाजिक गतिविधि तथा अप्ठ्यारोमा परेकाहरूलाई सूचना र सहयोग आदान–प्रदानमा सहजीकरण गर्दै आएको छ ।

नेपाल तथा नेपाल बाहिर रहेका बाँकेबासीलाई प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले सञ्चारकर्मीमेत रहेका गु्रपका एड्मिन श्रेष्ठको अगुवाईमा संयोजन गरिएको ग्रुपले समस्यामा परेका व्यक्तिहरूलाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने, सामाजिक विसंगति, विकृति तथा सामाजिक उत्तरदायित्वका विषयमा विचार आदानप्रदान गर्ने, आम नागरिकका गुनासाहरू सम्प्रेषण गरेर जिम्मेवार निकायलाई घचघच्याउने काम गर्दै आएको छ ।

ग्यालरीलाई सदस्यहरूले आफ्नो समस्या व्यक्त गर्ने, धारणा व्यक्त गर्ने अवसर दिएपछि यो ग्रुप लोकप्रिय बन्दै गएको थियो । ग्रुपमा एक लाख ९० हजार सदस्य रहेकोमा उक्त ग्रुपलाई फेसबुकले हटाइदिएको थियो । यसको कारणमा केही भलो नचाहनेहरूले अत्यधिक रिपोर्ट गरेपछि फेसबुकको अल्गोरिदमले हटाइदिएको एड्मिन श्रेष्ठ बताउँछन् । त्यसपछि बनाइएको ग्रुपमा पनि छोटो समयमै १४ हजार एकसय सदस्य पुगिसकेका थिए ।

उक्त ग्रुपलाई पनि फेसबुकले हटाइदिएको छ । अहिले नेपालगन्ज ग्यालरी अफिसियलका नाममा नयाँ ग्रुप बनाएर फेरि सदस्यहरूलाई जोडिन आह्वान गरिएको श्रेष्ठले जानकारी दिए । ग्रुपका एड्मिनद्वारा सञ्चालित नेपालगन्ज ग्यालरीका पेजमा भने एक लाख ७१ हजार बढी फ्लोअर रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार