नेपालगञ्जमा पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने



नेपालगञ्ज, ३ मंसिर/  मंसिर २८ देखि पुष ५ सम्म नेपालगन्जमा आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ ।

जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक हुन लागेको राष्ट्रव्यापी शैक्षिक महोत्सव सफल पार्न लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।

शनिवार नेपालगन्जमा आयोजना भएको पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको जिल्ला भेलामा व्यवसायीहरुले उक्त प्रतिवद्धता जनाएका हुन् । व्यवसायीहरुले जिल्लामा पहिलो पटक आयोजना गरिएको शिक्षाप्रद महोत्सव सफल बनाउनु सबैको दायित्व भएको जिकिर गरे । उनीहरुले महोत्सवमा बढी भन्दा बढी सहभागिता गराउन सक्रियतापूर्वक प्रचार प्रसार गर्न लाग्नुपर्ने बताए ।

जिल्ला भेलामा बोल्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार बसन्त लामिछानेले महोत्वसलाई शिक्षा केन्द्रित गरिएकाले अरु भन्दा भिन्न हुने उल्लेख गरे । लामिछानेले महोत्सवमा बाँके जिल्लाका मात्र नभई अन्य जिल्लाका पाहुनालाई स्वागत गर्न आफुहरु तयार भएको बताए ।

महासंघका प्रदेश नम्बर ५ का सचिव रामप्रशाद गौतमले देशभर महोत्सव लाग्ने क्रम चलेको भएपनि बाँकेमा आयोजना गर्न लागिएको शैक्षिक महोत्सव भिन्न रहेको उल्लेख गरे । उनले उक्त महोत्सव प्रदेश नम्बर ५, ६ र ७ को आर्कषक गन्तब्य बनाउनुपर्ने बताए ।

महासंघका जिल्ला अध्यक्ष एवं महोत्सव आयोजक समितिका संयोजक बुद्धि पसाद अधिकारीले महोत्सव सफल पार्न व्यवसायीहरु सक्रिय भएर लागेको बताए । भेलामा विभिन्न उपसमितिका संयोजकले गरेका कार्य प्रगति विवरण पेश गरेका थिए ।

महोत्सवमा दुई लाख बढी दर्शक भित्राइने लक्ष्य रहेको छ भने १ सय ५० बढी स्टलहरु रहने छन् । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिने छन् ।

महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागिताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ३ गते आइतबार