बाँके ।
एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ मा नेपालले सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको छ । आइतबार (असार ८) मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।नेपालको जितमा प्रसिद्ध जैसीले सर्वाधिक ५५ रन बनाए ।
रौनक श्रीवास्तवले ४० रन जोडे । सूर्यान्सु कोइराला र सिवान्स बजगाईंले समान नौ रन थपे । सिंगापुरका आकाश तेजाले तीन विकेट लिए । युवन पाण्डेले एक विकेट हात पारे । त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउनुअघि १३८ रन बनाएको थियो ।
सिंगापुरका कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए । ओपनर आहान भुधानभामले ३८ रन जोडे । अर्का ओपनर रोशन अरुन ११ बनाउँदै आउट भए । सिंगापुलाई १३८ रनमा समेट्ने क्रममा नेपालका कप्तान विपीन शर्माले चार विकेट लिए । सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक÷एक विकेट लिए ।
एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित यो प्रतियोगितामा १० टोलीको सहभागिता छ । नेपाल समूह ‘ए’ मा छ । यो समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।









प्रतिक्रिया दिनुहोस्